Kanakai Online

चापागाईलाई उद्धमी पुरस्कार


सोमवार, असार ३०, २०७६ |

कनकाई अनलाईन
बिर्तामोड, ३० असार । झापाका युवा उद्यमी दीपक चापागाईं पुरस्कृत भएका छन् । झापाको कनकाई नगरपालिकास्थित सुरुङ्गाका चापागाई ५० हजार रुपैयाँ राशीको राष्ट्रिय उद्यमी पुरस्कारबाट पुरस्कृत भएका हुन् ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले काठमाडौँमा आइतबार चापागाईसहित उत्कृष्ट छ जना उद्यमीलाई पुरस्कृत गरेको हो । मन्त्री गोकर्ण विष्टले उनीहरुलाई नगदसहित पुरस्कृत गरेका हुन् । चापागाईंले दक्षिण कोरियाबाट फर्किएर झापामा डाइमन्ड स्टिल उद्योग सञ्चालन गरिरहेका छन् ।
कनकाई नगरपालिका–२ का ३८ वर्षीय चापागाईं जामुनबारीमा ‘डायमण्ड स्टिल उद्योग’ स्थापना गरेका हुन् । ७० लाखको लागतमा स्थापना गरिएको उद्योगबाट काँटी, किला, नटबल्टु, रड, स्टिल दराज लगायतका सामग्री उत्पादन हुन्छ । काँटी उत्पादन हुने यो उद्योग झापामा पहिलो हो ।
कोरियामा पानी जहाज बनाउने कम्पनीमा काम गरेका चापागाईंले त्यही सिकेको सीप र अनुभवलाई स्वदेशमा प्रयोग गरेका हुन् । उनको उद्योगमा हाल ८ जनाले रोजगारीसमेत पाएका छन् ।