Kanakai Online

एनएमसी डेरीले कृषक ठगेको आरोप


शुक्रवार, साउन ३१, २०७६ |

लीलाराज झापाली
शरणामती झापा , साउन ३१ गते । गाईको दाना चोकर र परालको मुल्य वढेसगै दुधको मुल्य नपाएपछि दक्षिणी झापा शरणामतीका दुग्ध कृषकहरु मारमा परेका छन ।
दुग्ध चिस्यान केन्द्रले कहिले दुध होलिडे त कहिले बजार मुल्य भन्दा ज्यादै कम मुल्य दिएपछि आफुहरुले सहकारीबाट ऋण गरेर सुरु गरेको गाईपालन पेशा संकटमा परेको कृषकको गुनासो रहेको छ ।
यस क्षेत्रमा झापा गाउँपालिका ६, ७, ३ र ४ नम्बर वार्डका २५० कृषकले व्यावसायिक गाई तथा भैसीपालन गरि नेपाल बहुउद्धेयीय सहकारी संस्थाद्धारा संचालित एनएमसी दुग्ध डेरीलाई दुध विक्री गर्दै आएका छन । पहिले दुग्ध डेरीका संचालकहरुले गाई पाल्नुहोस हामी जतिपनि दुध खरिद गरीदिन्छौ अव कृषकले टाई र सुटमा ढाटिएर हिड्ने हो भने हाल ऋण गरेर पालेको गाईको प्रतिकिलो ४० रुपैँया पनि दाम दिदैनन उनीहरु भने क्रिम निकालेको दुध ७० रुपैँयाले बजारमा बिक्री गर्छन स्थानीय सरद तिम्सिनाले भन्नुभयो ।
दुग्ध चिस्यान केन्द्रले फ्याट नापेर दुधको मुल्य दिने बताएपनि फ्याट बढी भएमा कम बनाएर लेख्ने र कम भएमा त्यतिनै दिने गरेको तिम्सिनाले गुनासो गर्नुभयो ।
यता दुग्ध चिस्यान केन्द शरणामतीका कर्मचारी चन्द्रप्रसाद दंगालले आफुले कृषकको दुधको फ्याट कम लेख्न नमान्दा चिस्यान केन्द्रले हालै १५ दिन कामबाट निलम्बन गरिदिएको गुनासो गर्नुभयो ।
कृषकलाई दुधको दाम बढाउ भनेको थिए बरु कर्मचारीलाई दर्सै बोनस दिने प्रस्ताव आयो मैले यसो नगरौ भन्दा उल्टै मलाई निलम्बन गरियो दंगालले भन्नुभयो ।
यता स्थानीय दलबहादुर खड्काले आफुले वढी फ्याट आउने आशले भैसीपालन गरेर दुध लैजादा समेत प्रतिकिलो ४८ रुपैँया भन्दा वढी रकम कहिले नपाएको बताउनुभयो । दिनभर घास काट्यो दुध विक्री गर्दा मिहिनेतको दाम पनि आउदैन कसरी घरखर्च चलाउनु कसरी बैँकको किस्ता तिर्नु खड्काले भन्नुभयो ।
पहिले भैसीको दुधको प्रतिलिटर ७५ रुपैँया आउछ भनेर भैसी पालेको हु आधा पनि दाम आएन खड्काको गुनासो गर्नुभयो । कृषक दुर्गा तामाङ्गले समाचारमा दुधको भाउ वढेको सुनेर खुसी भएपनि आफुले दुधको मुल्य बुझ्ने वेलामा जहिल्यै मन अमिलो बनाउनु परेको गुनासो गर्नुभयो ।
पुर्वपश्चिम राजमार्गदेखि १२ किलो मिटर दक्षिणमा रहेको यस क्षेत्रको चिस्यान केन्द्रमा केहि महिना पहिलेसम्म हरेक दिन २ हजार लिटर भन्दा बढी स्थानीयले दुध विक्रीका लागि ल्याउने गरेपनि दुधको मुल्य नपाउदा अहिले दैनिक १ हजार लिटरमात्रै दुध विक्रीका लागि कृषकले ल्याउने गरेका छन । केहि अगुवा कृषकले दुधको मुल्य नपाएपछि छिमेकी भारतको बिहार राज्यस्थित डिघल बैँक , धनतोला , हरुवाडंगा क्षेत्रसम्म दुध विक्रीका लागि लैजाने गरेका छन । तर भारतीय सिमा सुरक्षा वल एसएसबीले जहिल्यै दुध लैजान नदिने हुदा समस्यामा परेको कृषकको गुनासो छ ।
भारतमा भने नेपाली ६४ रुपैँयामा दुध विक्रि हुने गरेको कृषकको भनाई छ । अघिल्लो बर्ष सोहि दुग्ध चिस्यान केन्द्रले दुध खरिद नगरिदिदा स्थानीय कृषकले सडकमै दुध पोखेर विरोध जनाएका थिए ।
तस्वीर ः दुग्ध चिस्यान केन्द्र अगाडि दुधको भाउ वढाउन माग राखि विरोध गर्दै स्थानीय कृषक लीलाराज झापाली