Kanakai Online

माइमेलामा पहिलो पटक ड्रोन क्यामेराबाट सुरक्षा निगरानी


मङ्गलवार, माघ १, २०७५ |

विनोद सापकोटा
पूर्वको ठूलो माइवेनी मेला सोमबारदेखि सुरू भएको छ।
झापाको शिवसताक्षी र कन्काई नगरमा वर्षेनी लाग्दै आएको प्रदेश एककै ठूलो धार्मिक मकर संक्रान्ती ९माइमेला० विशेष सुरक्षा सतर्कताका साथ सुरू भएको हो।
कन्काई नदीको दुबै तटीय क्षेत्रमा वर्षेनि माइमेला लाग्ने गरेको छ। करिब २ लाख तीर्थयात्री सहभागी हुने माइमेला माघ २ गतेसम्म सञ्चालन हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ। मेलामा भारतका सिक्किम, कलकत्ता, दार्जेलिङ, मिरिक, आसाम, मणिपुर लगायत भुटानका नेपाली भाषी मकर संक्रान्ती नुहाउन आउने गरेका छन्।
यस्तै, नेपालका अधिकांश जिल्लाबाट तीर्थयात्री माइमेलामा आएर मकर नुहाउने गरेको स्थानीयवासीले बताउँछन्।
मेलामा यो वर्ष २ सय बढी स्टल राखिएका छन्। सर्वसाधारणको जिउधनको सुरक्षाका लागि जिल्ला प्रहरी कार्यालय झापाले सादा पोसाकसहित ३१५ जना प्रहरी तैनाथ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
माइमेलामा पहिलो पटक प्रहरीले ड्रोन क्यामेराबाट सुरक्षा निगरानी गर्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भिम ढकालले जानकारी दिए। प्रहरी उपरीक्षक ढकालका अनुसार माइवेनी मेलामा ८ वटा सिसी क्यामेरा जडान गरिएको छ।
पूर्व पश्चिम राजमार्गसँग जोडिएको माइमेलामा राजमार्गको सवारी साधनको व्यवस्थापनका लागि ५० जना ट्राफिक प्रहरी परिचालन गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।
यो वर्ष मेलामा कानुनले बर्जित गरेका तास, जुवा, डाइस लगायतका खेलमा पूर्ण प्रतिबन्ध लगाइने प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले सेतोपाटीलाई बताए।
माइमेलाको पश्चिम तटीय क्षेत्रमा लाग्ने मेलामा यो वर्ष रोटे पिङ, मौतका कुवा, व्रेक डान्स, रसियन झुला, रेल गाडी लगायतका १८ प्रकारका खेल हुने मेलाका आयोजक सोम योङ्गहाङ्गले जानकारी दिए।
मकर संक्रान्ती यसरी मनाइन्छ
माघे संक्रान्ती, मकर संक्रान्ती, माघी नामले चिनिने यो हिन्दु धर्मावलम्बीहरूको एक प्रमुख धार्मिक चाड हो।
यो पर्व माघ महिनाको पहिलो दिन मनाइन्छ। यो पर्व सबै जातजातिले आ–आफ्ना संस्कार र रिति अनुसार मनाउँछन्।
ज्योतिष शास्त्रानुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ती भनिएको हो।
सामान्यतया सूर्यले सबै राशिलाई प्रभावित गरेता पनि सूर्यको कर्कट राशि ९साउने संक्रान्ति० र मकर राशि ९माघे संक्रान्ति० प्रवेशलाई धार्मिक दृष्टिले महत्वपूर्ण मानिन्छ।
यो दिनदेखि सूर्य दक्षिणी गोलार्धबाट उत्तरी गोलार्धतर्फ प्रवेश गर्ने भएकोले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ। माघे संक्रान्ती पर्वमा नेपालभरका विभिन्न पवित्र नदी, तलाउ तथा त्रिवेणीमा नुहाउने गरिएको छ। माघी अर्थात् मकर संक्रान्तीका दिन घिउ, चाकु, तिलको लड्डु र तरुल खाई मनाउने गरेको गोलोक गोवर्द्धन गौशालाका हरिवेद विद्यालयका योग शिक्षक मदनमोहन अधिकारीले बताए। माघे संक्रान्तीका दिन नदी र घाटमा स्नान, दान, पितृ उद्धारका लागि श्राद्ध आदि गर्नेको ठूलो भीड लाग्छ।
विष्णु पुराण, भविष्यपूराण धर्मसिन्धु नामक ग्रन्थमा उल्लेख भए अनुसार यस दिन स्नान गरी घिउ, चाकु, तिलको लड्डु, तरुल, वस्त्र, पानीको भाँडो र मकैसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने धार्मिक विश्वास छ ।
शिशिर ऋतुमा पर्ने यो संक्रान्तिमा शरीर शुद्ध गरी घिउ, चाकु र तिल तथा खिचडी खानाले शरीरमा गर्मीका मात्रा बढेर तागत दिने तथा मास हाली पकाइएको तेल शरीरमा घस्दा चिसोबाट मुक्त भई शरीरका छालासम्बन्धी रोग नाश हुने विश्वास गरिन्छ।