कनकाई अनलाईन
सुरुङ्गा, १५ मंसिर/सुरुङ्गा जेसीजले आफ्नो वार्षिक क्यालेन्डर अनुसार यस वर्षको जेसीज सप्ताह कार्यक्रम समापन गरेको छ । यहि मंसिर १३ गते वुधवारदेखी संचालन भएको जेसीज सप्ताह अन्तर्गत विभिन्न कार्यक्रमको आयोजना गरी शुक्रवार समापन भएको हो ।
सप्ताहको पहिलो दिन बुधवार सुरुङ्गाचोकमा नमुना मतदान गरी जेसीज सप्ताहको सुरुवात गरिएको हो ।
आउँदो निर्वाचनमा जनतावाट धेरै मत बद्धर नहोस् भन्ने उद्धेश्यले मतदानका लागि सर्वसाधारण समेतलाई सचेत गराउँनका लागि नमुना मतदान कार्यक्रमको आयोजना गरिएको सुरुङ्गा जेसीजका अध्यक्ष जविन तिम्सिनाले वताएका छन् । सुरुङ्गा जेसीजले आयोजना गरेको नमुना मतदान कार्यक्रमको जिल्ला निर्वाचन कार्यालय झापाले समन्वय गरेको थियो ।
सप्ताह अन्तर्गत विहिवार आन्तरिक पर्यटनको प्रवद्र्धन गर्ने उद्धेश्यले जामुनखाडी पर्यटकिय क्षेत्र सिमसारदेखि सुरुङ्गा चोकसम्मको दुरीमा मिनि म्याराथुन दौड सम्पन्न गरीएको थियो । करिव ३ किलोमिटरको दुरीमा गरिएको मिनि म्याराथुन दौड प्रतियोगिताको पुरस्कार विजेता तीनैजना कनकाई २ निवासी रहेका छन् ।
जस मध्ये डिना हेमरम प्रथम भएका थिए भने दोस्रो स्थानमा अविनाश मगर र तेस्रो रोशन वर्देवा भएका थिए । विजेता सवैलाई कार्यक्रमका प्रमुख अतिथी जामुनवारी सामुदायिक वन तथा पर्यटकिय क्षेत्र सिमसारका अध्यक्ष ख्यामराज सिटौलाले नगद, प्रमाण पत्र र ट्रफि प्रदान गरेको कार्यक्रम संयोजक प्रविन तिम्सिनाले वताएका छन ।
त्यस्तै महिला तर्फका प्रथम रुपा दहाल, दोस्रो सविता शिवाकोटी र तेस्रो हुने शोभा पाण्डेलाई पनि सान्त्वना स्वरुप नगद प्रदान गरीएको थियो । विजयीहरु सवैलाई नगद पुरस्कारको प्रायोजन जामुनवारी सामुदायिक वन तथा जामुनखाडी सिमसार पर्यटकिय विकास क्षेत्रले प्रायोजन गरेको आयोजक समितिले जनाएको छ । खुल्ला मिनि म्याराथुन दौड प्रतियोगिताको कनकाई वडा नं.२ का वडा अध्यक्ष परशुराम गिरीले रिविन काटेर विधिवत रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए ।
सप्ताह अन्तर्गत शुक्रवारको पहिलो कार्यक्रम स्लो साइकल रेश प्रतियोगितामा ३० जना प्रतियोगीहरुलाई पछि पार्दै पशुपति अंग्रेजी माविका विद्यार्थी सर्वजित न्यौपाने पहिलो भएका छन् भने दोस्रोमा कनकाई ४ का लोकवहादुर न्यौपाने र पशुपति माविकै आयुष खतिवडा तेस्रो भएका छन् । विजेतालाई सो कार्यक्रमका प्रमुख अतिथी पशुपति माविका प्रिन्सिपल एल.पी. उप्रेतीले नगद, प्रमाण पत्र र ट्रफी प्रदान गरेका छन् ।
शुक्रवार नै भएको जेष्ठ नागरीकहरुको म्युजिकल चेयरमा गुणसागर खतिवडा प्रथम, रघुनाथ भट्टराई दोस्रो र पुण्यप्रसाद वारकोटी तेस्रो भएका छन् । त्यस्तै सप्ताहको अन्तिम प्रतियोगिता अन्तर्गत कनकाई नगरपालिका क्षेत्रका निजी तथा सामुदायिक गरी १३ वटा विद्यालयको सहभागितामा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरीएको छ । परिवर्तन सम्भव छ, भन्ने शिर्षकमा भएको वक्तृत्वकला प्रतियोगितामा देवकोटा अंग्रेजी माविका निकेश खरेल प्रथम, पशुपति अंग्रेजी माविका विवेक नेपाली दोस्रो र कनकाई माविका पुनम वस्नेत तेस्रो भएका छन ।
विजेता सवैलाई नगद पुरस्कार सहित, प्रमाण पत्र र ट्रफी प्रदान गरीएको सो प्रतियोगिताका संयोजक त्रिलोचन उप्रेतीले वताएका छन् ।
सुरुङ्गा जेसीजका अध्यक्ष जविन तिम्सिनाको अध्यक्षता एवं महासचिव कमल कट्टेलले संचालन गरेको कार्यक्रममा सुरुङ्गा जेसीजका संस्थापक अध्यक्ष लिलाप्रसाद चिमरीया, पूर्व अध्यक्ष एवं कनकाई उद्योग वाणिज्य संघका अध्यक्ष कुमारमणि पोखरेल, पूर्व अध्यक्ष शिवकुमार कडेल, सामाजिक व्यक्तित्व वालकृष्ण मैनाली लगायतले मन्तव्य राखेका थिए ।