कनकाई अनलाईन
विर्तामोड , पुस १४ गते । दुवै मृगौला विग्रिएर मृगौला प्रत्यारोपणका लागि काठमाण्डौस्थित मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा उपाचारत झापाकी स्थापित महिला पत्रकार माया पकुवाल प्रधानले आफ्नो जिवन वचाइदिन आर्थिक सहयोगका लागि सवैसग अनुरोध गर्नुभएको छ ।
प्रधान झापावाट प्रकाशित वरुण साप्ताहिककी सम्पादक हुनुहुन्छ । उहाँ विगत डेढ दशकदेखि झापामा सक्रिय पत्रकारिता गरिरहनुभएको छ । गत वैशाखदेखि दुवैमृगौला खराव भएपछि उहाँ मृगौला प्रत्यारोपणका लागि भक्तपुर जानुभएको हो । यसका लागि १२ लाख रुपैँया लाग्ने भएपछि उपचारका लागि उहाँले आर्थिक सहयोगका लागि सवैसग अनुरोध गनुभएको हो । यसअघि समेत लामो समयसम्म मृगौलाको उपचारका क्रममा ४ लाख रुपैँया खर्च गरिसकेकाले अव आफ्नो तर्फबाट आर्थिक स्रोत जुटाउन नसकेपछि सहयोगको आशा राखेको पत्रकार प्रधानले वताउनुभयो । यसैविच पत्रकार महासंघ झापा र नारी संचार गृह झापाले झापामा माया पकुवाललाई आर्थिक सहयोग जुटाउन अभियान सुरु गरेको छ ।
पत्रकार महासंघ झापाका उपाध्यक्ष तथा सहारा पत्रकार उपचार कोषका अध्यक्ष एकराज गिरीले पत्रकार महासंघकै सहारा उपचार कोषबाट समेत आर्थिक सहयाता गर्ने र पत्रकार तथा अन्य संघ संस्थाबाट समेत आर्थिक सहयोग संकलन गरिरहेको बताउँनुभयो ।
प्रधानलाई आफ्ना पति सन्जय प्रधान , जेठाजु सौरभ प्रधानले समेत मृगौला दिने हुनुभएको नारी संचार गृहकी सचिव अम्बिका भण्डारीले बताउँनुभयो । यता दुवै मृगौला विग्रिएर मृगौलाको डाइलसिस गराउदैँ आउनुभएका झापा गाउँपालिकाका ४८ वर्षे मुस्लिम नागरिक समाजका केन्द्रिय अध्यक्ष तथा मदेस मिडिया मिसनका केन्द्रिय सदस्य पत्रकार मसुरुदिन अन्सारीको मृगौला डाइलसिसकै क्रममा मेची अंचल अस्पताल भद्रपुरमा गत शनिवार निधन भएको छ । अन्सारी २ वर्षदेखि दुवै मृगौला विग्रिएर मृगौलाको डाइलेसिस गर्दै आउनुभएको थियो । उहाँ यहि पुस अन्तिम सातामा मृगौला प्रत्यारोपण गर्ने तयारीमा रहनुभएको थियो । अन्सारीका ३ छोरा , ३ छोरी र श्रीमती रहनुभएको छ ।