Kanakai Online

गणेश बाबु व्यक्ति एक व्यक्तित्व अनेक


बुधवार, पौष २२, २०७७ |

कोमलप्रसाद पोखरेल

वि.सं.१९९२ वैशाख ८ गतेका खोटाङ जिल्लाको खार्पा कल्यारी गाउँमा पिता रामनाथ र माता बछलादेवीका प्रथम पुत्ररत्नका रूपमा जन्मिनुभएका स्वनामधन्य गणेशप्रसाद पोखरेल (गणेश बाबु) २०१६ सालदेखि झापा जिल्ला अन्तर्गत साविक सुरुङ्गा गा.वि.स..वार्ड नं.१ र हालको कनपा १ लाई कर्मथलो बनाई सोही स्थानमा आना ८६ वसन्त व्यतीत गरी २०७७ साल पौष १५ गते यस धराधामबाट परमधामतर्पm गमन गर्नुभएको छ । उहाँ यस क्षेत्रका हामी सबैका अभिभावक हुनुहुन्थ्यो । जन्म र मृत्यु एउटै सिक्काका दुई पाटा हुन् । जन्मिनु र मर्नु अकाट्य प्राकृतिक नियम हो । यो थाहा हुँदाहुँदै पनि हामी शोकसागरमा डुब्छौं र क्रमसः बिर्संदैजान्छौं पनि । गणेश बाबु जस्ता व्यक्तित्वको क्षतिपूर्तिका निमित्त समाजलाई अर्को गणेश बाबु नै चाहिन्छ, तर यो सम्भव पनि छैन ।
मानिस जीवित छँदै उसले समाज र देशका निम्ति गरेका योगदानको लेखाजोखा गरी सोको लिपिबद्ध गर्ने र त्यसलाई ऐतिहासिकता प्रदान गर्ने परिपाटिको प्रायः खडेरी नै लागेको छ हाम्रो समाजमा । यस क्षेत्रका धरोहर श्रद्धेय गणेश बाबूका बारेमा उहाँ जीवित छँदै केही लेख्नुपथ्र्याे, किन लेखिनस् † भनेर टिप्पणीकार आपैंmले आफैलाई गरेका प्रश्नको उत्तर नआएपछि गणेश बाबुप्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्र्दै उहाँका बारेमा चञ्चुप्रवेश गर्ने धृष्टता गरिेएको छ ।
स जीवति यसो यस्य कीर्तर्यस्य स जीवति,
अयशोद्रकीर्तिसंयुक्त जीवन्नपि मृतोपमः(नीतिवचन)
अर्थात् यश र कीर्ति जसको छ त्यो कहिल्यै पनि मर्दैन । यश पनि कमाएको छैन, कीर्ति पनि राखेको छैन भने त्यो व्यक्ति जिउँदो मृतक हो । यस नीति वचनअनुसार कीर्ति र यश दुवै कमाएका अनुकरणीय व्यक्तित्व गणेश बाबु कीर्तिगत रूपमा अजर अमर हुनुहुन्छ । विदेह अर्थात्ं निराकार हुनुभएको छ । गीताले यस कुरालाई यसरी ठोकुवा गरेको छ ः
न जायते मृयते वा कदाचि–
न्नायंं भूत्वा भविता वा न भूयः
अजो नित्यः शाश्वतोद्रयं पुराणो
न हन्यते हन्यमाने शरीरे ।

न लिन्छ यो जन्म न मृत्यु हुन्छ,
न यो थियो वा न त यो हुनेछ ।
हो यो पुरानो र अजन्म नित्य,
मर्दैन आत्मा तर देह मर्छ (सजिलो कोमलगीता २÷२०) ।
गणेश बाबुलाई हामी यसरी चिन्न सक्छौं ः

