Kanakai Online

‘झापा विद्रोह’ को सांगोपांगो इतिहास


मङ्गलवार, भदौ ५, २०८० |

पर्वत पोर्तेल
झापा — झापा, धुलाबारीका निरोज कट्टेल मूलतः सरकारी कर्मचारी हुन् । तर, लामो समयदेखिको पढ्ने, लेख्ने रुचिले उनलाई लेखक बनायो । लेखकले करिब आठ वर्ष लामो मेहनतपछि एउटा ऐतिहासिक, राजनीतिक घटनालाई पुस्तकका रूपमा दस्ताबेजीकरण गरेका छन् ।
नेपाली राजनीतिमा चर्चित २०२८ सालको झापा आन्दोलनलाई उनले ‘२०२८ स् झापा विद्रोहको अन्तर्कथा’ का रूपमा पुस्तक लेखेका हुन् । गत शनिबार नेताद्वय घनश्याम भूसाल र मानुषी यमी भट्टराई तथा पत्रकार सुधीर शर्माले काठमाडौंमा पुस्तक लोकार्पण गरेका हुन् ।
नेता भूसालले झापा किसान विद्रोह मूलतः किसानका नाममा केही नवजवान, मध्यम वर्गीयले जमिन्दारहरूको विरोधमा गरेको जबर्जस्त प्रयत्न रहेको बताए । पत्रकार शर्माले झापा विद्रोहको सांगोपांगो इतिहास पुस्तकमा लिपिबद्ध भएको जनाए । नेता मानुषीले इतिहास रच्ने पात्रहरुका दुःख र आन्दोलनमा मारिएका परिवारहरूको पीडालाई लेखकले रोचक ढंगले लिपिबद्ध गरेको जनाइन् ।

पुस्तकमा पञ्चायती सत्ताका नीति, भूमिसुधारपछि झापाको भुईं यथार्थ, बसाइँसराइँ, वैश्विक कम्युनिस्ट आन्दोलनका तत्कालीन तरंग, किसान र जमिन्दारबीचको अन्तर्विरोध अनि नक्सलवादी–झापाली साइनो जस्ता विषयलाई पुस्तकमा समेट्ने प्रयत्न लेखकले गरेका छन् ।

सन् १९६० को दशकमा देशको पूर्वी भागसँगै साँधसीमा जोडिने भारत, पश्चिम बंगालको नक्सलबारीमा चर्किएको थियो, ‘किसान आन्दोलन’ । भूमिपति र पुँजीपतिविरुद्धको यो आन्दोलनलाई चारु मजुम्दार, कानु सन्याल, जंगल सन्थाललगायतले अगुवाइ गरेका थिए ।
त्यही आन्दोलनको झिल्को मेची तरेर झापा आएको थियो । २०२८ अर्थात सन् ७० को दशकमा मेचीपारि नक्सबाट आएको सानो झिल्को क्रान्तिको शक्तिशाली राँकोमा परिणत भयो । राधाकृष्ण मैनाली, चन्द्रप्रकाश ९सीपी० मैनाली, केपी ओलीलगायतका युवाहरू नक्सल आन्दोलनकै शैलीमा ‘झापा विद्रोह’ को नाममा जमिन्दारविरुद्ध धावा बोल्न थालेका थिए । २०२८ देखि २०३२ सम्म झापामा चलेको आन्दोलनपछि हिंसात्मक बन्दै गयो । यो अवधिमा विद्रोहीद्वारा आठ जना र राज्य पक्षद्वारा ६ विद्रोही मारिए ।

राज्य र विद्रोही दुवै पक्षबाट मारिएकाको परिवारको स्मृति र सम्झनालाई आधार मानेर कट्टेलले किताब लेखेका हुन् । तिनका दुःख र अर्तनादलाई लेखकले नजिकबाट छामेका छन् । अनि तिनका स्मृति र बयानलाई अभिलिखित गरेका छन् । ‘किताबका सिलसिलामा उत्तर बंगाल र झापाका धेरै गाउँको फन्को लगाएको छु,’ लेखक कट्टेलले भने,‘खासमा यो पात्र र दस्ताबेजसँगै मैले गरेको इतिहासको पैदल यात्रा पनि हो ।’ ३०९ पृष्ठको पुस्तक काठमाडौको बेला पब्लिकेसन्सले प्रकाशित गरेको हो ।

सम्बन्धित खबर