Kanakai Online

कनकाईकोबन्द निषेधित नगरीको परिचयलाई पर्यटकिय नगरीका रुपमा विश्वमाझ चिनाउछौ ! कनकाई नगरप्रमुख राजेन्द्रकुमार पोखरेल


आइतवार, माघ २८, २०७४ |

प्रस्तुती ः लीलाराज झापाली/आइपी भट्टराई र रामप्रसाद निरौला
राजेन्द्रकुमार पोखरेल कनकाई नगरपालिकाका प्रमुख हुनुहुन्छ । संयोग पनि हुनसक्छ पोखरेलका पिता गणेशबाबु पोखरेल समेत तत्कालिन सुरुङ्गा गाविसका प्रधानपंच रहनुभएको थियो । बदलिदो राजनैतिक परिस्थितिसगै उहाँका छोरा राजेन्द्र पोखरेल आज कनकाई नगरपालिकाका पहिलो निर्वाचित मेयरको भुमिकामा रहनुभएको छ । झापाको मध्य भागमा अवस्थित कनकाई नगरपालिका यस पहिले नेपालमा कहिल्यै बन्द नहुने नगरीका रुपमा देशमै प्रख्यात रहेको छ । तराइ बन्द होस या अन्य राजनैतिक दल वा भातृ संघ संगठनको बन्द कहिल्यैपनि यस ठाउँले बन्दको सामना गर्नु परेन् । यस क्षेत्रमा रहेका सवै दल र नागरिक समाज , उद्योग वाणिज्य संघ लगायातले बन्द नगर्ने सहमति गरेपछि ११ वर्षदेखि यस नगरि कहिल्यै बन्द नहुने इतिहास राखेको छ । यस पहिले समेत तत्कालिन सुरुङ्गा गाविसको उपाध्यक्ष समेत भइसक्नुभएका पोखरेलसग गरिएको  कुराकानी ।
१) अहिले सम्मको मेयरको रुपमा रहेर रहेको ६ महिनाको अवधिलाई कसरी मुल्याङ्गन गर्नुभएको छ ?
यो ६ महिनको समयलाई एकदमै सिक्ने पिरियडका रुपमा लिएको छु । धेरै कुराहरु सिक्दै गर्दै छु । विशेष गरेर काम गर्छु भन्ने मान्छेलाई पनि परिवेशको कारण पनि काम गर्नलाई सोचेजस्तो भने सजिलो अवस्था छैन । कतिपय कानुनी जटिलतका कारणपनि काम गर्नमा समस्या परिरहेको छ ।
जस्तो कि हामीसग व्याक्तिगत पैसा छ भने हामी अहिले बजारमा गएर निर्माणका सामाग्रीहरु किन्न सक्छौ तर नगरपालिकाबाट एउटा जेसिवि खरिदका लागि समेत हामीलाई प्रक्रिया पुर्याउन ४ महिना लाग्यो , यदि मैले ब्याक्तिगत ढङ्गबाट किन्नु थियो भने म तत्काल किनेर ३ महिनाअगाडिदेखि धेरै काम गरिसकेको हुनेथिए । यसरी कागजी प्रक्रिया पुर्याएर काम गर्न धेरै जटिलताहरु रहेको छ ।
अहिले गर्छुभनेर आटेका कामहरु पनि प्रक्रियाका कारण महीनौ पर्खनुपरिरहेको छ । यस वर्ष हामीले कसैसग साझेदारी नगरीकन नगरक्षेत्रमा ५ किलोमिटरको पिच र ४० किलोमिटरजति स्तरीय ग्राभेल गदै छौ ।
चुनावकै वेलादेखि आजपनि जनताहरुले निरन्तर रुपमा सोध्ने गर्नुहुन्छ ,धनीपुर्जा कहिले पाइन्छ भनेर संघिय सरकार बन्न ढिलाइ भएकोले यस काममा असर पुगेको छ ।तरपनि हामीले यसका लागि कार्यविधि बनाउदै छौ । छोटो रुपमा भन्नुपर्दा अहिले हामी एउटा संक्रमणकालिन अवस्थामा रहेका छौ , यसको विचमा पनि धेरै कामहरु गरिरहेका छौ ।
२) २० वर्ष पहिलेदेखि स्थानीय तह निकाय कर्मचारीले मात्रै चलाउदै आएका थिए आज स्थानीय निकायमा तपाइहरु हुनुहुन्छ , । कर्मचारीले चलाइएको स्थानीय तह र तपाइहरुले चलाएकोमा फरक के छ ?
