उदय मैनाली
देश विकासको आधारशिला र मेरुदण्ड शान्ति सुरक्षा हो । समाजमा जबसम्म शान्ति र सुव्यवस्था कायम हुँदैन तबसम्म समाज विकास निर्माणको कार्य अघि बढ्न सक्दैन । देश र समाजमा अमनचयन कायम राखी सुरक्षित समाज निर्माणको लागि राज्यले गठन गरेको महत्वपूर्ण संयन्त्र नै प्रहरी प्रशासन हो ।
सुरक्षाकर्मी बिनाको समाज भनेको दण्डहिनतायुक्त परिवेशको पयार्य हो । समुदायमा आत्मसम्मान पूर्वक बाँच्न र आफ्नो हक अधिकारको निर्धक्क प्रयोग गर्न अवश्य पनि सुरक्षाकर्मीको जरुरत संसारभर नै रहेको छ ।
मानव अधिकारको प्रत्याभूति गर्न गराउन, समाजमा समानता र सामाजिक न्यायको पक्षपोषण गर्न पक्कै पनि प्रहरी प्रशासनको आवश्यकता सदियौँ देखि गरि आइएको छ । तर बदलिँदो सामाजिक परिवेश र राज्य व्यवस्थाका नविनतम प्रयोगले सुरक्षाकर्मीको कार्य क्षेत्रमा पनि व्यापक परिवर्तन आएको छ ।
आधुनिक प्रविधिको बढ्दो प्रयोग र त्यसबाट सिर्जित अपराध र सामजिक घटनाबाट सुरक्षाकर्मीहरुमाथि धेरै चुनौती थपिएका पनि छन् । यस्तो परिवर्तित परिस्थितिमा सुरक्षाको काममा खटिएका प्रहरी प्रशासनबाट अझ बढी परिष्कृत हुँदै जानु आजको आवश्यकता हो । त्यसका लागि सुरक्षाकर्मी प्रतिको सर्वसाधारणको विश्वास अभिवृद्धि गर्न र नागरिकमा सुरक्षाकर्मी प्रतिको नकारात्मक सोचलाई हटाई उनिहरु सँग हातेमालो र समन्वय बढाउन जरुरी छ ।
अन्तराष्ट्रिय रुपमा हेर्दा पनि नागरिकमा प्रहरी प्रशासन प्रतिको सकारात्मक धारणालाई हेर्ने हो भने नर्वेमा ८९ प्रतिशत, क्यानडामा ७९ प्रतिशत, संयुक्त अधिराज्यमा ८७ प्रतिशत, इटालीमा ६७ प्रतिशत, फ्रान्समा ६६ प्रतिशत र नेपालमा ६५।
२ प्रतिशत रहेको छ ।
केही समय अघि गृह मन्त्रीबाट सुरक्षाकर्मीको मनोबल बढाउन विभिन्न कार्यक्रम गर्ने भन्ने निर्णय गरेर यस क्षेत्रमा केही भएपनि काम भइरहेको जानकारी दिनु भयो । तथापी नेपाल प्रहरी, ट्राफिक प्रहरी र शसष्त्र प्रहरी बल नेपालले कर्तव्य पालनाको शिलशिलामा भोगीरहनु परेको समस्या र विपत्ति कम हुने लक्षण देखिएको छैन ।
अझ यहाँ त देशको मुटुमा रहेको राजधानीमा नै दिनदाहडै भिडले प्रहरीलाई निर्मम कुटपिट गरेको, भारतसँगको खुला सिमानामा रातदिन हुने झडप र हातापाई, सिमामा हुने तस्करी, कोरोनाको महामारीमा खटिदाको दुख, दैनिक शान्ति सुरक्षाको व्यवस्थापन, बढ्दो सामाजिक तथा डिजिटल अपराधबाट सुरक्षाकर्मीले डटेर लड्नुपर्ने स्थिति देखिएकाले नेपालमा प्रहरी प्रशासनको मनोबलमा कहिँ कतै खेलबाड भइरहेको छ की भन्न भान हुन्छ ।
त्यसमाथि संसार अहिले कोरोना महामारीसँग जुधिरहेको छ । यो एउटा युद्ध जित्नु जत्तिकै भएको बेलामा चिकित्सक र स्वास्थ्यकर्मी युद्धमोर्चाको पहिलो मोर्चा सम्हालिरहेको छन् भने सुरक्षाकर्मी दास्रो मोर्चामा खटिरहेका छन् ।
