अर्जुनकुमार मैनाली चिनाई राख्नुपर्ने नाम होइन युवा व्यवसायी बीच लोकप्रिय नाम भित्र पर्ने नाम हो ।हल्दिबारी-३ मा रहेको कावेली सिमेन्ट उद्योग,बिर्तामोड-२ मा रहेको पाथिभरा स्टिल इन्डस्टृज,ओमकार कंक्रीट रेडिमिक्स,ओम काष्टिङ उद्योग,बि एण्ड बि हार्ड वेयर लगायतका व्यवसायमा आवद्द मैनाली नेपाल उद्योग परिसंघका सदस्य तथा डायनमिक क्लब झापाका अध्यक्ष समेत हुनुहुन्छ।मैनाली संग कनकाई साप्ताहिक/कनकाई अनलाइनका सम्पादक केशब चापागाईंले गरेको कुराकानीको सारांश यसप्रकार रहेको छ।
१.बिर्तामोड उद्योग वाणिज्य संघको आसन्न निर्वाचनमा तपाईले महा-सचिव पदका लागीउम्मेदवारी दिनु भएको छ । तपाईको उम्मेदवारी किन ?
-सेवा गर्न उम्मेदवारी दिएको हुँ । पदमा पुगेपछि त्यस संस्थाका सदस्यहरुको हकहितको लागि लड्ने हो । समस्या हल गर्ने र संस्थाको विकासमा नै लाग्ने हो । सबैभन्दा महत्वपूर्ण कुरा सेवा गरौ भनेर नै अगाडी बढेको छु ।सबै व्यवसायी साथीहरुको पीडा, दुःख र भावना बुझेको छु र आफ्नो क्षमता र योग्यता कै कारण उम्मेदवारी दिएको हुँ ।निजी व्यवसायबाट धेरै अनुभव बटुलिसकेको छु।मैले त्यो पदलाई न्याय गर्न सक्छु भनेर नै उम्मेद्वारी दिएको हो । मेरो कुनै व्यक्तिगत स्वार्थ पुरा गर्न जाने होइन, त्यहाँ सेवा गर्न जाने हो । निजि क्षेत्रका व्यवसायीहरुको हकहितका लागि काम गर्नलाई मैले उम्मेद्वारी दिएको हो । मलाई आम व्यवसायीहरुले पक्कै मौका र अवसर दिनु हुने उच्च मनोबलका साथ विश्वास लिएको छु ।
वाणिज्य संघ आफैंमा निजि क्षेत्रको सबैभन्दा ठुलो व्यवसायिक संगठन हो । यसमा धेरै व्यवसायीहरु आबद्ध हुनुभएको छ ।हजारौं सदस्य हुनुहुन्छ । यसमा ठुला उद्योगी व्यवसायी देखि साना मझौला व्यवसायीहरु जोडिनु भएको छ र सबैको हकहितका लागि काम गर्ने साझा उदेश्य हो ।यि र यस्ता कुराहरुलाई अगाडी लैजान मैले उम्मेदवारी दिएको हुँ ।
अर्को कुरा चुनाव प्रजातान्त्रिक प्रकृया हो । चुनाव एक दिनका लागि हो । चुनाव सम्पन्न भएपछि जित्ने उम्मेदवारहरु एक ठाउँमा आएर सबै व्यवसायीको हकहितमा काम गर्न एकै कार्यसमितिमा बसेर एक ढिक्का भएर नै काम गर्नुपर्छ भन्ने कुरा नै मुख्य हो ।
२. तपाईको निर्वाचनमा जित्ने आधार र आत्मविश्वास के के छ त ?
-अत्यन्तै राम्रो प्रश्न सोध्नु भयो । हेर्नुहोस् चुनावमा हारजित पक्कै हुन्छ । मलाई त चुनावमा हार्नु भन्दा पनि जित्नुको चाहि डर छ । हा¥यो भने आफ्नै व्यवसाय मात्रै हेर्ने हो । जित्यो भने त आम उद्योगी व्यवसायीहरुको हकहितको लागि महंगो समय दिनु पर्दछ । यो अत्यन्तै चुनौतीपूर्ण छ । तर, यो गर्न म तयार छु ।
किनभने म संग व्यवसाहिक क्षेत्रमा काम गरेको उच्च मनोबल र अनुभव छ । त्यसकारण यो पदमा म नै हुनुपर्दछ भन्ने छैन योग्य र सक्षम व्यक्ति त्यो पदमा पुग्नु पर्दछ भन्ने मेरो भनाई हो ।
एउटा टिम सहितको नेतृत्व चाहिन्छ जो आफ्नो स्वार्थ भन्दा माथी उठेर निजी क्षेत्रको समस्या र मुलुकको अर्थतन्त्र बलियो बनाउनु लाग्नु पर्दछ ।
३.अब मलाई भनिदिनुहोस् तपाईका चुनाबी एजेन्डा के के छन् र तपाईलाई अर्को टिमको मत आउने देख्नु भएको छ त ?
