Kanakai Online

गौरादहको स्थानीय पाठ्यक्रममा जनप्रतिनिधिको आफ्नै फोटो, अदालतमा मुद्दा खेपिरहेका पनि प्रेरणादायी पात्र


आइतवार, भदौ १७, २०८० |

कनकाई अनलाईन
झापाको गौरादह बजार क्षेत्रमा एक जना सुन व्यापारीले स्थानीयले जम्मा गरेको झन्डै ५० करोडभन्दा बढी पैसा ठगेर डेढ महिना अगाडि फरार भए । ठगीको पैसा फिर्ता ल्याउन र प्रशासनलाई दबाब दिन भन्दै ती सुन व्यवसायीका विरुद्धमा स्थानीय सङ्घर्ष समिति बन्यो । संघर्ष समितिले एमाले झापाका अध्यक्ष तथा संविधानसभा सदस्य दीपक कार्कीलाई बोलाएर गुनासो सुनाउने तयारी गरे । तर, कार्यक्रममा आएका कार्कीले सुरुमै आफ्ना कुरा सुरु गरे, ‘गौरादहकै सबैभन्दा ठुला बडो मान्छे भनेकै एउटा मै हुँ, एउटा मेरो भाइ हिक्मत कार्की हो ।’

आफूहरुको माझमा आएर व्यवसायीलाई पैसा फिर्ता गराउने पहल गर्लान् भन्ने अपेक्षा गरेका पीडितहरूलाई आफैँ ठुलोबडो भनेर थर्काए र कार्की हिँडे । अहिले ती सुन व्यवसायी सोम विश्वकर्मा दम्पती नै ठगी मुद्दामा अनुसन्धानका लागि थुनामा छन् । यस्तै झापा गौरादह नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष बलराम खरेल जग्गाको किर्ते अभियोगमा मुद्दा खेपिरहेका छन् । उनी त्यही मुद्दामा केही समय अगाडि २५ दिन बढी थुनामा परेका थिए ।

तर, गौरादहका कक्षा १ देखि ८ कक्षासम्मका विद्यार्थीले भने अब तीनै एमाले अध्यक्ष कार्की र मुद्दा खेपिरहेका खरेलको विषयमा जीवनी पढ्नुपर्ने वा उनीहरूको विषयमा जान्नुपर्ने भएको छ ।
विद्यालयमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्नुपर्ने चर्को आवाज उठिरहेको बेला झापाको गौरादह नगरपालिकाले लागू गरेको स्थानीय पाठ्यक्रममा एमाले नेताहरूको जीवनी र फोटोहरूले भरिभराउ छ । संविधानमा स्थानीय तहको अधिकार सूचीमा आधारभूत र माध्यमिक शिक्षाको जिम्मा दिइएको छ । सोही अनुसार स्थानीय तहले एउटा पाठ्यक्रम स्थानीय विषयलाई समेटेर निर्माण गर्न पाउँछ ।

तर, गौरादह नगरपालिकाले निर्माण गरेको कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रममा बहालवाला र पूर्वजनप्रतिनिधिको फोटोदेखि अदालतमा मुद्दा खेपिरहेका पनि प्रेरणादायी पात्रको रूपमा राखिएको छ । यस्तै एमालेका तल्लोदेखि उपल्लो तहका नेताको जीवनी, बहालवालादेखि पूर्वप्रमुख, उपप्रमुख र वडाध्यक्षबारे पनि विद्यार्थीलाई जान्न र पढ्न बाध्य पारिएको छ ।

एमाले नेता अग्नि खरेल गौरादहकै अगुवा नेता हुन् । राप्रपाका नेता अम्बरबहादुर विष्ट पूर्व प्रधानपञ्च हुन् । हाल उनी प्रदेशसभा सदस्य छन् । गौरादहमा दुई जनालाई सशस्त्र युद्धको समयमा प्रहरीले बाटो छेकेर गोली हानी हत्या गरिएको थियो । उनीहरूलाई राज्यले सहिद घोषणा गरेको छ । उनीहरुजस्ता अरुधेरै योगदान गरेकाहरुको न चर्चा छ न फोटो नै छ । पुस्तकमा छ त एमालेका नेता, बोर्डिङ सञ्चालक, जग्गा व्यवसायीहरूको चर्चा छ ।

कक्षा १ को स्थानीय पाठ्यक्रममा समावेश नगेन्द्र भण्डारी, हेमन्त कार्की, मणिन्द्र कार्की, भूमिराज पोखरेल, गजेन्द्र घिमिरे, सीताराम भट्टराई, खड्ग पराजुली गौरादहका पूर्व वडाध्यक्षहरू हुन् । पुस्तकमा उनीहरूको फोटो राखिएको छ । यस्तै कक्षा २ मा राखिएका दिलिप भण्डारी, गोपालप्रसाद कोइराला, गणेशकुमार राजवंशी, उपेन्द्र निरौला, दुर्गामणि बस्नेत र जगन्नाथ खनाल हालका गौरादह नगरपालिकाका बहालवाला वडाध्यक्ष हुन् ।

कक्षा ३ मा राखिएको रोहितकुमार साह नगरपालिकाका पूर्व प्रमुख तथा गीता भेट्वाल पूर्व उपप्रुमख हुन् । कक्षा ४ को पाठ्यक्रममा राखिएको छत्रपछि सुवेदी हालका नगरप्रमुख हुन् भने जलवर्षा राजवंशी बहालवाला उपप्रमुख हुन् । यस्तै डा। युवराज खतिवडा एमालेका नेता तथा पूर्व अर्थमन्त्री हुन् । यस्तै नारायणप्रसाद घिमिरे निजी विद्यालय सञ्चालक हुन् ।