कोरोना कहरको बिगबिगीमा अधिकांश जनता त आफूलाई सतर्क राखिरहेका छन् तर केही व्यक्तिहरु आफू।लाई संयमित राख्न नसकेर चलायमान भएका छन् , तिनको प्रवृत्तिलाई रोक्न प्रहरी प्रशासन लागि परेको छ । यस्तो अवस्थामा आम जनताले सुरक्षाकर्मीलाई सहयोगी भावनाले हेर्नु जरुरी छ किनकी आजको सुरक्षाकर्मी कुनै आन्दोलन दबाउन वा सरकारको बचावट गर्न परिचालित होइन । केबल माहामारी नियन्त्रणमा सहयोगी भूमिकामा रहेको छ ।
सुरक्षाकर्मी हुनु भनेको जस्तो सुकै अवस्थाकोे सामना गर्न तयार रहनु पनि हो तथापी हामी आम नागरिकले के बुझ्न जरुरी देखिन्छ भने सुरक्षाकर्मी हाम्रो लागि खटिएका हुन र उनिहरुको सहयोग र समन्वयमा हामी आइपर्ने समस्याबाट मुक्त हुन सक्नुपर्छ । साथै सुरक्षाकर्मीमा पनि नागरिकसँग सहकार्य गर्ने बानीको विकास हुनु अत्यन्त्यै जरुरी छ ।
सरकारले नेपाल भारतको सिमा क्षेत्रमा शसष्त्र प्रहरी बल नेपालको वि।ओ।पी। स्थापना गरेसँगै अहिले दैनिक रुपमा नयाँ नयाँ जोखिम मोलेर सिमा सुरक्षा गरिरहनु परेको छ । तस्करहरुले अपनाउने प्रत्येक हरकतमाथि नजर राख्नुपर्ने र कतिपय ठाउँमा तिनिहरुको सांघातिक आक्रमणको प्रतिकार पनि गर्नुपर्ने जोखिम रहेको छ । यस्ता अनेकौँ जोखिमका बिच पनि राज्यको राजश्व चुहावट नियन्त्रण गरी राज्यकोषमा योगदान गरिरहेका सुरक्षाकर्मीको अवस्था भने सिमा क्षेत्रमा दयनिय रहेको छ ।
सिमामा खटिएका सुरक्षाकर्मीहरुको बस्ने अव्यवस्थित ब्यारेक देखि लिएर भारतीय सिमाको धुलो, फोहोर र दुर्गन्धले स्वास्थ्यमा समेत प्रतिकुल असर पर्ने गरेको छ । उत्तिकैमा भारतिय सिमा सुरक्षा फौजको तलब, सुविधा, खानपान र सम्मान राम्रो भएकाले मोरल पनि उच्च देखिन्छ तर नेपाल तिर हेर्ने हो भने सुरक्षाकर्मीलाई राती सुत्ने ठाउँको पनि राम्रो व्यवस्था छैन । केही पर्दा गुडाएर लाने गाडी छैन । तसर्थ जीवनको बाजी लगाएर देश र जनताको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको मनोबल उच्च राख्न सिमा र विकटमा खटिएकालाई हौसलाको रुपमा इन्सेन्टिभको व्यवस्था राज्यले गर्नु पर्ने छ । प्रमोशन र अवसरमा समानता अपनाउनु पर्छ । अनि मात्र सुरक्षाकमीको मनोबल उच्च भई उनिहरुको कार्य क्षमतामा अभिवृद्धि हुन सक्ला ।
सिमामा शसष्त्र प्रहरी बलको स्थापनासँगै अचम्म र अनौठा तस्करीका घटनाहर सार्वजनिक हुन थालेका छन् । कपिलबस्तुको कृष्णनगर नाकाबाट दुई जना महिलाले सेलरोटी भित्र्याए । सेलरोटी माथि शंका लागेर प्रहरीले लागु औषधी भरिएको सेलरोटी बरामद गर्यो । तस्करी गरी सामान भित्र्याउन लुगामाथि लुुगा बेर्ने, महिलाका संवेदनशिल अंगमा लुुकाउने, पक्राउ परेपछि बेहोस भएको नाटक गर्ने जस्ता जोखिम युक्त कार्यमा आफ्नो दैनिन्दनी बिताउने सुरक्षाकर्मीहरुको मनोबल बढाउन हामीले लाग्नै पर्छ ।
नेपालमा द्धन्द्धकालमा गठन भएको शसष्त्र प्रहरी बलले अहिले सिमा सुरक्षा, हुलदङ्गा नियन्त्रण, विपद व्यवस्थापन लगायतका कार्यहरु गर्दै आएको छ । त्यतीमात्र हैन नेपाल प्रहरी पनि दैनिक शान्ति सुरक्षा कायम राख्न दिनरात खटिरहेको बेलामा सुरक्षकर्मीको मनोबल उच्च राख्ने काममा हामी सर्वसाधारणले भूमिका खेल्नै पर्छ ।
बिर्तामोड २ चारपाने
हाल झापा गाउँपालिका वडा ५र६ मा वडा सचिवमा कार्यरत