Kanakai Online

सरकारी घर रित्तै-मिलन बस्तीका सन्थाल भन्छन यो गरिबका लागि बनाएको हैन रहेछ,नभए हामीभन्दा गरिब को होला


मङ्गलवार, माघ २७, २०७७ |

झापा,माघ २७ ।झापा गाउँपालिका– १ मिलन बस्तीका सुकुम्बासी पृथी हस्दाको घर गत बर्खामा आएको बाढीले छियाछिया बनाएको छ । प्रत्येक वर्ष कन्काइमाईको बाढी खप्दै आएको घरले गत बर्खाको बाढी भने धान्न सकेन । घर लड्नै लागेको छ । बेरा भत्किएको छ । भत्किन बाँकी बेरा पनि चिराचिरा छ ।

थोत्रो जस्ताले छाएको घरमा छानोबाट रातभर शीत झर्छ । भत्किएको बेराबाट उस्तै सिरेटो आउँछ । तैपनि त्यहीँ बस्नुपर्ने उनको बाध्यता छ । आउँदो बर्खामा आउने बाढी उनको घरले पक्कै धान्दैन । दैनिक ज्याला मजदुरी गरेर परिवार पाल्ने सुकुम्बासी हस्दाले घर बनाउन सकेका छैनन् । ‘प्रत्येक वर्ष बाढी पस्छ, बर्खाको तीन महिना त घरमा वास हुँदैन । स्कुलतिर लगेर केटाकेटीलाई राख्नुपर्छ,’ उनी भन्छन्, ‘गत बर्खामा आएको बाढीले घर लडाउनै लागेको छ । बनाउने पैसा छैन । यस्तैमा बस्दै आएको छु ।’ 

हिउँदमा बाढी आउँदैन । तर, उनले ढुक्क मन गरेर घरमा बस्न सकेका छैनन् । ‘घर यस्तो छ । चिसो उस्तै हुन्छ । छोराछोरीनजिकै सालोको घरमा सुत्न जान्छन् । बुढाबुढी यहीँ डराई–डराई सुत्छौँ,’ उनले दुःख पोखे, ‘एकातिर रातभरमा घर भत्किएर मरिने हो कि भन्ने चिन्ता, अर्कोतिर कठ्यांग्रिँदो चिसोले ज्यान लिने डर छ ।’ 
ऐलानी जमिनमा रहेका उनीसहित ८२ सन्थाल परिवार कन्काइमाई नदीबाट विस्थापित छन् । राम्रो घर मात्र भए पनि दैनिक मजदुरी गरेर सहजै जीवन चलाउन सकिने हस्दा बताउँछन् । ‘घर मात्र भए त खान त जसरी पनि खाइन्थ्यो,’ उनी भन्छन्, ‘दह्रो घरमा बस्न पाए त एकछाक मात्र खाँदा पनि राम्रो निद्रा लाग्ने थियो ।’ 

 गाउँपालिकाले बनाएको घर रित्तै
बर्सेनि माई नदीले दुःख दिने मिलन बस्तीदेखि करिब डेढ किलोमिटर उत्तर झापा– २ मा गाउँपालिकाले तराई मधेस समृद्ध कार्यक्रमको ७६ लाख बजेट खर्चिएर विपन्न सन्थाल समुदायका नागरिकका लागि एकीकृत बस्ती बनाएको छ । तर, विपन्न नागरिकले त्यहाँ बस्न पाएका छैनन् । बाढीले विस्थापित हुँदा गाउँपालिकाले विपन्न नागरिकलाई विद्यालयमा राख्ने गरेको छ । राज्यले उनीहरूकै लागि भनेर बनाइदिएको एकीकृत बस्तीमा उनीहरूलाई टेक्न मनाही छ । 

पछिल्लोपटक बाढीले विस्थापित हुँदा केही परिवार त्यहाँ गएर बसेका थिए । तर, कब्जा गर्ने डरले गाउँपालिकाले उनीहरूलाई खेदायो । ती घर कोरोना संक्रमित राख्न आइसोलेसनका रूपमा प्रयोग गर्‍यो । अहिले आइसोलेसन हटिसकेको छ । विपन्नका लागि बनाइएका घर खाली छन् । तर, नगरपालिकाले विपन्नलाई त्यहाँ बस्न दिएको छैन । आफ्नै लागि बनाइएका सुविधासम्पन्न घर खाली भए पनि विपन्न नागरिक भने भत्किएको घरमा मध्य माघको चिसो छिचोल्दै छन् ।

