Kanakai Online

स्वरोजगार बनाउन सिम्रिकद्वारा शेयर सदस्यलाई तालिम


सोमवार, चैत २, २०७७ |

बिर्तामोड , चैत २ । बिर्तामोड–४ मा रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्था शिक्षा तथा तालिम उपसमितिको आयोजनामा भएको उन्नत जातका बाख्रापालन तथा व्यवसायिक मौरीपालन सम्बन्धी सिपमूलक तालिम सम्पन्न भएको छ ।

कृषि व्यवसायमा संलग्न संस्थाका शेयर सदस्यहरुका लागि भएको तालिममा संस्थाको कार्यक्षेत्रका सबै सेवाकेन्द्रबाट छानिएर आएका तीन–तीन जना शेयर सदस्य गरी ६५ जनाभन्दा बढीको सहभागिता रहेको थियो ।उन्नत जातका बाख्रापालन सम्बन्धी तालिमको सहजीकरण प्रगति बोयर बाख्रापालन फर्म हल्दिबारी–१ गोलधापका सञ्चालक गणेश पराजुलीले गरेका थिए भने र व्यवसायिक मौरीपालन सम्बन्धी तालिमको सहजीकरण सतासी महिला मौरीपालन सहकारी संस्था दूधेकी अध्यक्ष धनमाया थापा र व्यवस्थापक देवीमाया ओली दाहालले गरेका थिए ।

उन्नत जातका बाख्रापालन तालिमका सहजकर्ता पराजुलीले तालिममा सहभागीलाई  बाख्राको खोर व्यवस्थापन कसरी गर्ने, गुणस्तरीय दानाको उत्पादन, व्यवस्थापन तथा खुवाउने तरिका बारे जानकारी गराएका थिए भने सहभागीलाई प्रगति बोयर फर्मको स्थलगत अवलोकन भ्रमण गराएर त्यस सम्बन्धी प्रत्यक्ष जानकारी गराएका थिए ।

त्यसैगरी व्यवसायिक मौरीपालन सम्बन्धी तालिमका सहजकर्ता थापा र दाहालले मौरीको रहनसहन, हावापानी, घारको व्यवस्थापन, मौरी समात्ने तरिका, मौरीलाई रत्याउने तरिका, घारभित्र राख्ने प्रक्रिया लगायतका बारेमा जानकारी गराउनुका साथै सतासी महिला मौरीपालन सहकारी संस्था शिवसताक्षी दूधेको स्थलगत अवलोकन गराएर त्यस सम्वन्धी प्रत्यक्ष जानकारी गराएका थिए ।

संस्थाको शिक्षा तथा तालिम उपसमितिका संयोजक मेहरमान बिष्टको अध्यक्षता तथा संस्थाका अध्यक्ष सुवास भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।कार्यक्रममा प्रमुख अतिथि भट्टराईले संस्थाका शेयर सदस्यहरुलाई उन्नत जातका बाख्रा तथा व्यवसायिक मौरीपालन सम्बन्धी सिपमूलक तालिम प्रदान गरेर स्वरोजगार बनाउने उद्देश्यले तालिम प्रदान गरेको बताए ।

कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले सिम्रिक साकोसको वर्तमान वित्तीय स्थिति एवम् सदस्य र सेवाकेन्द्रहरु बारे जानकारी गराएका थिए ।उनले तालिम आयोजना गर्नुको औचित्य प्रष्ट्याउँदै सबै सेवाकेन्द्रबाट छानिएर आएका संस्थाका सदस्यहरुले तालिम पछि बाख्रापालन वा मौरीपालन गर्न व्यवसाय गर्न चाहे संस्थाले आवश्यकता अनुसार कर्जा उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

सिम्रिकको लक्ष्य आफ्ना सबै सदस्यहरु व्यवसायी बनुन् भन्ने रहेकाले  कृषि व्यवसायको माध्यमबाट आर्थिक अवस्थामा सुधार गर्न सकिने गरी व्यवसाय गर्न कार्यकारी प्रमुख बस्नेतले सहभागीहरुलाई आग्रह गरे ।कार्यक्रममा प्रशिक्षक पराजुली, थापा र दाहालले आफ्नो अनुभवबारे समेत सहभागीलाई जानकारी गराएका थिए भने सहभागीको तर्फबाट विनिता सापकोटा लगायतले तालिम फलदायी भएको र आफूहरुलाई बाख्रापालन र मौरीलापन गर्न तालिमबाट प्राप्त ज्ञानले सहजता दिने बताएका थिए ।

तालिमका सहभागीलाई प्रमाणपत्र र प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गरिएको कार्यक्रमको सञ्चालन तालिम विभाग प्रमुख प्रेम बस्नेत (विजय)ले गरेका थिए ।

सम्बन्धित खबर