शरणामती,फागुन १।नेपाल रेडक्रस सोसाईटी शरणामती उपशाखा झापा गाउँपालिका-६ ले दुई वर्ष भित्रै नयाँ एम्बुलेन्स सहित पिडितलाई राहत समेत वितरण गरेर नयाँ ईतिहास कायम गरेको छ।शनिबार शरणामतीले ७ औं वार्षीक उपशाखा सभाको आयोजना गरि उक्त कुराको जानकारी दिएको हो।
शरणामती उपशाखाले जिर्ण भएको एम्बुलेन्स कवाडीमा बेचेर कार्यकालको एक वर्ष भित्रै प्रबासी झापाली अमेरिकन समाज एवम अन्तरास्ट्रिय झापाली समाज र झापा गाउँपालिका तथा मानविय उद्वार समितिको आर्थिक सहयोगमा नयाँ एम्बुलेन्स खरिद गर्न सफल भएको सभापती केशब बजगाईंले बताउनु भयो।उहाँले झापा गाउँपालिकाबाट साथै कार्यसमितिका पदाधिकारी बाट आर्थिक संकलन गरि एम्बुलेन्स राख्ने टहरो समेत बनाएको बताउनु भयो।बजगाईले आफ्नो कार्यकालमा देउसी भैलो खेलेर १ लाख ८० हजार विपद कोषमा जम्मा गरेको बताउनु भयो।
त्यस्तै उपशाखाले दुई वर्ष भित्र दुई पटक रक्तदान कार्यक्रम गरेको छ।विभिन्न पिडामा परेका २४ जनालाई राहत,आर्थिक सहयोग र स्वास्थ्य उपचारमा सहयोग गरेको छ।कोरोना संक्रमणमा समेत अग्रपंक्तिमा रहेर सहयोग गरेको उल्लेख गर्दै जनता मावी क्वारेन्टिन व्यवस्थापनमा २ लाख ५० हजार रुपैयाँ बराबरको भौतिक संरचना निर्माणका लागि सहजीकरण गरेको बजगाईंले जानकारी दिनुभयो।
उपशाखाको चालू अवधीमा ४ लाख ५४ हजार ९७४ रुपैयाँ नगद मौजाद रहेको लेखा समिती संयोजक मोहन मिश्रले बताउनु भयो।उहाँले रेडक्रस स्थिर सम्पती ११ लाख १८ हजार २४७ रुपैयाँको रहेको बताउनु भयो।
उपशाखाका भुपू सभापती टिकाप्रसाद कट्टेलले वि.सं-२०६२ सालमा स्थापना भएको उपशाखाले विभिन्न काल खण्डबाट गुज्रेर आफ्नो कार्यकालमा भवन समेत निर्माण गरिएको बताउनु भयो।
उपशाखाले सातौँ वार्षिक साधारण सभाको उपलक्ष्यमा रेडक्रसलाई योगदान पुर्याउने ७ जनालाई सम्मान समेत गरेको छ।सम्मान पाउनेहरुमा गोपाल प्रसाईं,पार्वती भट्टराई,गाउँपालिका अध्यक्ष जयनारायण शाह,उपाध्यक्ष कुन्तीदेवी बुढाथोकी,रेवती शिवाकोटी,विभिन्न संस्थाका प्रतिनिधी दिनेश पोखरेल र बिष्णु बिमली रहेका छन।