१. कर्मयोगी एवं नैष्ठिक गणेश बाबु ः
गीतामा कर्मयोगलाई सर्वश्रेष्ठ मानिएको छ । कर्मका निमित्त कर्म गर, आसक्तिरहित भएर कर्म गर, यो गीताको सन्देश हो ।
एउटा उदाहरण हेरौं ः
कर्मण्येवाधिकारस्ते मा पलेषु कदा च न,
मा कर्मफलहेतुर्भुर्मा ते सङ्गोद्रस्त्वकर्मणि (गीता २÷४७)
अर्थात्
प्रभुत्व कर्ममा हुन्छ हुदैन फल पाउन,
नबन्नू फल आसक्त, नभन्नू कर्म गर्दिन ।
कर्मयोगी व्यक्तिहरू कर्मलाई भित्रैदेखि मन पराएर कर्म गर्छन्, तर फलको आशा गर्दैनन् । कर्मयोगी कर्मको त्याग गर्दैनन्, परन्तु कर्मफलको त्याग गर्छन् । उनीहरू कर्म गर्दा किञ्चित् दुःख मान्दैनन्, अर्थात् दुःखबाट मुक्त हुन्छन् । कर्मयोगीले सधैं अरुलाई केही न केही दिन्छन्, तर अरुबाट पाउँने कुराको चिन्ता गर्दैनन् । गीतामा भनिएका माथिका सबै कुरा गणेश बाबुका क्रियाकलापसँग मिल्न आएका छन् । त्यसैले उहाँलाई अनवरत कर्म गरिरहने कर्मयोगीमध्येका सशक्त कर्मयोगीका रूपमा परिभाषित गर्न सकिन्छ । श्रीमद्भगवद्रगीताको अनुशीलन र अनुसरणकर्ता भएको हुनाले फले सक्तो निबध्यते, अर्थात् फलमा आसक्त हुने व्यक्ति बन्धनमा पर्छ भन्ने शिक्षा उहाँले (गीता ५÷१२ बाट) लिनुभएको हो । उहाँ आना नित्यकर्मबाट कहिल्यै विचलित हुनुभएन ।
उहाँले गर्नेगरेका केही नित्य–कर्महरू ः
दिलोज्यान दिएर उहाँले गरे–गराएका कृषिकर्म हाम्रा आँखाका अगाडि नाचिरहेका छन् । हामी छरछिमेकी मात्र होइन राजमार्गमा चल्ने गाडीमा यात्रा गर्ने हजारौं यात्रीहरू उहाँले गरेका कृषिकर्मका साक्षी छन् । नेपालका सक्रिय कृषिकर्मीहरूमध्ये गणेश बाबु पनि पर्नुहुन्छ । उहाँको अर्को नित्यकर्म हो दैनिक यथा समयमा गरिने सन्ध्या–वन्दन आदि । उहाँको यो निष्ठा आजका कथित पण्डितहरूको सतही निष्ठा भन्दा धेरै उच्च र गहन छ । त्यसैगरी उहाँको अर्काे नित्यकर्म गुरुपुरोहित मार्पmत गराइने पूजापाठ, यज्ञयागादि हुन् । गीताको सदुपदेश अनुसार नै गणेश बाबु विभिन्न धार्मिक अनुष्ठानमा संलग्न भएको हामी पाउँछौं । यज्ञ सम्बन्धमा गीताले यसो भनेको छ ः
अन्नाद्भवन्ति भूतानि पर्जन्यादन्नसम्भवः
थज्ञाद्भवति पर्जन्यो यज्ञः कर्मसमुदभवः (गीता ३÷१४)
अन्नले बन्दछन् प्राणी वर्षाले अन्न बन्दछ
कर्मले यज्ञ सम्पन्न भई वर्षा गरुाउँछ ।
यो गीतोपदेशको अनुसरण गरी वर्षमा कैयौं पटक यस्ता कर्महरू उहाँले गर्नु, गराउनु भएको कुरा यस लेखन्तेलाई पनि थाहा छ । यसो भन्दैगर्दा यहाँहरू गणेश बाबुलाई धर्मभीरू भन्ने विशेषण लगाएर गल्ती नगर्नुृ होला । उहाँका निमित्त धर्मानुयायी, धर्मज्ञ जस्ता शब्दहरू उपयुक्त हुन्छन् ।