-हाम्रो एजेण्डा के छ भने हामी कोरोना महामारी बीच छौं । इतिहासमै अहिले चुनौती पूर्ण अवस्थामा छ । भन्दा फरक पर्दैन । अर्थतन्त्र धरासायी भएको अवस्थामा पुगेको छ । अर्थतन्त्रलाई समयमै जोगाउन हामी अगाडी बढ्नु पर्दछ । १÷२ वर्षमा धरासायी भएको अर्थतन्त्र ट्याकमा ल्याउनु जरुरी छ र हामी आत्मनिर्भरता हुनुप¥यो । मौद्रिक नीति कार्यन्वयन गराउन के गर्ने हो, रोजगारी सृजना कसरी गर्ने हो ।उद्यमशीलता कसरी जोगाउने हो ।
अर्को कुरा नेपाल सरकारको नीति र राष्ट्र बैंकको मौद्रिक नीतिलाई नजिकबाट नियालेर व्यवसायीको हकहित गर्ने काम यो हाम्रो टिमले गर्ने छ । उत्पादन बढाउने र आत्मनिर्भर बन्नु पर्दछ । अर्को उर्जा हो र अर्को चाहि पूर्वाधारको विकास नै हो । १० वर्षमा के के सीप चाहिन्छ । कस्तो तालिम दिने, अर्को डिजिटल अर्थतन्त्र कसरी गर्ने भन्ने छ । यो टिम किन बनेको भन्दा हाम्रो सोच विचार र उद्देश्य मिलेर नै टिम बनेको हो । यो राजनितीक होइन । व्यवसायीहरु बीचको प्रतिस्पर्धा हो ।
हाम्रो टिमले १० वर्षको अर्थतन्त्रको रोडम्याप बनाएका छौं । १० वर्षमा कहाँ पुग्ने हो निजी क्षेत्रको एजेण्डा भने आर्थिक विकास नै हो । यो रोडम्यापलाई सफल गर्न नै हामी अगाडी बढेका छौं । अर्थतन्त्रको ग्रोथलाई डब्बल डिजिक्टमा लैजाने, लगानी बढाउने, रोजगारी बढाउने हाम्रा योजना छन् । त्यसकारण हरेक वर्ष रोजगारी दिने हाम्रो योजना छ । हामी कुरा होइन काम गरेर देखाउने छौं ।
४.अर्को महत्वपूर्ण कुरा के छ भने अहिले मुलुक कोरोना महामारी बीचमा छ । आम उद्योगी व्यवसायी पीडा र दुखमा छन् भन्दा फरक पर्दैन यो बेला आम उद्योगी व्यवसायीहरुको छाता संस्था उद्योग वाणिज्य संघको निर्वाचन हुँदैछ ती हजारौं व्यवसायीहरुको समस्यालाई चाहि तपाईले कसरी दिनु भएको छ त ?
-इतिहासकै चुनौतीपूर्ण अवस्थामा हामी छौं । यसकारण एक जुटभएर निस्कनु पर्ने बेला पक्कै आएको छ तपाईले भने जस्तै ४ हजार भन्दा बढी सदस्य भएको संस्था, सञ्जाल ठूलो छ। त्यसकारण अर्थतन्त्रलाई कोरोना भाइरसबाट बचाउँदै मिलेर सबै निजी क्षेत्रका व्यवसायी एक भएर अगाडी लैजानु पर्दछ । त्यसकारण अहिले आम व्यवसायीहरुले चुन्ने नेतृत्व सहि र सक्षम नेतृत्व हुनुपर्दछ । त्यसकैलागि महा-सचिव पदमा उम्मेदवारी दिएको हुँ ।
कुरा जसले पनि गर्दछ तर, काम गर्न सक्नुप¥यो । मैले निजी क्षेत्रका थुप्रै व्यवसायमा काम गरेको छु । त्यसकारण त्यसको मुल्याङ्कन आम मतदाता साथीहरुले गर्नुहुनेछ । म मात्रै होइन मेरो टिम छ । सबै रियल व्यवसायी साथीहरु हुनुहुन्छ । त्यो टिमले नै देखाएको छ । त्यसकारण हाम्रो टिमले विजय हासिल गर्ने कुरामा म ढुक्क छु । साना उद्योगी देखी ठूला उद्योग व्यवसायी साथीहरुको टिम हामीसंग छ । फरक÷फरक उद्योगीहरुको टिम हामीसंग छ ।
५.४६०० सदस्य रहेको बिर्तामोड वाणिज्य संघमा तपाई महा-सचिवमा चुनाव लड्दै हुनुहुन्छ भोलि चुनावबाट विजय भएपछि चाहि कसरी अगाडी बढ्ने योजना छ त ?
