Kanakai Online

देशको परिवर्तनमा युवा शक्तिको भूमिका


आइतवार, जेठ ३०, २०७८ |

उदय मैनाली

युवा भन्ने बित्तिकै नयाँ सोच, जाँगर, जोश र उर्जा बोकेका देश निर्माणमा अत्यावाश्यक पक्ष हो । विश्व सर्वहारा वर्गका महान दार्शनिक कार्ल माक्र्सको शब्द सापटी लिँदा युवाहरु हो, जिते संसार छ, हारे केही पनि छैन । यसको मतलब संसारभरीका युवा वर्गमा जित्नका लागि साहस र आँटको जरुरत छ । यो यथार्थता बहुसंख्यक श्रमजीवि किसान मजदुरहरुले भरिएको नेपाल जस्तो मुलुकका श्रमजीवि किसानका सन्तानहरुको लागि हिजो, आज र भोली पनि सान्दर्भिक रहीरहने छ । युवाहरुको बारेमा अर्का सर्वहारा वर्गका नेता माओ भनेको छन् यो संसार तिमीहरुको पनि हो, हाम्रो पनि हो, तर अन्त्यमा तिमीहरुकै हो । वास्तवमा युवाहरु नजागेसम्म संसारका कुनै पनि परिवर्तन र क्रान्ती सम्भव भएका छैनन् ।

युवाहरु नै राष्ट्रका परिवर्तकारी शक्ति हुन् । त्याग, निष्ठा, बलिदान र नविनतम सोच र विचारमा प्रतिबद्ध युवाहरु वास्तव मै राष्ट्रका अमूल्य निधि र उत्पादक शक्ति हुन् । युवाहरुमा प्राकृतिक रुपमा तातो रगत र उच्च मनोबल रहेको हुन्छ । साथै युवाहरु स्वभाव ले नै विद्रोही प्रवृत्तिका समेत हुन्छन् । क्रान्तीकारी भावना र समाजको अग्रगामी परिवर्तनको नयाँ नविन सोच र उर्जा युवाहरुमा सल्बलाईरहेको हुन्छ । विश्व इतिहासमा मात्र हैन नेपालको गौरवमय इतिहासको किताब पल्टाएर हेर्दा पनि वि.सं. १९९६ को राणा विरोध िआन्दोलनमा गंगालाल जस्ता युवाहरुको सहभागिता, वि.सं. २००६, वि.सं. २०१५, वि.सं. २०३६, वि.सं. २०४६ को जनआन्दोलन, वि.सं. २०५२ देखी संचालित सशष्त्र जनयुद्ध तथा वि.सं. २०६२÷६३ को जनआन्दोलनमा युवाहरुको भूमिका र योगदान अतुलनिय रहेको थियो । यसरी विगतदेखि वर्तमानसम्म हेर्दा जनजिवीका सँग प्रत्यक्ष सरोकार राख्ने विषयदेखि राष्ट्रियता, स्वाधिनता तथा निरंकुशता र तानाशाहका सवालमा शसक्त र विराट शक्तिको रुपमा पर्खाल बनेर उभिएको युवा जगतको विरता विश्व कै लागि अनुपम र ऐतिहासिक दृष्टान्त बनेको छ ।

यसरी  हिजोको अंग्रेजको साम्राज्यवाद विरुद्धको गोर्खाली युवादेखि आजको गणतन्त्रको पहरेदार र खबरदारी गर्ने नेपाली होनाहार युवाहरुले राष्ट्र निर्माणको महा अभियानमा समर्पित बन्ने चाहना हुँदा हुँदै पनि बेरोजगारीको पिडासँगै स्वदेशको माटोमा भन्दा विदेशीको गुलामी मै विवश बनेको देख्दा कसको मन दुखेको छैन होला र ? मुटुमाथि ढुंगा राखेर भन्नु पर्छ आज ८० लाखको हाराहारीमा उर्जाशिल र स्वाभिमानी युवायुवती विदेशी भूमिमा श्रम बेच्न बाध्य छन् । गोर्खाली र बहादुर युवाहरुको देश भनेर विश्वमा नाम कमाएको मुलुकका हामी नेपाली र नेपालको लागि पक्कै पनि यो राम्रो संकेत भने होइन । जबसम्म यसरी विदेशिएका युवाहरुको खुन र पसिनाबाट कमाएको सिमित रेमिट्यान्सबाट समग्र मुलुकको अर्थव्यवस्था धान्न सधैभरी सकिन्छ भन्ने आत्मकेन्द्रित मनोविज्ञानबाट हामी सबै टाढा हुँदैनौ तबसम्म यस अवस्थाबाट छुटकारा पाउन असम्भव प्रायः छ । तथा यस्तो आत्मरतीबाट चाँडो बाहिर ननिस्के इतिहासमा गम्भिर दुर्घटना हुनेछ जसको दोष हामीलाई कालो धब्बाको रुपमा लाग्नेछ । आजको विश्व परिस्थिति कोरोना कहरको जालोमा फसेको छ । नेपाल पनि यसको मारबाट अछुतो पक्कै रहको छैन । यस्तो असहज र जटिल समयमा नेपालका युवा शक्तिलाई राजनीतिको गोटीका रुपमा प्रयोग गर्ने परिपाटी पनि बढेको देखिन्छ । युवामा भरिएको परिवर्तनको चाहनालाई ललिपपको रुपमा देखाएर आफ्नो राजनीतिक स्वार्थ सिद्ध गर्न पल्केका महाशयहरुबाट युवाको युगान्तकारी परिवर्तनको सपनालाई चकानाचुर पार्ने र अन्तत्वगत्वा विदेशी भूमिमा श्रम गर्न बाध्य पार्ने परिपाटी नै नेपाली युवाहरुको अभिषाप हो । पछिल्लो समय युवाका सपनाहरू माथि राजनीतिक स्वार्थप्रेरित घृणित खेल निरन्तर जारी छन्। राजनीतिक विग्रहले केन्द्रदेखि समाजका कार्यकर्ताहरूसम्म बचाउ र विरोधका स्वरहरूमा विभाजन गराएको छ। अहिलेका युवाले नै राजनीतिक संस्कारलाई अनुशरण र अभ्यास गर्न सक्दैनन् भने भविष्यमा सुशासनसहितको समृद्ध नेपालको सपना अपूरै हुनसक्छ।