२. ज्ञानका भण्डार गणेश बाबु
धर्मशास्त्र, नीतिशास्त्र, भुगोल, इतिहास, वेद, पुराण आदिको विषद अध्ययन गर्नु उहाँको अर्को नित्यकर्म हो । गणेश बाबुसँग यस टिप्पणीकारले धैरै वर्ष सङ्गत गर्ने सौभाग्य पाएको भएतापनि उहाँभित्र बगेको ज्ञानगङ्गाको छेउको गहिराइ सम्म पनि नाप्न सकेन यसले । अहा † कुनै औपचारिक शिक्षा प्राप्त नगरेका व्यक्तिमा यस्तो ज्ञान † जहिले पनि स्मृतिमा गणेश बाबु आउने बित्तिकै यो लेखन्ते आपैmलाई भन्ने गर्छ, तैंले पढेर के जानिस् † अनि फेरि भन्छ, धन्य † थोरै पढेर धेरै जान्ने गणेश बाबु †
उहाँसँग गफ गर्दा धेरै पटक यो लेखन्ते तीन छक्क परेको छ । यहाँ गणेश बाबु, लेखे पनि उहाँसँग भेट्ता यसले बा भन्ने गरेको थियो । उहाँ मलाई कोही बेला कोमल बाबु भन्नुहुन्थ्यो भने कोही बेला कोमल भतिज भन्नुहुन्थ्यो । उहाँले भतिज भने पनि म बा नै भन्थें ।
अँ यो लेखन्ते तीन छक्क परेका धेरै कुरामध्ये केही यस्ता छन् —
गणेश बाबु संसारका जुनसुकै देशका बारेमा सोधे पनि तत्कालै उत्तर दिनुहुन्थ्यो । नेपालको भूगोल त उहाँलाई कन्ठै थियो । विश्वको भूगोलका बारेमा जान्ने इच्छाले एक पटक अर्जेन्टिनाका बारेमा यस लेखन्तेले उहाँलाई केही कुरा सोधेको थियो । उहाँले तुरुन्तै भन्नुभएको थियो, “कोमल बाबु † यो देश अमेरिकाको दक्षिणपूर्वमा पर्छ । यसको उत्तरमा बोलिभिया र पाराग्वे, उत्तरपूर्वमा उरुग्वे र ब्राजिल र पश्चिममा चिली पर्छ” †
कस्तो बिछट्ट ज्ञानको भण्डार हुनुहुन्थ्यो उहाँ † भूगोल मात्र होइन उहाँमा प्राय विश्व–इतिहासको ज्ञान थियो । उपर्युक्त विषयबाहेक वेद, पुराण, महाभारत जस्ता विशाल ग्रन्थहरूको पनि अध्येता हुनुहुन्थ्यो उहाँ । उहाँ बुझेर पढ्नुहुन्थ्यो र त्यो नमेटिने गरी उहाँभित्रको कम्पुटरमा सुरक्षित हुन्थ्यो । स्मृतिभ्रंश नहुनु उहाँको सबैभन्दा महŒवपूर्ण विशेषता, अर्थात् यस विशेषतालाई जन्मजात विशेषता हो भन्ने ठहर गरेको छ यस टिप्पणीकारले । यसैलाई पूर्वीय सिद्धान्तका विद्वान्हरूले प्रतिभा भनेर परिभाषित गरेका छन् । यसै प्रतिभाका कारण इतिहासकार, धर्माचार्य, भूगोलविद्, व्यासाचार्य, कानुनविद्, अर्थशास्त्री, कृषिविशेषज्ञ, शिक्षक, प्राध्यापक जस्ता विद्वान्हरूले पनि गणेश बाबुका अगाडि होस पु¥याएर बोल्नुपथ्र्यो ।