-व्यवसायीहरुलाई भेला गरि उहाँका सुझाव लिने र समस्या समाधान गर्ने मेरो पहिलो काम हुनेछ । अर्को विभिन्न समिति बनाएर हामी काम गर्नेछौं । सबै साना मझौला र ठूला उद्योगका समस्या समाधानमा हामी लाग्ने छौं अर्को सरकार नीतिहरुमा कहाँ कसरी लड्ने हो । त्यसमा पनि ध्यान दिनु पर्दछ । र कोरोना महामारीले थलिएको अर्थतन्त्रलाई जोगाउने र सहि ट्याकमा ल्याउन हामी लागि पर्ने छौं ।
अर्को कुरा महा-सचिव भएपछि सर्वप्रथम त म कार्यसमितिको पदाधिकारी भएर नै काम गर्ने एजेन्डा छ । कार्यसमितिमा रहेर नेतृत्वलाई साथ दिएर आफ्नो जिम्मेवारी पुरा गर्ने मेरो योजना छ । सबैको आ आफ्ना समस्या हुन्छन । कम्तिमा महिनामा एक पटक सम्बन्धित सदस्यहरुबीच सम्बाद गर्ने लक्ष्य लिएको छु । जहाँ जहाँ उद्योग छन् त्यहाँको समस्या बुझेर समाधान खोज्न हामी लागिपर्छौँ नि ।
६. तपाईं विभिन्न व्यवसायमा आवद्द व्यक्ति बिर्तामोड उद्योग वाणिज्य संघलाई नजिकबाट नियालेका युवा व्यवसायी तपाईले चुनाव जित्ने कुरामा कति विश्वस्त हुनुहुन्छ त ?
-चुनावमा हार्न कसैले पनि उम्मेदवारी त दिदैन जित्नकै लागि दिने हो । त्यसकारण मेरो विजय सुनिश्चित नै छ ।हल्दिबारी-३ मा रहेको कावेली सिमेन्ट उद्योग,बिर्तामोड-२ मा रहेको पाथिभरा स्टिल इन्डस्टृज,ओमकार कंक्रीट रेडिमिक्स,ओम काष्टिङ उद्योग,बि एण्ड बि हार्ड वेयर लगायतका व्यवसायमा आवद्द साथै नेपाल उद्योग परिसंघको सदस्य तथा डायनमिक क्लब झापाका अध्यक्ष समेतमा काम गर्दै आएको छु र मैले यी क्षेत्रका समस्या भित्रीरुपमा बुझेको पनि छु र मलाई सबै ४६०० सदस्यबाट भोट आउनेछ ।
उहाँहरुको समस्या समाधान गर्न नै मैले महा-सचिव पदमा उम्मेदवारी दिएको हुँ । त्यसकारण उहाँहरुले सहयोग र समर्थन गरि मलाई विजय गराउनु हुने विश्वास छ । म मात्रै होइन मेरो टिमलाई नै उहाँहरुले जिताउनु हुन्छ ।हाम्रो टिममा सबैको विजय सुनिश्चित छ । टिम भए मात्र आम व्यवसायीका समस्या समाधान गर्न सजिलो हुने छ नि ।
७.अन्त्यमा आम उद्योगी व्यवसायी र तपाईका मतदातालाई चाहि के भन्नु हुन्छ ?
-अहिले सबै व्यवसायीमा चुनौती बढेको छ । तरपनि हामी एकजुट भएर अगाडी बढ्यो भने हामी मुक्त हुनेछौं । देशलाई आर्थिक समृद्ध गराउदै शान्त र समृद्ध नेपाल निर्माण गर्न हामी सफल हुनेछौं । हामी सबै व्यवसायी त्यसका लागि एक जुट हुनुपर्दछ । चुनाव एउटा प्रक्रिया मात्र हो । हामी उद्योगी व्यवसायीले सुरक्षा र सम्मान पाउनु पर्दछ । यसमा समस्या छ । यसका लागि हामी सरकारसंग लड्नु पर्ने आजको मुख्य समस्या हो । त्यसकारण सक्षम अनुभवी खारिएका व्यवसायी रहेको हाम्रो टिमलाई मतदान गर्न म सबै साथीहरुलाई आग्रह गर्दछु ।