त्यसमा त धेरै फरक रहेको छ । हिजो र आजको अवस्थामाको यो छोटो समयमा पनि जनताहरुलाई केहि हदसम्म सुविधा भएकै हुनुपर्दछ । तरपनि भनेजस्तो सुविधा हामीले दिन सकिरहेका छैनौँ । तर २० वर्ष त उहाँहरुले शासक भएर चलाउनुभएको छ , तर अहिले उहाँहरुको जिम्मेवारी फेरिएर कर्मचारीको दायमा मात्रै बस्नलाई अभ्यस्त हुन थोरै समय लाग्छ । म यसलाई पनि सकरात्मक रुपमा लिन्छु । हामीहरु पनि हिजो उहाँहरुसगै काम लिइरहेको मान्छे , हाम्रै अधिकार नगरपालिकामा कति हो भन्नेमा पनि जानकारी थिएन यस विचमा धेरै कार्यक्रम तालिममा सहभागि भइयो अव काम गर्न सजिलो भएको छ ।
अझै धेरै कुरा गर्न बाकी छ , कर्मचारी प्रशासनलाई चुस्त दुरुस्त बनाउन पनि हामीलाई कर्मचारीको अभाव रहेको छ ।
३) भर्खरै आर्थिक बर्ष २०७४÷७५ को बजेट पनि बनाएर लागु गरिसक्नुभएको छ , तपाईहरु जनप्रतिनिधिले बनाएको यो ऐतिहासिक र पहिलो बजेट पनि हो , बजेट बनाउदा चाहि कुन बिधि अपनाउनु भो ?
बजेटको एउटा निर्देशिका पनि छ , के के कुरामा बजेट प्राथमिकता दिनुपर्दछ भनेर तोकिएकै पनि हुन्छ । बजेट निर्माणका क्रममा पहिले हामीले पहिले नगरपालिकाको ९ वटै वार्डमा गएर सरोकारवाला र जनताको विचमा छलफल गर्दै वार्डस्तरीय भेला गरेर वार्डलाई सिलिङ दिएको बजेटलाई निर्देशिका अनुसार विनियोजन गरेका छौ , चाडो प्रतिफल दिने आयोजनालाई पहिलो प्राथमिकता दिएका छौ , भने रोजगार प्रवद्धन गर्ने खालको आयोजनालाई प्राथमिकता दिएका छौ , सार्वजनिक हिताय हुने खालको योजनाहरुलाई प्राथमिकता दिएका छौ । व्यावसायिक भवन निर्माण गर्ने , पर्यटन प्रवद्धनका , यसका लागि गुरु योजना , ३ वर्षभीत्र पुरै झापालाई उज्यालो नगरी बनाउने , बाढीको समस्या रहेको छ त्यसलाई निराकरण गर्ने कुरा नगरको वुद्ध वुद्धालाई निशुल्क प्रिमियरको रमक नगरपालिकाबाटै तिरिदिने लगायातका कुराहरु बजेटको प्राथमिकतामा परेका छन ।
हामीले मेयर आवाश योजना अन्तर्गत कम्तीमा ३० जनाजति गरिव सुकुम्बासीलाई निशुल्क घर निर्माण गर्नका लागि बजेट विनियोजन गरेका छौ ।
४) निर्वाचनका बखत तपाईँलाई बाध्यता पनि हुनसक्छ , धेरै महत्वकांशी योजनापनि प्रस्तुत गर्नुभयो । सपना पनि वाढ्नुभयो यी कुराहरु कति पुरा भए कति पुराहुने चरणमा छन ?