३. शिक्षासेवी गणेश बाबु
शिक्षा व्यक्तिको अन्तर्निहित क्षमता तथा उसको व्यक्तित्वको विकास गर्ने एक प्रक्रिया हो । यही प्रक्रियाले उसलाई समाजमा एक वयस्कको भूमिका निर्वाह गर्नका निमित्त सामाजिकृत गर्दछ ।
सेवा हि परमो धर्म यो सेवाको सर्वोत्तम सूत्र हो । मुखबाट खाएको ओखतीले शरीरका जुनसुकै अङ्गमा रहेको बिमार नाश भएजस्तै शिक्षा सेवाले अन्य सवै सेवाको प्रतिनिधित्व गरेको हुन्छ; किनभने शिक्षा नै विकासको मेरुदण्ड हो ।
शिक्षा सेवा गर्ने विभिन्न तरिकाहरू छन् । कसैले पढाएर शिक्षासेवा गरेको हुन्छ भने कसैले व्यवस्थापन समिति वा सञ्चालक समितिमा रहेर शिक्षा सेवा गरेको हुन्छ । त्यस्तै कसैले दान गरेर, कसैले काम गरेर त कसैले बोलेर मात्रै पनि शिक्षा सेवा गरेको हुन्छ; अर्थात् तन; मन; धन; वचन; कर्म जुनसुकै किसिमबाट शिक्षासेवा गर्न सकिन्छ । गणेश बाबुले विभिन्न तरिकाबाट शिक्षासेवा गरेर आपूmलाई शिक्षासेवी व्यक्तित्वका रूपमा प्रतिष्ठापित गर्नुभएको छ । उहाँले २०२५ सालमा कनकाई जुनियर हाइस्कूलको भवन निर्माण गर्ने कार्यमा पूर्ण रूपमा सहयोग गर्नुभएको कुरा यस लेखन्तेका स्मृतिमा जमेर रहेको छ । त्यसबेला जसोतसो काठले बारेको, टिनले छाएको भवन त बन्यो तर बस्ने बेन्चको अभावले बालुवामा गुन्द्री ओछ्याएर पढाउनुपर्ने अवस्था थियो । यो देखेर २५ जोडी सखुवाका डेक्सबेन्च प्रदान गर्नुभएको थियो गणेश बाबुले । अहिले हेर्दा यो सहयोग सानो देखिए तापनि त्यसबेलाको यो ठुलो सहयोग थियो ।
त्यसैगरी २०३३÷०३४ सालमा कनकाई मा.वि.स्वीकृत गराउने कार्यमा गणेश बाबुले गरेको योगदान महŒवपूर्ण र प्रशंंसनीय छ । त्यतिखेर ४५०००। को थैलो जुटाउने कठिन
कार्यमा अगुवाइ गर्नुभएको थियो उहाँले । सो चन्दा सहयोग जुटाउन आयोजित वृहत् भेलामा सर्वप्रथम उहाँले नै १५००÷ रुपयाँ दिने घोषणा गरी अन्य चन्दादाताका निमित्त बाटो खोलाउनु भएको थियो ।
गणेश बाबु २०३२ देखि २०४६ सम्म कनकाई माध्यमिक विद्यालयको सञ्चालक समितिको अध्यक्षको गरिमामय पदमा रहनुभएको थियो । उहाँकै पालामा, उहाँकै अगुवाइमा क.मा.वि.का नाममा लगभग साठी बिगहा जति ऐलानी जग्गा दर्ता भएको थियो । यसरी सर्वतोभावेन क.मा.वि.लाई सम्पन्न बनाउन अथक प्रयत्न गर्ने स्वनामधन्य गणेश बाबु क.मा.वि.को इतिहासमा अमर हुनुभएको छ ।
उहाँ कनकाई बहुमुखी क्याम्पस, सुरुङ्गाको संस्थापक अध्यक्ष पनि हुनुहुन्थ्यो । सो क्याम्पसलाई स्तरबृद्धि गर्दै डिग्री तहसम्म पु¥याउने कार्यमा तन, मन, धन, वचनले सहयोग गर्ने महामना गणेश बाबु यस क्याम्पसको इतिहामा पनि अमर हुनुभएको छ ।