राजनीतिकर्ममा रहेका युवाले यो समय हाम्रो हो, हामी नै सत्कर्मको थालनी गर्नुपर्छ भन्ने कुरा बुझ्नु र आमयुवामाझ बुझाउनु अति आवश्यक छ।अब त देशले केही कोल्टे फेर्ला, जनजिविकाका सवालहरुले महत्व पाउलान र देशभित्र युवाहरुले रोजगारीको अवसर पाएर देश समृद्ध बन्ला भन्ने सपना बोकेर ल्याइएको नेकपाको बहुमतको सरकारसँगै घेरिएको राजनीतिक अस्थिरताले फेरी पनि युवाहरुको सपना र भविष्यलार्इु दाउमा पारेको छ । स्थायी सरकारको परिकल्पनामा ढुक्क भएर सोचे जतिको काम नभएपनि चुपचाप आफ्नो र समाजको वर्तमान र भविष्य बनाउन उद्दत युवाहरु थोरै विकास र धेरै काण्डहरुको बिचमा मुकदर्शक भएर बस्यो । यसले वर्तमानका युवा शक्तिहरुलाई या त राजनीति प्रतिको वितृष्णा या त स्वविवेक प्रयोग गर्न नसक्ने युवाको जमात हो भन्न सकिन्छ । तर यसो भनेर आजका युवाले कहाँ छुटकारा पाउँछन् र ? युवा भनेको देशको अनमोल र अनन्त शक्ति हो, देशको भविष्य बोकेको सबैभन्दा ठुलो पुँजी हो । युवा वर्गको विशिष्ट शक्तिलाई राष्ट्र र समाज निर्मााणमा प्रयोग गर्न नसक्नु भनेको राष्ट्र असफल हुनु हो । तसर्थ आजका युवाले राष्ट्रलाई असफल बनाउन दिनु हुँदैन र प्रत्येक राष्ट्रिय मुद्धामा आफ्नो स्पष्ट सहभागिता र निर्णयको अधिकार सुनिश्चित गर्न सक्नु पर्छ । यो शक्तिलाई निराशामा होइन , आशामा बदल्नुपर्छ । विगतको भुल र चिन्तामा अनावाश्यक अल्झाउने होइन, भविष्यको कार्यभार दिनुपर्छ । अमुक व्यक्ति र पार्टीको जय जयकार होइन, स्वविवेक प्रयोग गर्न दिनुपर्दछ । महान तथा अमर शहिदहरुको त्याग र बलिदानलाई खेर जान नदिन युवा जगत कदापी मौन बस्नु हुँदैन । अब युवाहरुले मुलुकको राजनीतिक, सामाजिक, आर्थिक, शैक्षिक विकास निर्माणमा नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्नु पर्दछ ।

मण्डेला, ओबामा, गान्धी, बुद्ध, आइन्सटाइन, विपी कोइराला, गणेशमान, मनमोहन, मदन भण्डारी सबैले आ–आफ्नो युवा अवस्थामा गरेका असाधारण र परिवर्तनकारी ऐतिहासिक कार्यले आजसम्म विश्वमा छाप छोड्न सफल भएका छन् । त्यसैले आउनुहोस् हामी पनि युवा अवस्था मै केही रचनात्मक कार्य गरौँ । युवा अवस्था रहिन्जेल जालझेल, चाप्लुसी, ढाकछोपको ढोंग गरेर बुढेसकालमा असल राजनीति र अध्यात्मका कुरा गरेर हुनेवाला केही छैेन । बेलैमा होस गरौँ ।