कनकाई अनलाइन।अर्जुनधारा,असोज ३— झापा अर्जुनधारा–९ निवासी त्रिलोचन खरेल विभिन्न प्रकारको पान खान रुचाउँने पानको पारखी साथै पानको व्यवसायिक खेतीका अग्रज कृषक समेत हुन् । उनी झापाका सफल पान व्यवसायीको रुपमा चर्चित समेत छन् । खरेलले तीन वर्षअघि ३ कठ्टा जमिनमा भारतको कलकत्ताको कागदिप स्थित गंगा सागरबाट ४२ सय विरुवा र प्राविधिक ल्याएर बङ्ला पानको व्यवसायिक खेती गर्न सुरु गरेका थिए । भारतबाट ११ सय विरुवा ल्याएर खेती सुरु गर्दा ५ लाख लगानी गरेको बताउदै उनी भन्छन् “ भारतवाट विरुवा ल्याउदा चर्को भन्सार तिरेर ल्याउनु पर्छ, नेपाल सरकारले भने हामी व्यवसायिक पान कृषकका लागि हालसम्म कुनै पनि अनुदान दिएको संम्झना छैन्, कृषिमा आत्मनिर्भर बन्ने लक्ष्य लिएको सरकारको यसतर्फ कहिले ध्यान जाँला ?”
वि.स.२०४६ सालबाट पान खेती सुरु गरेका उनले त्यसबेला स्लामपुरे डन्ठीपान २५ सयको संख्यामा विरुवा रोपेको संमरण गर्छन् । तर त्यसबेला व्यवसायिक खेतीलाई निरन्तरता दिने ठूलो सपना भएपनि आफ्नी आमालाई औषधी उपचार लागि लामो समय अस्पतालमा धाउनु परेको र क्यान्सर पिडीत आमाको मृत्यु पश्चात आर्थिक अभावले गर्दा व्यवसायिक पान खेती सपनालाई चटक्क स्वदेशमै छाडेर बैदशिक रोजगारीको क्रममा दुबई गई ८ वर्ष बसेँको उनी बताउँछन् ।स्वदेशमा रहदाको पान खेतीको त्यो रहर पूरा गर्न आफ्नो पुरानो अनुभवलाई समाल्र्दै पुनः व्यवसायिक पान खेतीमा होमिएका छन् आजभोलि खरेल । आय आर्जनको दिगो श्रोतको संम्भावना देखेँर व्यवसायिक पान खेती सुरुवात गरेको उनी बताउँछन् । नेपालमा खाइने विभिन्न स्वादको पानका पत्ता भारतबाट आइरहेको अवस्थामा खरेलले नेपालमै उत्पादन गरेर लाखौँ रकम आम्दानी समेत गरिसकेका छन् ।
भारतको कलकता पुगेर पान खेतीको तालिम लिएका उनले फर्मबाट दैनिक न्युनतम् ५ सयको संख्यामा पानको पत्ता बिक्रीबितरण हुने गरेको छ । पान पारखीका लागि काली बङ्ला जहाजी ( बङ्ला पत्ता ) को पत्ता लोकप्रिय भए पनि नेपालमा भने यसको उत्पादन अत्यन्तै कम मात्रामा हुने खरेल बताउँछन् ।झापामा दैनिक करिब ४० हजार पत्ता खपत हुने र उत्पादनले बजारको मागलाई धान्न नसकिरहेको हुनाले उनले आफू संलग्न स्थानीय कालीस्थान कृषि समूहलाई ३० हजार विरुवा दिएर पान उत्पादनमा लागेको सुनाउँछन् ।
आफूहरुले अर्जुनधारा–९ कालीस्थानमा “ कालीस्थान ” नामक समूह गठन गरी करिव ५ कठ्टा जमिनमा संचालन गरेको एसियाकै दोश्रो जातको रुपमा परिचित बङ्ला पान खेती जिल्लाको लागि मात्र नभई नेपालमा पहिलो र नमूना व्यवसायिक खेती रहेको हुन् सक्ने समूहका अध्यक्ष सन्त कुमार तामाङ बताउँछन् ।उनी भन्छन् जमिन भाडामा लिई ८ जना शेयर सदस्य आम्बद्ध भई व्यवसायिक पानको खेती सुरुवात गरेको छौँ । हालसम्म करिब १५ लाख रुपैँया लगानी भइसकेकोे अवस्था छ । बजारमा देखिएको पानको मागलाई मध्यनजर गरेर खेती सुरु गरेका हौँ । “ लकडाउनको विषम परिस्थितीले पानको पत्ता बिक्री गर्न समस्या रहेको छ ।” पूर्वको बिर्तामोड, दमक, धरान, इनरुवा, रंगेली, इटहरी र स्थानीय बजारलाई केन्द्रमा राखेर व्यवसाय अगाडि बढाएको उनी सुनाउँछन् । तामाङ सहित समूहमा दिनबन्धु पोखरेल, गोपाल शिवाकोटी, त्रिलोचन खरेल, दिपक हुमागाँई, दिपक खतिवडा, फडिन्द्र चापागाइ रहेका छन् । फर्मले यतिबेला स्थानीय ३ जना युवालाई रोजगारी समेत मिलेको छ । सरकारले कृषि व्यवसायमा अनुदान दिर्दै आएपनि आफूले सरकारको अनुदान बिनानै व्यवसायिक रुपमा खेती अघि बढाइरहेको संचालक सदस्य गोपाल शिवाकोटीले बताए । प्रतिपत्ता औसत ३ रुपैँयाका दरले बिक्री हुने र पान १ वटा गाजँले ६५ पत्ता दिने गरेको शिवाकोटी सुनाउँछन् । यसलाई समय–समयमा सिँचाइसँगै भिटामिन आवश्यकता हुने उनी बताउँछन् ।
मेहनत अनुसार छोटो समयमा मनग्यै आम्दानीे दिने श्रोतको रुपमा लिर्दै आएको चलनचल्तीमा रहेको पान पत्ताको व्यवसायिक खेतीतर्फ स्थानीय सरकारले समयमा ध्यान पुगेर कृषकलाई प्रोत्साहन स्वरुप अनुदान सहित प्राविधिक सहयोग गर्नसकेँ राष्ट्रिय पुँजी विदेशीनु बाट बच्नुको साथै स्वदेशमै रोजगारी मिली पर्याप्त आम्दानी हुने देखिन्छ ।