४.समाजसेवी गणेश बाबु
कुनै व्यक्ति या संस्थाद्वारा समाजको सामाजिक परिस्थितिलाई सुन्दर तथा विकसित बनाउनका लागि प्रदान गरेका सेवालाई सामाजिक–सेवा भनिन्छ । यो सेवा मानवीय विचार र लाभको कुनै पनि उद्देश्यबिना प्रदान गरिन्छ । जुन व्यक्तिका निमित्त समाज–कल्याण अधिक महŒवपूर्ण हुन्छ, उसको व्यक्तिगत हित पनि सामाजिक हितमा स्वतः रूपान्तरित भएको हुन्छ ।
यस क्षेत्रका अगुवा समाजसेवी गणेश बाबु माथि भनिए अनुसारका समाजसेवीका रूपमा प्रतिष्ठापित हुनुहुन्छ । उहाँ २०३२ देखि लगातार चार कार्यकाल प्रधानपञ्च हुनुभएको हो । यसरी हेर्दा उहाँ कति लोकप्रिय हुनुहुन्थयो छर्लङ्ङ देख्न सकिन्छ । आना कर्यकालभरि उहाँले कुनै विसिमको अनैतिक कार्य गरेको यस लेखन्तेलाई थाहा छैन । उहाँलाई चारचार पटक जनताले विश्वास गरेका कुराले पनि यसका भानाइलाई पुष्टि गर्दछ । उहाँमा जग्गा नापनक्सा–सम्बन्धी र, ऐनकानुन–सम्बन्धी ज्ञान पनि भएकाले यसबाट समेत यस क्षेत्रका जनता धेरै लाभान्वित भएका थिए । उहाँ जनताको सहयोगका निमित्त आनै गोजीको पैसा खर्च गरेर सन्बन्धित अड्डा अदालत जाइदिनुहुन्थ्यो । अझ उहाँसँग चन्द्रगडी जाने व्यक्तिको भाडासमेत तिरिदिएको कुरा यस टिप्पणीकारलाई अवगत छ । सो समयमा उहाँको नाम झापाका असल प्रधानपञ्चका रूपमा लिइन्थ्यो । उहाँले आफुले पाउने सम्पूर्ण भत्ता कनकाई मा.वि.को पुस्तकालयलाई प्रदान गनुभएको थियो । त्यस–बेलाका झापाली प्रधानपञ्चहरूमध्ये गणेश बाबु शारीरिक रूपमा र कार्यक्षमतागत रूपमा सायद सबैभन्दा अग्लो हुनुहुन्थ्यो ।
उहाँका सबल पक्ष धेरै छन् । यहाँ यति मात्र लेखिएको छ । उहाँका केही दुर्बल पक्ष थिए भने पनि अत्यन्त थोरै थिए । भगवान् राम, कृष्ण, बुद्ध आदिले त गल्ती गरेका थिए भने मानिसका गल्ती हुन्छन् नै । तर त्यस्ता एक आध नराम्रा पक्ष राम्रापक्षभित्र छोपिन्छन् । अर्को कुरा मानिसका अवसानपछि उसमा भएका कमजोर पक्ष जलेर भस्म हुन्छ्न् र सबल पक्ष समाजका सम्पत्तिका रूपमा यहीं रहन्छन् ।
अन्त्यमा ज्ञानका अपार भण्डार गणेश बाबुप्रति पुन भावपूर्ण श्रद्धाञ्जलि ।


कनकाई ३, सुरुङ्गा
गणेश बाबुको सातौ पुण्य तिथि

सम्बन्धित खबर