हामीले १ , २ , ३ ,४ ,५ भनेर चुनावमा जसरी प्रतिवद्धता जाहेर गरेका थियौ । यो यो कुरालाई प्राथमिकता दिनेछौ भनेर भनेका थियौ बजेट पनि यसरीनै निर्धारण गरेका छौ । सुकुम्बासी समस्या समाधानका निम्ति एउटा तथ्याङ्ग लिने र एउटा धनीपुर्जासम्म जाने कामका निम्ति हामीले छुट्टै बजेट निर्माण गरेका छौ । बाढीको समस्या समाधान गछौ भनेर भनेका थियौ त्यसको निम्ति छुट्टै बजेटको व्यावस्था गरेका छौ , यसैगरी उज्यालो नगरी बनाउछौ भनेर भनेका थियौ त्यसको निम्ति छुट्टै बजेट विनियोजन गरेका छौ । त्यसकारण हामीले प्रतिवद्धता जनाएका कुराहरु पुरा गर्न सक्छौ भन्ने कुरामा म विश्वासमा छु । तर एउटा कुराले मलाई काम गर्नका निम्ति उत्साहित पनि गर्दछ , चिन्तित पनि तुल्याउछ , मकाहा दिनमै २÷४ जना यस्ता गरिव दुःखीहरु आफ्ना छोरानातीलाई जागिरका लागि सिफारिस लिएर आउने गर्नुहुन्छ । यो सङ्ख्या दैनिक रुपमा वढिरहेको छ ।
यसकुराले पनि मलाई स्वरोजगारका क्षेत्रमा काम गर्नका लागि उत्प्रेरित गरेको छ । यसका लागि हामीले मजदुरलाई नै मालिक बनाउदै स्वरोजगार बनाउनका लागि यस कनकाई नगरमा रहेका १२ सय खोलामा गिटी चालेर आफ्नो जिविको पार्जन गर्ने मजदुरहरुसमेतको लगानी तथा रोजगारी समेत दिदै ढुङ्गा , गिटी बालुवामा आधारित क्रकिट उद्योग , ह्युमपाइप , ब्लक ,पोल लगायातका उद्योगहरु खोल्नका लागि भनेर हामीले ठुलो रकम छुट्टाएका छौ । यसले नगरमा ठुलो रोजगारीको श्रृजनागर्ने छ । फोहोरलाई नियन्त्रण गर्नका लागि पनि जो फोहोर उत्पादन गरिरहनु भएको छ उहाँहरुसगै मिलेर एउटा कम्पनी खडा गरेर उद्योग खोल्ने तयारीमा छौ । यसको रिजल्ट देखिनचाही अलिकति समय लाग्ने हुनाले यसो हेर्दाखेरी यीनिहरु सुस्ताएको त होइन भन्नेपनि लाग्न सक्छ तर हामी के विश्वास सबै नगरवाशीलाई दिलाउन चाहन्छौ भने हामी सुतेका छैनौ , सुत्छौ तर दिनको १४ ÷१६ घण्टासम्म जागेका छौ समृद्ध नगरका लागि निरन्तर काम गरिरहेका छौ ।
५) यस कनकाई नगरीलाई अहिलेपनि कहिल्यै बन्द नहुने नगरीका रुपमा देशमै प्रख्यात रह्यो , अव देशमा स्थायीत्व र स्थिर सरकार आउनेवाला छ अव भन्नुहोस कनकाईले विश्वमा अवका दिनमा कसरी परिचित हुने ?
वन्द निषेधितको साथमा अव यस नगरीले सरकारलाई नै सहयोग पुर्याउने ठुलो कार्यक्रम कनकाई नगरले देशलाई दिदै छ । हामी ठुलो कार्यक्रम गरेरै यसको सुरुवात गर्दै छौ । हामीले यस्ता धेरै कुराहरु हामीले ल्याएका छौ जसले समाजलाई पनि रुपान्तरण गर्छ र साथसाथै हाम्रो कुराहरु सिकेर अरुलेपनि केहि योजना तर्जुम ागर्न सक्नुहुन्छ । कनकाई नगरलाई हामी अव पर्यटकिय नगरका रुपमा विश्व बजारमा चिनाउने क्रममा छौ । यसका लागि हामीले युद्धस्तरमा काम गरिरहेका छौ ।
६) त्यसका लागि के कस्ता योजनाहरु बनाउँनु भएको छ ?
