✍️उदय मैनाली
मानव समुदायले आफुलाई जती नै सर्वोतम प्राणीको श्रीपेच भिरेर प्राणी मात्रको उत्कृष्टता देखाउने कोसिस गरेपनि आखिरमा प्रकृतिको खेलसँग नतमस्तक हुनु पर्ने पाठ यसपालिको कोरोना महामारीले सिकाएको छ । प्रथम विश्वयुद्ध र द्धितिय विश्वयुद्ध हुँदै आणविक र परमाणविक शष्त्रअष्त्रको अहँमता र चिकित्सा क्षेत्रको व्यापक विकास हुँदा पनि कोरोना भाइरस सामु निरिहता प्रदर्शन गर्नु पर्दाको क्षण आज संसारका लागि अनौठो र पेचिलो विषयबस्तु बनेको छ । जल सन्य शक्ति, थल सन्य शक्ति, वायु सन्य शक्ति तथा अन्तरिक्ष सन्य शक्ति र संसार एक क्षणमा ध्वस्त पार्न सक्ने परमाणविक शक्ति हातमा हुँदा पनि आज महामारीको सामु घुँडा टेक्नु परेको यथार्थ सबैको लागि सोचनिय भएको छ ।
वर्तमानमा आमा प्रकृतिले हाम्रो ध्यान उनितिर खिच्ने कोसिस गरेकी पनि छिन् । जसलाई हामी उपेक्षा गरीरहेकाले यसको संकेत कडा र घातक हुने देखिन्छ । उत्तरी र दक्षिणी ध्रुवमा पृथ्वीको औसत तापक्रमको दुई गुणा बढी तापक्रम बढ्नुले त्यहाँको बरफी सतह बार्षिक १० प्रतिशत पग्लिएर तटिय क्षेत्रमा रहेका शहरी इलाका डुब्दै जाने खतरा छ । संयुक्त राष्ट्रसंघको एउटा अध्ययन अनुसार अहिलेको आँधी तुफान, बाढी पहिरो, भुकम्प र तापक्रम परिवर्तन सन् १९७० को तुलनामा ५ गुणाले बढेको छ । असंख्य अध्ययनहरुले औँल्याए अनुसार चरम मौसमका घटनाहरु दिनप्रतिदिन बढ्दो छन् । असमान्य रुपमा बढी वा कम तापक्रम, बाढी, समुन्द्री तुफान, भुकम्प, लामो समयको खडेरी, वन आगलागी तथा घातक प्रकोपिय रोगहरुबाट विस्थापित भएका संख्या बढ्दो छ । अन्तराष्ट्रिय रेडक्रसका अनुसार युद्ध र अन्य युद्धका प्रकोपबाट विस्थापित हुने राजनीतिक शरणार्थी भन्दा वतावरणीय प्रभावका शरणार्थीको संख्या बढी छ ।
मानव सभ्यताको विकास सँगसँगै आएको चेतनालाई सही मानेमा सदुपयोग गर्न नसक्दा आजको मानव जीवनले सोच्नै नसकिने मुल्य चुकाउनु परेको छ । हामीलाई सभ्यताले सिकाएको प्रकृति प्रेम र यसको दिर्घकालिन संरक्षण गर्दै सही रुपमा प्रयोग गर्नुपर्ने पाठलाई शक्तिसम्पन्न मानिएका देशहरुबाट ग्रहण नगरिँदा आजको भयाभय स्थितिको सामना गर्नुपरेको भन्दा अत्युक्ति नहोला । शक्ति र सम्पन्ताको पछि दौडिएको आजको विश्व समाजलाई कोरोना महामारीले गतिलो झापड हानेको छ । दिगो विकास, वातावरण सन्तुलन र जलवायु परिवर्तन प्रति गरिएको उपेक्षा कै परिणाम हो आजको महामारी ।
तर यस्ता अनेकन विपत्तिका बावजुद मानव अझैपनि हाम्रो ग्रहलाई न्यानो र बस्नयोग्य बनाउने तर्फ उन्मुख छैन । बरु अणु शक्तिको होडबाजी र व्यापारको लडाईँमा लागिपरेको छ । कार्बन न्युनिकरणको अभियान चलाउनुको साटो यसको अस्वस्थ प्रतिस्पर्धामा उत्रिनाले गर्दा पनि आज आमा प्रकृति हामीसँग रिसाएकी छिन् । पूर्वीय दर्शन तथा अन्य दर्शनले देखाएको प्राकृतिक विज्ञानको सिको नगरी मानव विज्ञानको स्वविवेक प्रयोग नै अहिलेका समस्याको जड हो ।
त्यसैले मलाई लाग्छ की मानव मस्तिष्क पद्धतिगत रुपमा नचलेको र प्रकृतिको सही सदुपयोग नभएको कारणले मानव मस्तिष्कले पाएको चरम उपलब्धीबाट पनि हालको महामारी लगायतका समस्याको समाधन तत्काल हुन नसकेको हो । मानव विज्ञानले प्रकृतिबाट अझ धेरै सिक्न बाँकी छ । त्यसैले त हाम्रा अग्रज ऋषिमुनीहरुले मानव र प्रकृतिबिच पवित्र र अर्थपुर्ण सम्बन्ध छ भनेका छन् । अब पनि हामीले हाम्रो गाउँठाउँमा वातावरणको सदुपयोग र संरक्षण नगर्ने हो भने आउने पिढिँले धिकार्ने छन् र हाम्रा सन्तती पनि प्राकृतिक विपत्तिको चपेटा पर्ने निश्चित छ ।
लेखक-उदय मैनाली(पुर्णचन्द्र)
बिर्तामोड नगरपालीका-२ चारपाने
हाल-झापा गाउँकार्य पालीकाको कार्यालयमा सहायक पाँचौ तहमा कार्यरत