Kanakai Online

आचारसंहिता मिच्दै शिक्षक लागे पार्टीको चुनाव प्रचारमा


मङ्गलवार, मंसिर १२, २०७४ |

कनकाई अनलाईन
विर्तामोड , मंसिर १२ गते ÷ प्रतिनिधि र प्रदेश सभाको चुनाव नजिकिदै गर्दा आचारसंहिता विपरित झापाका सरकारी शिक्षक र कर्मचारीहरु चुनावी प्रचार प्रसारमा जुट्न थालेको पाइएको छ ।

 
२१ मंसिरमा प्रतिनिधि र प्रदेश सभाको चुनावमा सरकारी कर्मचारी र शिक्षक नेताहरु चुनावी प्रचारप्रसारमा जुट्न थालेका हुन् । शिक्षण पेशामा आबद्ध रहँदै सक्रिय राजनीति गर्ने झापाका २ सय शिक्षक र ५ सय कर्मचारीहरुको चुनावी ताउरमाउर देखिन थालेको र त्यसबारे जानकारी रहेको तालुकदार अड्डाका प्रमुखहरुले बताएका छन् । विभिन्न पार्टीमा आवद्व शिक्षक र कर्मचारी नेता आ—आफ्नो दलका उम्मेद्वारलाई जिताउन र चुनावी माहोल बनाउन खटेका छन् ।
झापामा नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राप्रपा र मधेशी पार्टी आवद्व सरकारी क्याम्पस तथा विद्यालयका दुई सयभन्दा बढी शिक्षक र सरकारी कार्यालयका कर्मचारी सक्रिय चुनावी अभियानमा छन् । उनीहरु आ–आफ्नो दलको पक्षमा भोट मागिरहेका छन् । झापामा अहिले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राप्रपाको चुनावी तालमेल छ भने राजपा र संघीय समाजवादी फोरमबीच अर्को तालमेल छ । नेपाली काँग्रेस एक्लै चुनावी मैदानमा छ ।
खासगरी काँग्रेस सम्बद्ध शिक्षकहरु झापा–१ मा र एमाले–माओवादी सम्बद्धहरु झापा–५ मा सक्रियतापूर्वक चुनाव अभियानमा छन् । क्षेत्र नम्बर १ मा सरकारी शिक्षक र कर्मचारी काँग्रेसको चुनावी सभा, घरदैलो र टोलमा भएको भेलामा सहभागिता देखाउन थालेका हुन । सर्वसाधारणलाई मतदाता शिक्षा सिकाउन काँग्रेसको कार्यक्रममा सहभागी भएर धुलाबारी माविका प्रधानाध्यापक रोहिणीविलास लुइँटेल, शिक्षक रमेश दाहाललगायत खटिनुभएको छ । उहाँहरुले काँग्रेसको कार्यक्रममा सहभागी भएर मतदातालाई आफ्ना उम्मेद्वारलाई जिताउन सार्वजनिक कार्यक्रममा भोट माग्ने गर्नुभएको छ । उहाँहरु कार्यक्रममा सहभागी भएका तस्वीर सामाजिक सञ्जालमा आफै पोष्ट गर्दै आउनुभएको छ ।
त्यस्तै एमाले र माओवादी सम्बद्ध शिक्षकहरु झापा–५ मा खुलेर अध्यक्ष केपी ओलीलाई भोट मागिरहनुभएको छ । दमकका माओवादी सम्बद्ध शिक्षक सिताराम अधिकारी, एमालेका गौरादह जनता माविका शिक्षक मित्रदेव काफ्ले, हिमालय मावि दमकका दोर्ण श्रेष्ठ लगायतका शिक्षकहरु खुलेर चुनावी अभियानमा हुनुहुन्छ ।
शिक्षकले विद्यालयमा बढी राजनीति गरेकै कारण कमजोर नतिजा आउने गुनासो उच्च भएपछि र पढाउन छाडेर चुनावमा हिँडेपछि निर्वाचन आयोगले त्यसमा रोक लगाएको छ । तर, शिक्षकहरुले अटेरी गरिरहेका छन् । झापाका जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले अहिलेको नयाँ संविधानले पनि शिक्षकले सक्रिय राजनीति गर्न नपाउने स्पष्ट व्यवस्था गरेको बताउँदै कुनै पार्टीको मुख्य पदमा शिक्षकले बस्न नमिल्ने बताउँनुभयो । ‘कोही शिक्षक चुनावमा दलको पक्षमा खटिएको पाए कारवाही गरिनेछ’, उहाँले भन्नुभयो । निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै जिल्लाका केही शिक्षकहरु आ–आफ्नो राजनीतिक दलको चुनावी प्रचार अभियानमा पुगेर भाषण गरिरहेका छन् । ‘शिक्षकले विद्यालयलाई १० देखी ४ बजेसम्म समय दिनुपर्छ’ सहायक जिल्ला शिक्षा अधिकारी उद्वव विष्टले भन्नुभयो – ‘विद्यालयको गतिविधिमा शिक्षक सक्रिय र अनुशासनमा बस्नुपर्छ ।’
सरकारी शिक्षकहरुले सार्वजनिक ठाउँमा दलको कार्यक्रममा भाषण गरेको प्रमाणका आधारमा उजुरी परे कानुन अनुसार कारवाही गरिने जिशिअ बरालले बताउनुभयो । वरालले भन्नुभयो – ‘चुनावमा आफ्नो मताधिकार प्रयोग गर्न पाइन्छ । तर, पार्टीको कार्यकर्ता भएर हिँड्न मिल्दैन ।’ उहाँले पार्टीको झण्डा बोक्न मन लागे राजीनामा दिन चुनौति दिनुभयो । बरालका अनुसार निर्वाचन आचारसंहिता अनुसार सरकारी शिक्षकले चुनावी सभामा भाषण गर्न पाइँदैन ।
जुनसुकै तहका सरकारी कर्मचारी वा दल भए पनि निर्वाचनको आचारसंहिता विपरित कार्य गरेको पाइए कसुरको मात्रा हेरी कारवाही गरिने जिल्ला निर्वाचन कार्यालय झापाका प्रमुख गोपाल आचार्यले बताउनुभयो । सरकारी कर्मचारीले जनताको काम गर्न छोडेर दलको चुनावी प्रचारप्रसारमा लागे कारवाही हुने उहाँको भनाई छ ।
कांग्रेसको चुनावी कार्यक्रममा शिक्षकहरु