कनकाई अनलाईन
झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी)ले आफ्नो रजत महोत्सव वर्षमा २५ वटा विविध रचनात्मक कार्यक्रमहरु गर्ने भएको छ ।
यही फागुन २४ गतेदेखि २५औं वर्षमा प्रवेश गर्न लागेको एनएमसीले अर्को वर्षको फागुन २४ गतेसम्मका लागि २५ वटा कार्यक्रम अघि सारेको आज बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीको प्रमुख आतिथ्यमा गरामनीस्थित दुर्गा माविको प्राङ्गणमा वार्षिकोत्सव समारोह गरिने भएको हो ।
संस्थाले आफ्ना सदस्य एवम् समाजका विभिन्न पक्षहरुलाई एकाकार बनाउँदै लगेको परिप्रेक्ष्यमा आफ्नो पहिचानलाई थप मजबुत बनाउन प्रारम्भिक तथा आधारभूत कार्यहरु, भौतिक पूर्वाधार तथा निर्माण सम्बन्धी कार्यहरु, व्यवसाय विविधिकरण र उद्यमशीलताको क्षेत्रमा गरिने कार्यहरु, कृषिको व्यवसायिकीकरणका क्षेत्रमा गरिने कार्यहरुमा बुँदागत योजना अघि सारेको छ ।
यसैगरी, स्वास्थ्य र वातावरण तथा पर्यावरणको क्षेत्रमा गरिने कार्यहरु, खेलकुदको क्षेत्रमा गरिने कार्यहरु एवम् संस्थाको सेवा विस्तार, सर्वेक्षण र कल्याणकारी कोष स्थापनाजस्ता योजनाहरु अघि सारेको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तीमा उल्लेख छ ।
संस्थाका कार्यवाहक अध्यक्ष लक्ष्मीप्रसाद उप्रेतीले पत्रकारहरुको जिज्ञासामाथि उत्तर दिँदै रजत महोत्सवका लागि प्रस्तावित योजनाहरुले संस्थाको अर्थतन्त्रमा नकारात्मक असर नगर्ने बताए । उनले भने, हाम्रो संस्थाले सहकारी ऐन तथा नीतिहरुमा उल्लेखित तथा संस्थाको विधानका अधिनमा रहेर उपरोक्त कार्यहरुको थालनी र सम्पादन गरिने प्रष्ट पारे ।
यही २४ फागुनबाट सुरु हुने रजत महोत्सव वर्षभर गरिने रचनात्मक कार्यक्रमहरु सम्पादन गर्न ५७ सदस्यीय रजत वर्ष मूल आयोजक समिति तथा १३ सदस्यीय सचिवालय समिति गठन भइसकेको कार्यवाहक अध्यक्ष उप्रेतीले जानकारी दिए । संस्थाले रजत वर्ष झल्कने लोगो पत्रकार सम्मेलनमार्फत् सार्वजनिक पनि गरेको छ ।
२०५० साल फागुन २४ गते २६ जनाले २ लाख ५५ हजार रुपैयाँ सेयर लगानी गरी स्थापना गरेको सो संस्था अहिले नेपालकै अग्रणीमध्येको एक सहकारी हो । संस्थाले बचत तथा ऋणको कारोबारमार्फत् पूँजी निर्माण गरी सोही पूँजीबाट सदस्यहरुको आवश्यकताको परिपूर्ति गरिरहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
दोस्रो व्यवसायका रुपमा एनएमसी डेरी उद्योगको स्थापना गरी करिब ४ हजार किसान परिवार प्रत्यक्ष रुपमा स्वरोजगार बन्दै डेरीसँग जोडिएको जनाइएको छ । संस्थाको अर्को ड्रिम प्रोजेक्टका रुपमा बृहत् सम्भावना बोकेको कृषि क्षेत्रको व्यावसायिकीकरणका लागि सदस्यहरुलाई त्यसतर्फ लाग्न प्रेरित गर्ने र सोका लागि विधि र प्रविधि किसानसम्म पुर्याउने उद्देश्यका साथ यसै वर्षबाट नमूना व्यवसायिक कृषि परियोजनाको पूर्वाधार सुरु गर्न लागिएको पनि उप्रेतीले बताए ।