विवेक घिमिरे
“संविधानसभाको पहिलो बैठकबाट २०६५ जेठ १५ गते गणतन्त्र नेपाल घोषणा भयो । दोस्रो संविधानसभाबाट २०७२ असोज ३ गते नयाँ संविधान जारी भयो । जनयुद्ध मूलतः गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी तथा समानुपातिक प्रतिनिधित्वमा निसिृत हुन पुग्यो । साथै नेपालको राजनीतिक परिवर्तनले एउटा कोर्ष पूरा गर्यो । त्यही परिवर्तनको एउटा नासोको रुपमा यो पुस्तक मेरा आदरणीय पाठकलाई सुम्पिएको छु ।”– ९पृष्ठ – २०६०
रमेश गुरगाईँद्वारा लिखित संस्मरणात्मक पुस्तक कारावासको अन्तिम अनुच्छेद हो यो । लेखकले ७५१ दिनको कारावास भोगाइका आफ्ना दर्दनाक संस्मरणहरुलाई गणतन्त्रको नासोको रुपमा सगौरव पाठकलाई सुम्पिएका छन् । कारावास पुस्तक भित्र छिर्दा देखिएका जीवन्त दृष्य र घटनाहरु गणतन्त्र नेपालको रक्तिम् दर्पण भएर ठिङ्ग उभिएका छन् ।
तत्कालिन फासिष्ट शाही सत्ताले ३०७ दिन भैरवनाथ गणको हिरासतमा लेखकलाई बेपत्ता पारेर दिएको अत्यन्तै क्रुर, अमानवीय र अकल्पनीय प्रकृतिका यातनाहरुको सजिव झलक यस पुस्तकमा सचित्र अनुभुत हुन्छ । इतिहासले जीवित लास र कायरहरु मात्र होइन, अनगिन्ती वीर वीरङ्गना पनि जन्माएको हुन्छ त्यसको सजिव प्रमाण हो कारावास र कारावास भित्रका रमेश गुरागाईं लगाएतका बन्दीहरु ।
लेखन एउटा चुनौति पनि हो । लेखकले आफ्नो अतितलाई सर्बसाधारण पाठकले पनि सहजै पढ्न सक्ने सरल भाषाशैलीमा उत्खनन गरेका छन् । इतिहाँस शासकहरुले होइन श्रमिक र देशका लागि लड्ने वीरहरुले लेख्छन् र लेखिनुपर्छ भन्ने मान्यतामा लेखक गरागाईं कारावासमा प्रस्तुत भएका छन् ।
शासकको शक्तिले भरेको कलंकित मसीले सत्य इतिहाँस लेख्न सक्दैन । सत्य इतिहाँस त जनताको रगत र पसिनाले मात्र लेख्न सक्दछ । त्यसकारण कारावास गणतन्त्र नेपालका तमाम् योद्धा हरुको प्रतिक रातो रगतले लेखिएको स्वर्णिम इतिहाँस हो ।
“यातना जारी थियो । म पटकपटक मरिरहेको थएँ । भनिन्छ, मानिसको आयु १६ औंस हुन्छ । यसको अर्थ मानिस १६ पटक मर्यो भने मात्र पूर्ण मृत्यु हुन्छ । साँच्चै, उनीहरु मलाई १६ पटकमा मार्छौ भनिरहेका थिए ।” ९पृष्ठ – ५३०
लेखकले कारावासलाई जीवन र मृत्युको लुकामारीको भनेका छन् । क्रन्ति शब्द सुन्नमा बहुतै मीठो र बहुतै प्यारो हुन्छ । तर ब्यवहारमा भने त्यो बहुतै जटिल र कठिन हुन्छ । दुनियाँमा कयौं चीजका बनिबनाउ बाटा हुन्छन् तर क्रान्तिको कुनै बनिबनाउ बाटो हुँदैन । कारावासमा लेखक सहितका आस्थाका बन्दीहरु त्यही कठिन बाटो हिड्न तयार भए । मानव बधशाला भनेर चिनिएको भैरवनाथ गणको कहालिलाग्दो हिरासतमा उनीहरुले बर्बर यातना सहेर मृत्युवरण गर्न तम्सिए तर आत्मसमर्पण गरेनन् ।
