सन्तोष शर्मा
झापा, ३० साउन । फोहोरमैला व्यवस्थापन गर्न झापाका पाँच नगरपालिका सहकार्य गर्दै अघि बढ्ने भएका छन् ।
फोहोरमैला मुख्य चुनौतीका रुपमा देखिन थालेपछि त्यसको व्यवस्थापनसँगै ‘फोहोरलाई मोहोर’ बनाउन नगरपालिका एकजुट भएका हुन् । झापाको कनकाई, बिर्तामोड, अर्जुनधारा, शिवसताक्षी र मेचीनगर नगरपालिका फोहोर व्यवस्थानका लागि एकजुट भएर अघि बढ्ने गृहकार्य भइरहेको कनकाई नगरपालिकाका नगरप्रमुख राजेन्द्रकुमार पोखरेलले जानकारी दिनुभयो ।
कुहिने र नकुहिने फोहोरलाई चार भागमा वर्गीकरण गरेर व्यवस्थापन गरिने उहाँले बताउनुभयो । कुहिने फोहोर, प्लास्टिकजन्य फोहोर, कागज र धातुजन्य फोहोर गरी चार भागमा वर्गीकरण गरिने भएको हो । कुहिने फोहोरबाट बायोग्याँस र प्लाष्टिकजन्य फोहोरबाट पेट्रोलियम पदार्थ निकालिने जनाइएको छ ।
बायोग्याँस उत्पादनका लागि चार हजार घनमिटर क्षमताको प्लान्ट स्थापना गरिने भएको छ । सो कार्यका लागि रू १६ करोडको लागत लाग्ने र विश्व बैंकले ४० प्रतिशत अनुदान दिने भएको छ । बाँकी ६० प्रतिशत नगरपालिका र स्थानीयबासीहरुबाट लगानी गरिने नगरप्रमुख पोखरेलले जानकारी दिनुभयो ।
प्लान्ट स्थापनाका लागि कनकाई नगरपालिका–२ मा तीन बिघा जग्गा समेत व्यवस्थापन गरिएको छ । कुहिने फोहोरबाट मिथेन ग्याँस निकालेर सिलिण्डर वा पाइललाइन मार्फत घरघरमा पु¥याइने ती नगरपालिकहरुको योजना छ ।
कुहिने फोहोर हप्तामा दुई पटकसम्म संकलन गरिने र त्यसका लागि टोलस्तरीय कमिटी गठन गरिएको छ । कनकाई नगरपालिकामा २३ वटा समिति गठन गरिएको छ भने बिर्तामोड र अर्जुनधारामा गठन प्रक्रियामा रहेको छ ।
बढ्दो शहरीकरणसँगै फोहोरमैला चुनौतीका रुपमा देखिएकाले त्यसको दीर्घकालीन व्यवस्थापन गर्न सहकार्य गरेर अघि बढ्न लागेको अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले बताउनुभयो ।
‘सबै साना ठूला शहरमा फोहोर मुख्य चुनौतीका रुपमा देखिएको छ’, उहाँले भन्नुभयो, ‘त्यस्तो अवस्था आउन नदिने योजना छ ।’ धेरै ठाउँमा फोहोरलाई चुनौती नभई अवसरका रुपमा हेरेर काम भइरहेकाले आफूहरु पनि सोही अनुरुप लागेको नगरप्रमुख रानाले बताउनुभयो ।
प्लास्टिकजन्य फोहोरबाट पेट्रोलिम पदार्थ निकाल्नका लागि रू ३ करोडको लागतमा प्लान्ट स्थापना गरिने भएको छ । जसका लागि प्रदेश नं। १ सरकारले रू १ करोड उपलब्ध गराउने भएको छ । पाइरोलाइसिस प्रविधिबाट एक किलोग्राम प्लाष्टिकबाट ६०० देखि ७०० मिलिलिटर पेट्रोलियम पदार्थ निकाल्न सकिन्छ ।
फोहोर व्यवस्थापनका लागि आफूहरुले अघि सारेको योजना कति प्रभावकारी हुन सक्छ भन्ने विषयमा अध्ययन गर्न आबद्ध नगरपालिकाको एक टोली अध्ययन गर्न चीन वा भारत जाने तयारीमा रहेको छ ।
लगानी खेर जान्छ कि जाँदैन, उत्पादनले बजार पाउँछ पाउँदैन, अरु देशमा यसको अवस्था कस्तो छ भन्ने अध्ययन गर्न टोली चीन वा भारत जाने तयारीमा रहेको कनकाई नगरप्रमुख पोखरेलले बताउनुभयो ।
‘हामी यो कामका लागि नयाँ हौँ’, उहाँले भन्नुभयो, ‘अरु तिर कस्तो प्राक्टिस छ, त्यो हेर्न जरुरी छ, लगानी कतिको सुरक्षित हुन्छ, त्यो पनि त हेर्नुप¥यो नि ।’ फोहोर उत्पादनकर्ता जनता स्वयम् भएकाले त्यसको व्यवस्थापनमा पनि जनताको सहभागिता हुनुपर्ने उहाँको भनाइ छ । समुदायमा आधारित कार्यक्रम भएकाले पनि जनसहभागिता महत्वपूर्ण हुने नगरप्रमुख पोखरेललेले बताउनुभयो ।