यसका लागि हामीले यसैपाली धन«षकोटीबाट जगन पाण्डेको चुलीसम्म हिडेर जानका लागि राम्रो सुविधाजनक बाटो बनाउनका लागि हामीले २० लाख रुपैँया बजेट विनियोजित गरेका छौ । कनकाई नगरभित्र माइ र विरिङ्ग विचमा एउटा ब्लक बनाएर त्यसमा पर्यटनजन्य गतिविधिका लागि गुरु योजना निर्माणका लागि हामीले मोटो रकम छुट्टाएका छौ । दक्षिणपट्टिको क्षेत्र जाहा कोच राजवंशीहरु बस्नुहुन्छ उहाँहरुको आफ्नै संस्कृति रहेको छ । उहाँहरुको संस्कृतिको प्रवद्धन गर्नका निम्ति एउटा केन्द्र बनिएको छ । नगर क्षेत्रमा आधादर्जन पर्यटकिय क्षेत्र रहेका छन । यस नगरीमा कोहिपनि पर्यटक छिर्दा कम्तीमा पनि २ दिन आरामले बस्ने वातावरण हामी बनाउछौ ।
७) कनकाईको ठुलो पिडा भनेको नदिको कटान हो यस क्षेत्रका नदिले वर्षेनी यहाँका जनता पिडित बन्ने गर्नुभएको छ । वाढीको जोखिम वर्षेनी वढ्दो छ । यसका लागि कस्तो योजना बनाउनुभएको छ ?
हामीले यसका वारेमा २ खाले कुरासगसगै लैजाएर गएका छौ । कनकाईमा विरिङ्ग , कनकाईले दुःख दिएको छ तर त्यो भन्दापनि धेरै दुःख आज सुरुङ्गा खोला र घाग्रा खोलाले वढी दुःख दिइरहेको छ । य क्षेत्रमा सामुदायिक वन वढेपनि उत्तरी चुरे क्षेत्र अतिक्रमण दिनानुदिन वढ्दो छ , उत्तरतर्फबाट पहिरो दिनानुदिन खसीरहेको छ । यस कारणले मानिसको माथिको उर्वर भुमिहरु पुरीराखेको छ । वाढी समेत जहाँतहि आउने गरेको छ । नदि नियन्त्रणका लागि अनुसन्धान गरेरै साना ठुला नदि नियन्त्रणका लागि काम गरिरहेका छौ । चुरे संरक्षण र नदि नियन्त्रण एक्कैसाथ गर्नु आवश्यक छ यसका लागि हामीले नगरपालिकाबाट मात्रै १ करोड ५० लाख छुट्टाएका छौ ।
८) कनकाईमा अर्को ठुलो समस्या भनेको उब्जाउभुमिमा प्लटिङो नाममा बालुवा थुप्राने काम भइरहेको छ ? यसलाई रोक्नका लागि नगरपालिकाले कस्तो पोलिसी ल्याउदै छ ?
पक्कै छ , अहिले हामीले सुचना जारी गरिसकेका छौ , पहिले त हामीले यस क्षेत्रमा भुउपयोग निति ल्याउनेक्रममा छौ । भुमिलाई वर्गिकरण गछौ अनिमात्र प्लटिङ्गको अनुमति दिन्छौ यस पहिलेनै गरिएको प्लटिङ्गको हकमा समेत न्युनतम २० फुटको बाटो र ३ फुटको नाली नभए हामी नक्सा पास गर्दैनौ ।
९) बजेटको प्राथमिकता निर्धारण गर्दा कसरी गर्नुभएको छ ।
पहिले हामीले सुकुम्बासी समस्या समाधानका लागि पहिलो नम्बरमा राखेका छौ भने दोस्रोमा कनकाई नगरलाई उज्यालो नगर बनाउनका लागि बजेट बिनियोजित गरेका छौ १ करोड १० लाखको बजेट छुट्टाएका छौ ।
भुक्षय नियन्त्रणका कुरा , वाढी नियन्त्रणका कुरा , कनकाईको हाम्रो आन्तरिक आयको रकम २ करोड १५ लाख रुपैँया रहेको छ , यस आन्तरिक आयलाई हामीले वढाएनौँ भने हामी पछाडि पर्दछौ । यस आन्तरिक आयलाई वढाउनका निम्ति हामीले सुरुङ्गा बजारमा सपिङ्ग कम्प्लेक्स ब्यावसायिक भवन बनाउनका निम्ति साझेदारीमा नगरविकास कोषसग कुराहरु भइरहेको छ । त्योसग साझेदारीका लागि हामीले पैसा छुट्टाएका छौ । साझेदारीमा पिच गर्नेकुराहरुमा बजेट छुट्टाएका छौ ।

सम्बन्धित खबर