यस्तै ६ मा राखिएको हिक्मतुकुमार कार्की कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हुन् । एमालेकै नेतृ तथा पूर्व मन्त्री शिवमाया तुम्वाहाम्फेको फोटो राखेर कुनै एक जनाको योगदानको विषयमा खोज र छलफल गरी कक्षामा प्रस्तुत गर्न भनिएको छ ।

न्यगचबमबजब ९ज्ञ०

यस्तै सोही कक्षामा एमाले झापाका अध्यक्ष समेत रहेका संविधानसभा सदस्य दीपक कार्कीको जीवनी राखिएको छ । उनको जीवनीमा ‘जनताको मनमा अनुकरणीय आदर्श बनेर बसेको’ उल्लेख छ ।

पुस्तकमा एमाले नेताहरू तथा जनप्रतिनिधिहरू राखिएको विषयमा सामाजिक सञ्जाल फेसबुकमा भाइरल बनेको छ । प्याब्सनका केन्द्रीय उपाध्यक्षसमेत रहेका नारायण घिमिरेले पाठ्यक्रम लेखन र विज्ञ समूह बनाउँदा नै एमालेका आसेपासेलाई संरक्षण गरेर बनाइएको दाबी गरे । ‘जीवनी भनेको मरणोपरान्त समाजमा योगदान दिएकाहरूको लेखिनुपर्थ्यो । अहिले एमाले झापाका अध्यक्षकै जीवनी विद्यार्थीले पढ्नुपर्ने अवस्था आयो । जागिर पेसा केही नभए पनि उनको जीवनशैली सभ्रान्तजस्तो छ । अब उनैको जीवनी विद्यार्थीले पढ्नु पर्दा नरमाइलो होला नि,’ उनले भने ।

उता, पाठ्यक्रम निर्माता समितिका सदस्य गोपाल काफ्लेले भने वडाध्यक्षहरूलाई सबै विद्यार्थीले चिन्नुपर्ने बताउँछन् । यस्तै संविधानसभा सदस्यको योगदान पनि कम नभएकोले पुस्तकमा राखिएको उनको तर्क छ । ‘पाठ्यपुस्तक निर्माताहरुले यो क्षेत्रको संविधानसभा सदस्य संविधान बनाउन योगदान दिने व्यक्तिको चिनारी बनाउन खोजेको हो । अरू केही होइन । पार्टीगत रूपमा कसैले आलोचना गरे होलान् । तर, पुस्तकमा उहाँलाई पार्टीको भनेर लेखिएको छैन,’ काफ्लेले भने, ‘वडाध्यक्षजस्तो मान्छे उनीहरूलाई विद्यार्थीले चिन्नु पनि पर्‍यो नि । कस्तो हो कहाँनेरको हो भनेर चिन्नु त पर्‍यो नि त ।’

उनले एमालेले धेरैपटक निर्वाचन जितेको कारण उनीहरूकै परिचय बनेको काफ्ले बताउँछन् । ‘स्थानीय रूपमा लेखिएको पाठ्यक्रममा स्थानीय व्यक्तिहरूलाई नै चिनाउनु पर्ने हुन्छ नि त । यो नगरपालिकाभित्र विगतमा कसले के के योगदान दिए भनेर कक्षाहरूमा पढाउनका लागि छुट्टाछुट्टै योगदानका आधारमा राखिएका होलान् । पार्टीको हिसाबले राखिएको होइन,’ उनले भने ।

पालिकाका प्रमुख छत्रपति सुवेदी त सामाजिक सञ्जालमा भइरहेको चर्चा केटाकेटी र फुच्चेहरूले नबुझेर गरिरहेको बताउँछन् । ‘पाठ्यक्रम कस्तो हुन्छ । पाठ्यक्रम कसरी बनाइन्छ भनेर बुझ्नेले फेसबुकमा गरेको भए पो हुन्थ्यो । हिंजोअस्तिका फुच्चेहरूले फेसबुकमा लेख्छन् त्यसमा सबै पछिपछि कुद्छन्,’ सुवेदीले भने, ‘स्थानीय पाठ्यक्रम भनेको स्थानीय रूपमा काम गरेका व्यक्तिहरूलाई नै समेटेर बनाउने हो । त्यहाँ धेरै मानिसहरूको फोटोहरू राखिएको छ । परिचय राखिएको छ । त्यहाँ सामाजिक रूपमा काम गर्ने मान्छे, त्यहाँको विकास निर्माण र ऐतिहासिक मान्छे, एक जनाले तीन पटक स्थानीय तहमा र दुई पटक संविधानसभामा जितेको छ । उसले ठुलो योगदान गरेको छ । उसको जीवन लेख्दा के फरक पर्‍यो र यो त इतिहास हो नि त ।’

उनले ०७४ सालमा संविधान लागूभएपछि पहिलो कार्यकालका वडाध्यक्षहरूको र दोस्रो कार्यकालको वडाध्यक्षहरूको फोटो राखिएको पनि बताए । ‘मेयर, उपमेयरको फोटो राखिदिएको छ । त्यस्तै त्यहाँ योगदान दिने मान्छेको जीवनी राखिदिएको छ । त्यो पनि एउटा पाठ्यक्रम हो नि । स्थानीय सरकारले बनाउने पाठ्यक्रम स्थानीय रूपको नि । त्यहाँ कलाकारको, सामाजिक क्षेत्रका, राजनीतिक क्षेत्रका मानिसहरूको नाम रहेको छ,’ उनले भने ।

सम्बन्धित खबर