“भैरवनाथ गणबाट अन्य दिन साथीहरु रिहा गरिएका र अन्यत्र सारिएका थिए । पुस ५ गते निकालिएका सबैलाई बेपत्ता पारियो । बेपत्तता भनेको हत्या नै हो भन्ने भयो । त्यो थाहा पाउँदा स्तब्ध भयौं । मुटु ढक्क फूल्यो । आफूसंगै रहेका साथी एकाएक हराउँदा निक्कै नमीठो महसुस भयो । बाँकी हामी सबैको जीवनको पनि काउण्टडाउन सुरु भएको जस्तो लाग्न थाल्यो । पालो पर्खेर बसेको जस्तो भयो । ” ९पृष्ठ – ६३०
यस कृतिमा मानवीय संघर्ष र जोखिम वहनको अनुभूति छ, त्यो वास्तवमा सहास र वलिदानको प्रतिरुप हो । त्रासदी र भयानकतासँगको साक्षात्कार अनि भोगाइको यथार्थ चित्रण नै कारावास हो । गणतन्त्रको नासो भित्रका रमेशहरु आँट, हिम्मत र सहासले डर र मृत्युलाई तह लगाउथे । देश, जनता र जनयुद्ध प्रतिको पक्षधरता मुखरित गर्दै विवेक, सहासको अनुपम संगम लालझण्डावाहाक क्रान्तिकारी मान्छेहरुको बलिदानीपूर्ण इतिहास हो कारावास ।
“वास्तवमा हामी हदैसम्म थेत्तरा भइसकेका थियौँ । महिनौँदेखि मृत्युसंग लुकामारी खेल्दै तालिम नै पाएजस्ता । डर भने फिटिक्कै नहुने । मार्छ जस्तो लाग्थ्यो तर डर थिएन । डराएर पनि बाँच्न पाइदैन थियो । त्यसैैले नडराई मर्ने सोच्थ्यौँ । आफ्नै मृत्युको कल्पना गर्दा एक किसिमको झस्याङ्ग त हुन्थ्यो नै । सहिद भए जीवन सार्थक हने जस्तो लाग्थ्यो । ” ९पृष्ठ – १३६०
भैरवनाथ गणको ३०७ दिनको नारकीय हिरासतबाट पछि सुन्दरीजल जेलमा पुर्याइएपछि लेखक अलिक सहज महसुर गर्छन तर क्रान्तिको अप्ठ्यारो बाटो नै रोज्न पुग्छन् । २४ दिन सम्म शुद्ध पानी मात्र खाएर आमरण अनसन बस्छन् जेलभित्र । बरु सहिद हुन इच्छुक बलिदानीको बाटो रोज्छन् ।
क्रान्तिकारीका लागि उज्ज्वल भविष्यको सुन्दर स्वर्गका अगाडि वर्तमान नर्कका क्षणिक दुःखकष्टहरु इतिहासको पृष्ठभागमा पूरै धकेलिन पुग्छन् । त्यसैकारण क्रान्तिकारीहरु सनक होइन धैर्य, आवेग होइन विवेक अनि मृत्यु होइन जीवनले अभिप्ररित भई निरन्तर अघि बढिरहेका हुन्छन् ।
उनीहरुको कष्टमय जिन्दगीलाई यसै क्रान्तिकारी आशावादले भिजाइरहेको हुन्छ । यही आशावाद र यही विश्वास बोकेर नै क्रान्तिकारीहरु क्षणिक वैभवको बाटो लत्याएर दुःख कष्टको जिन्दगी स्वीकार्दै अगम पहाड–कन्दराको यात्रा गर्न रुचाउछन् । रमेश गुरगाईंहरुले दुःखको त्यो अगम पहाड कन्दराको बाटो सहर्ष स्विकारेको कारावास भित्र भेटिन्छ ।
“सायद जनयुद्ध र जनआन्दोलन सफलताको संकेत गर्दै थिए उनीहरु । त्यसबाट के चाहिँ आशंका भयो भने परिवर्तनपछि जस लिने र चाकडि बजाउन होडबाजी गर्ने खतरा हुने रहेछ । हामी मर्ने बाँच्ने ठेगान नभएका र उनीहरुले नै थुनेर राखेका क्रान्तिकारीको त यति बढी चाकडी गर्छन् भने भोलि ठूल्ठूला नेताहरुलाई के गर्लान रु ‘यसले प्रतिक्रान्तिको खतरा निम्त्याउन सक्छ है रमेश १’ भानु आचार्यको संश्लेषण थियो ।” ९पृष्ठ – १८२०