‘गाउँपालिकाले सुकुम्बासीका लागि भनेर बनाएका २० वटा अहिले खाली छन्, तर हामीलाई बस्न दिइएको छैन । बर्खा लागेपछि आकाश कालो हुनेबित्तिकै रातभर सुत्न सक्दैनौँ । मोबाइलमा बाढीको म्यासेज कतिवेला आउँछ भनेर हेरेर बस्छौँ,’ मिलन बस्तीका सुकुम्बासी सोनीलाल सोरेन भन्छन्, ‘सरकारले त्यो घर दिए हामीलाई ढुक्क हुन्थ्यो ।’

झापा गाउँपालिकाले वडा नम्बर २ मा सन्थालका समुदायका लागि बनाएको एकीकृत बस्ती ।

टिनमा पर्दा लगाएर शीत छेक्दै
सोनीलालको घर पनि यो आउने वर्षको बाढीले थाम्ने अवस्था छैन । फुसको छानो भएको उनको घर लड्नै लागेको छ । ‘खेतीबाली राम्रो नहुँदा एक–दुई वर्षदेखि खानै समस्या छ । यसपालि त बस्न पनि नदिएलाजस्तो छ । घरनजिकै माई नदी आएको छ । यसपालि त घर लान्छ नै । आफ्नो भन्ने कतै केही छैन,’ उनी भन्छन्, ‘घर सबै भत्किएको छ । रातभर शीत चुहिन्छ । सुत्न गाह्रो हुन्छ । टिनमा पर्दा लगाएर शीत छेक्छौँ ।’

मिलन बस्तीकै मुङ्ली सोरेनको बाँसको टाटीको बेरा र फुसको छानो भएको सानो घर भत्कनै लागेको छ । उनीसँग घर बनाउने पैसा छैन । गाउँपालिकाले बनाएको घर पाइन्छ कि भन्ने आशाले बसेकी मुङ्ली निराश भएकी छिन् । ‘माथिल्लो गाउँका केही दिन बसे । उनीहरूलाई खेदाएर क्वारेन्टिन बनायो । अहिले त ती घर पनि खाली छन् । यो गरिबका लागि बनाएको हैन रहेछ । नभए हामीभन्दा गरिब को होला ?’ उनी भन्छिन्, ‘यो त नेताका आफ्ना मान्छे राख्न बनाएको जस्तो लाग्छ । हामीलाई बनाएको भए त दिइसक्थे ।’

यसअघि बसेकालाई गाउँपालिकाले हटाएकाले सन्थालहरू उक्त एकीकृत बस्तीमा जान संकोच मानिरहेका छन् । फेरि पनि खेदाउँछ कि भन्ने त्रास छ, सन्थाललाई । ‘अरूलाई त खेदायो । फेरि त्यहाँ हामी जाँदा त्यस्तै ग¥यो भने ?’ सोरेन भन्छिन्, ‘त्यहाँ घर दिएपछि यहाँको घर पनि छाडिएला, मान्छे नबसेपछि सबै भत्कन्छ । अनि त्यहाँबाट खेदायो भने कहाँ जाने ?’

मिलन बस्तीका सन्थाल आउन मान्दैनन् : गाउँपालिका अध्यक्ष
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहका अनुसार सन्थालका लागि बनाइएको एकीकृत बस्ती ०७६ असारमै सम्पन्न भएको हो । तर, १९ महिनासम्म विपन्न सन्थालले बस्न पाएका छैनन् । बाढीबाट विस्थापित भएका केहीले बस्ने मौका पाए पनि पछि आइसोलेसन सेन्टर बनाउने भन्दै गाउँपालिकाले उनीहरूलाई निकालेको थियो । 

गाउँपालिका अध्यक्ष साहले बाध्यता परेर आइसोलेसन सेन्टर राख्नुपरेको बताए । ‘बाध्यता परेर आइसोलेसन बनाएका थियौँ । अहिले हटाएर आइसोलेसन अन्तै राखेका छौँ,’ उनी भन्छन्, ‘अब माघभित्रै त्यहाँ मान्छे राख्छौँ । त्यसका लागि निवेदन आएको छ । चाँडै छनोट गर्छौँ ।’ तर, मिलन बस्तीका सुकुम्बासीले भने नमुना बस्तीमा आउन नमानेको अध्यक्ष साहको दाबी छ । ‘उनीहरूको त्यहाँ खेतबारी छ । छाडेर आउन मान्दैनन्,’ उनले भने, ‘त्यो ठाउँमा तठबन्धन गरेर सुरक्षित गर्ने योजना छ । उनीहरूलाई हामी त्यहीँ सुरक्षित राख्छौँ ।’नयाँ पत्रीकामा खबर छ ।

सम्बन्धित खबर