Kanakai Online

अबको नेतृत्व पत्रकारमहासंघमा गोविन्द आचार्यको


बिहिवार, भदौ १, २०७४ |

कुसुम भट्टराई
प्रेस सेन्टर र प्रेस यु्नियनका साझा उम्मेदबार गोविन्द आचार्यजीको कुरा बेग्लै छ । उहाँ आफै श्रमजिवी पत्रकार भएको र लामो समयदेखि श्रमजिवी पत्रकारहरूको हकहितका पक्षमा सँघर्ष गर्दै आएको व्यक्ति हुनुहुन्छ । करिब अढाई दशक पत्रकारितामा सक्रिय रहने क्रममा गोविन्दजीले अर्को कुनै व्यवसाय गर्नुभएन । अग्रज पत्रकारहरू गोविन्द बियोगीको ‘मातृभूमि’बाट पत्रकारिता थाल्नुभएका गोविन्दजीले मदनमणि दीक्षितको ‘समीक्षा साप्ताहिक’मा पनि काम गर्नुभयो । महासंघका लागि अग्रजहरूले गरेको योगदानको उहाँमा सुरुदेखि नै प्रभाव परेको देखिन्छ । सोही कारण उहाँले पत्रकारहरूको हक हितका लागि समर्पित हुन कुनै कसर बाँकी राख्नुभएन ।
‘जनादेश’ र ‘कृष्णसेन अनलाईन’मा कार्यरत रहनुभएका गोविन्दजी शान्ति प्रक्रिया सुरु भएपछि ‘जनदिशा दैनिक’मा सम्पादक हुनुहुन्थ्यो । म त्यो पत्रिकामा कपी एडिटर थिएँ । त्योबेला उहाँ ‘पत्रिकामा जनताका कुरा धेरै आओस्’ भन्नुहुन्थ्यो । उहाँ अहिले पनि जनपक्षीय पत्रकारिता र नयाँ सञ्चारको विकासमा कटिबद्ध हुनुहुन्छ । मलाई स्पष्ट सम्झना छ, जनदिशामा कार्यरत रहँदा ‘नेपाल वान टेलिभिजन’मा राजकुमार रेग्मी, मात्रिका पौडेल, मुकुन्द दाहाललगायतका दर्जनौँ साथीहरू सँघर्षरत हुनुहुन्थ्यो । आन्दोलनलाई निकास दिई पत्रकारहरूको पारीश्रमीक एकमुष्ट दिलाउनु जरुरी थियो ।
त्यस्तोमा गोविन्द आचार्यजीकै नेतृत्वमा अलग्गै संघर्ष समिति बन्यो । संघर्ष समितिले दबाबमुलक आन्दोलन ग¥यो । अन्ततः नेपाल वानका सञ्चालक र पत्रकारहरूबीच सहमति भयो र सञ्चालकहरू पत्रकारलाई एकमुष्ट तलब दिन बाध्य भए । हामी सबैलाई थाहै छ, कान्तिपुर, राजधानी, सगरमाथा टेलिभिजन, उज्यालो नेटवर्क आदिमा पत्रकारहरूले संघर्ष गर्दा पत्रकारको हकहितका पक्षमा गोविन्दजीले समन्वयकारी भूमिका निर्वाह गर्नुभएको थियो ।
पार्टीगत आस्थाको कुरा गर्दा निश्चय नै उहाँ माओवादीनिकट हुनुहुन्छ । तर, माओवादीको कुनै पनि निकायमा उहाँ सक्रिय हुनुभएन । क्रान्तिकारी पत्रकार संघको केन्द्रिय समितिमा हुनुभएकाले माओवादीको हेटौँडा महाधिवेशनका बेला उहाँलाई महाधिवेशन आयोजक समितिमा स्वतः सदस्य बनाइयो । तर, उहाँले पार्टीलाई धन्यवाद दिँदै र ‘पार्टीप्रति आस्था र विश्वास कायम रहनेछ’ भन्दै त्यो समितिबाट राजीनामा दिनुभएको समाचार त्यसबेलाका पत्र–पत्रिकामा छापिएकै हुन् ।
सम्बन्धित् समाचार पञ्चायती शैलीमा नाम सिफारिस भएको भन्दै प्रेस सेन्टरका ३ केन्द्रीय नेताद्वारा प्रबल जनसेवा पुरस्कार फिर्ता
नेपाल पत्रकार महासंघमा उहाँको आवद्धता पुरानै हो । उहाँ यसअघि नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको कोषाध्यक्ष तथा महासंघको केन्द्रिय उपाध्यक्ष भइसक्नुभएको छ । उपाध्यक्षपछि भइसकेको व्यक्तिले अब हुने भनेको अध्यक्ष नै हो । यस हिसाबले सभापतिमा उहाँको उम्मेदवारी स्वाभाविक र न्यायोचित देखिन्छ ।
गोविन्दजी, नयाँ सञ्चारको विकास गर्न सक्ने, पत्रकारहरूका पीरमर्का बुझ्नसक्ने, परेमा डटेर संघर्ष गर्नसक्ने र मोफसलका पत्रकारहरूको दुःख बुझ्ने योग्य उम्मेदवार हुनुहुन्छ ।
अन्त्यमा, देशभरका पत्रकार साथीहरू, बायस नभईकन सोचौँ, यसपटक श्रमजिवी पत्रकारनिकट पत्रकारलाई सभापति बनाएर हेरौँ ।

सम्बन्धित खबर