सुन्दरीजल जेल भित्र शुद्ध पानी मात्र खाएर गरिएको २४ दिन लामो आमरण अनसन सफल भएपछि संघर्षबाट प्राप्त उपलब्धिको जस लिन हानाथाप गर्नेहरु जेलर, लप्टन अनि अधिकार कर्मीहरुको सबैको होडबाजी देख्दा लेखक र बन्दी भानु आचार्यले गरेको सम्बाद आजको अवसरवदी समाजिक चरित्र उनीहरुले जेलमा हुँदै देखिसकेका थिए । द्वन्दात्मक भौतिकवादको विचारधारालाई टेकेर वर्गीय चिन्तनको जगमा उभिएका उनीहरु दुरद्रष्टा थिए भन्ने आजका घटनाक्रमले पनि पुष्टि गरिसकेका छन् ।
“माओवादीले स्कुलमा विज्ञान पढाउनु ठूलै कुरा थियो । मधेशबाट आइएस्सी ल्याएर माध्यमिक तहके कक्षा दुःखसुख सञ्चालन गरेका रहेछन् । मैलै बिएस्सी गरिसकेको थिएँ । गाउँमा चर्चा हुन थालेछ । सुरक्षा खतरा हुने ठानेर मलई सोही गाबिसको बगमती किनारमा रहेको घरमा पुर्याइयो । ” ९पृष्ठ – १९५०
भैरवनाथ गण र सुन्दरीजल गरेर २ बर्ष २१ दिनको हिरासत र जेल जीवन पछि अदालतबाट अधिकारकर्मी र आफन्तको रोहबरमा छुटेका लेखकले घर परिवार र नीजि जीवन सम्झेनन् । नरंकुशताको शिर छेदन गर्दै अनि विजयको झण्डा फहराउदै बर्षैंदेखिको हराएको खुशी वा उज्यालो बोकेर रमेश गुरगाईं आशावादी दृष्टिकोण सहित जेल वाहिर आए । यातनाले थिलथिलो शरिर लिएर पनि उच्च मनोबलका साथ लेखक गाउँ बस्तिमा जनयुद्ध र जनआन्दोलनलाई उत्कर्षमा पुर्याउन कार्यक्षेत्रमा खटिए ।
क्रान्ति त्यो प्रकृया हो, जसमा पुरानोको ध्वंश र नयाँको स्थापना हुन्छ । कसैले यो कुरा आत्मसात् गरोस् वा नगरोस् इतिहासको बाध्यता के छ भने क्रान्ति भएरै छाड्छ । पुरानोको ध्वंशसंगै नयाँको निर्माण भइरहेको हुन्छ ।
दास युगलाई सामन्ती युगले ढालिदियो, सामन्ती युगलाई पुँजीवादी युगले ढालिदियो र आज पुँजीवादलाई समाजवादले ढाल्दैछ । इतिहासको यो प्रवाहलाई कसैले रोक्न सक्दैन । त्यो रोकेर रुक्दैन किनकी हजारौं शहिद तथा बेपत्ता योद्धाहरु र कारावासका हजारौं रमेश गुरगाईँहरुको योगदानमा उभिएको समाजवाद उन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रको जगमा वर्तमान उभिएको छ ।
प्रगतिवादी र बिद्रोही चेतनाका एक अथक योद्धा लेखक रमेश गुरागाईँले कारावास पुस्तक समाजलाई दिएर एकातिर क्रान्तिको ज्वाला उमार्दछन् भने अर्को तर्फ सुन्दर समुन्नत शान्त र स्वतन्त्र भविष्यको छितिज उघार्दछन् । झापाको दमक स्थायी ठेगाना भएका लेखक नेकपा माओवादी केन्द्रका युवा नेता समेत हुन् ।