झापा,भदौ १५। केरा संसार कै पुराना फलफुलहरु मध्ये एक हो र नेपालमा यसले महत्वपूर्ण स्थान ओगेटोको छ । नेपालमा उत्पादित फलफुलहरु मध्ये केरा मात्र वर्ष भरी उत्पादन गर्नुका साथै उपभोग गरिन्छ । केराका धेरै स्थानीय जातहरु परापूर्वकालदेखि नै खेती गरिदैं आएको पाइन्छ । उत्पादनका हिसाबले नेपालको तराई क्षेत्रमा खेती गरिने उष्ण प्रदेशीय फलफुलहरुमा केराको स्थान अग्रणी रहेको छ ।
नेपालको पुर्व देखि पश्चिमसम्म पहाडी जिल्लाहरुका वेसी, र होचा पहाडमा पनि केरा खेती गरिदै आएको पाइन्छ । नेपालमा केराको कुल क्षेत्रफल ५०५५ हेक्टर मध्ये करिव ३६२७ हेक्टर मात्र उत्पादनशील छ भने उत्पादन ५१५९० मेट्रीक टन रहेको छ ।
झापाको दक्षिणी भेग झापा गाउँपालिका-३ रङ्गपुरका किसान चन्द्रप्रसाद बस्नेतले करिव २५ बिघा जमिन भाडामा लिएर केराका बोट लगाउनु भएको छ । उहाँले प्रति विघा वार्षिक ३० हजार रुपैयाँ भाडा दिने गरी औसत १० वर्षका लागि विभिन्न जग्गा धनी संग सम्झौता गरी उक्त जमिन लिनुभएको हो ।
बस्नेतले विलियम हाइब्रेट,मालभोग र स्थानिय कुरकुरे जातका केरा लगाउनु भएको छ ।इजरायलबाट प्रबिधी सिकेर नेपालमै केरा खेतीमा लाग्नु भएका बस्नेतले एग्री सेन्टर प्राली फार्मलाई झापाकै नमुना फार्म बनाउने लक्ष्य कम्पनीले राखेको बताउनु भयो।एग्री सेन्टर फार्मले अहिले कागती र ड्रागनको समेत परिक्षण गरिरहेको भन्दै भबिस्यमा यसको संम्भाब्यता भए बढाउदै लैजाने बस्नेतले बताउनु भयो।
उहाँका अनुसार कम्पनीले फागुन सम्ममा केरा उत्पादन गरेर बजारमा निकाल्ने योजना राखेको छ।हाम्रो कम्पनीले उपभोक्तालाई अर्गानिक उत्पादन बितरणमा जोड दिएको छ,बिषादी रहित उत्पादन बजारमा आउने छ,उपभोक्तालाई यस कुरा ढुक्क हुन बस्नेतले आग्रह गर्नु भयो।
झापाकै नमुना फार्म बनाउने लक्ष्य लिएको फार्मले आगामी बर्ष विभिन्न फलफूल,कागती साथै केरा खेतीको क्षेत्रफल बढाउदै लैजाने योजना राखेको छ।
केरा पकाउने घर तथा केरा संकलन केन्द्र निर्माणाधिन
फागुनमा केरा बजारमा निकाल्ने उदेश्य सहित बस्नेतले बिनाविषादि केरा पकाउनका केरा पकाउने घर( राइजिङ चेम्बर्स) निर्माण गर्नु लाग्नुभएको छ। केरा उत्पादकहरुले कार्बेट नामक विषादि हालेर केरा पकाउने गरेको भन्दै केरा खेती थालेका बस्नेतले साधना संस्कृति नमूना कृषि फार्मले आफ्नो उत्पादनलाई अर्गानिक बनाउन केरा पकाउने घरको निर्माण शुरु गरेको बताउनु भएको छ ।घर निर्माणका लागि मेशिनसहित करिव १६ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ । त्यसको लागि कृषि ज्ञान केन्द्रले यस वर्ष ८ लाख रुपैयाँ अनुदान सहयोग गरेको थियो । फार्मले केरा पकेट कार्यक्रमका लागि अनुदान सहयोग माग गरेको थियो । त्यस अनुदानको रकम र थप आफ्नो रकमले केरा घरका लागि संरचना निर्माण गरिएको संचालक बस्नेतले बताउनु भयो।
निर्माणाधिन अबस्थामा रहेको केरा पकाउने घर २७/३७ फुट क्षेत्रफलमा निर्माण भइरहेको बस्नेतले बताउनु भयो।