Kanakai Online

हात्तीपाइले विरुद्धको औषधि सेवन अभियान चैत २० गतेदेखि


शनिवार, चैत १४, २०७७ |

झापा,चैत १४-हात्तीपाइले रोग विरुद्धको औषधि सेवन अभियान यही चैत २० गतेदेखि सुरु गरिने भएको छ ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पत्रकार सम्मेलन गर्दै हात्तीपाइले रोग निवारणका लागि राष्ट्रिय आम औषधि सेवन कार्यक्रम यो वर्ष १२ जिल्लामा खुवाइने बताएको छ ।

झापा, धनकुटा, धनकुटा, मोरङ, बारा, लमजुङ, पर्वत, बागलुङ, कपिलवस्तु, दाङ, बाँके, बर्दिया र कैलाली गरी १२ जिल्लामा आम औषधि सेवन गराइँदैछ ।अभियानमा ५४०० जना स्वास्थ्यकर्मीहरू तथा ९५०० जना महिला स्वास्थ्य स्व्यंसेविकाहरु परिचालित हुँदैछन् । ७० लाख ४५ हजार जनसंख्या लक्षित गरी १२ जिल्लामा औषधि अभियान सञ्चालन हुन लागेको हो ।

महाशाखाका निर्देशक डा कृष्ण पौडेलले औषधिप्रति गलत धारणाले अभियान पूर्ण रुपले विस्तार गर्न चुनौती भएको बताए । उनले आम औषधि सेवन अभियान र बिरामी नक्सांकन तथा व्यवस्थापनमा १८ करोड ६१ लाख ५० हजार बजेट बिनियोजन गरिएको जानकारी गराए ।

हात्तीपाइले रोग कस्तो हो ?

हात्तीपाइले रोग मानिसलाई नराम्रो गरी शारीरिक रूपमा अशक्त, असमर्थ तथा अपांग बनाउने एक सरुवा रोग हो । यो रोग एक प्रकारको मसिनो धागो आकारको जुका जस्तै परजीविले गराउदँछ । यो रोग संक्रमित पोथी लामखुट्टेको टोकाइबाट सर्ने गर्दछ। मानिसको शरीरमा यो परजीवि प्रवेश गरेको केही वर्ष पछि मात्र यस रोगका लक्षणहरू देखिने हुन्छ र यस रोगको लक्षण देखिसकेपछि निकी पार्न सकिँदैन ।

हात्तीपाइले रोगको परजीवि मुक्त हुन के गर्ने ?

नेपाल सरकारले रोग प्रभावित जिल्लाहरूमा प्रत्येक वर्ष सञ्चालन गर्ने आम औषधि सेवन कार्यक्रममा सहभागी भइ वर्षको एकपटक लगातार ६ वर्षसम्म हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्नुपर्छ ।

हात्तीपाइले रोग विरुद्धको औषधि क–कसले सेवन गर्नुपर्दछ ? कसले हुँदैन ?

आम औषधि सेवन कार्यक्रम सञ्चालन हुने जिल्लाहरूमा बसोबास गर्ने औषधि सेवन गर्न योग्य सबै व्यक्तिले यो औषधि सेवन गर्नुपर्दछ ।दुई वर्ष उमेर पुगेका बालबालिका, गर्भवती र सात दिन सम्मका सुत्केरी तथा सिकिस्त बिरामीहरुले यो औषधि सेवन गर्नु हुँदैन ।

हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गर्दा ध्यान दिनुपर्ने केही कुराहरू के छन् ?

यो औषधि खाली पेटमा खानुहुँदैन । शरीरमा हात्तीपाइले रोगको परजीवी भएका व्यक्तिहरुमा हात्तीपाइले रोग विरुद्धको औषधि सेवन गरेपछि सामान्य खालको टाउको दुखाइ, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुनसक्छ । यदि त्यसो भएमा औषधिले प्रभावकारी काम गर्दछ भने बुझ्नु पर्दछ । ती लक्षणहरु केही घण्टाभित्रमा आफै हराएर जाने हुन्छ । केही गरी ती लक्षण लामो समयसम्म रहिरहेमा नजिरको स्वास्थ्य संस्थामा आवश्यक सल्लाह र उपचारका लागि सम्पर्क गर्नुपर्दछ ।कान्तिपुर बाट

सम्बन्धित खबर