कनकाई अनलाईन
स्वास्थ्य र पर्यटनलाई जोडेर झापामा साइक्लिङ क्लबले ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम शुरु गरेको छ ।
साइकल पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ साइकलमा झापाका १२ वटा पालिका घुम्नेगरी ‘घुमौँ झापा साइकलमा’ कार्यक्रम मेचीनगर —६ काँकरभिट्टास्थित पर्यटन कार्यालय परिसरबाट शुरु भएको हो । कार्यक्रमको मुख्य प्रवर्तकको रुपमा पर्यटन कार्यालय काँकडभिट्टा रहेको छ । कार्यक्रमअन्तर्गत झापाका विभिन्न १२ पालिकाहरुको साइकल यात्रा गरिनेछ । मेचीनगर, बुद्धशान्ति, अर्जुनधारा, कनकाई, शिवसताक्षी, गौरीगञ्ज, झापा, बाह्रदशी, कचनकवल, भद्रपुर, हल्दिवारी र बिर्तामोड नगरपालिकाको साइकलमा फन्को लगाइने क्लबका सचिव हिमाल खरेलले बताउँनुभयो ।
महिला तथा युवाको बाहिरी तथा साहसिक गतिविधिमा सहभागिता बढाउन, आन्तरिक तथा बाह्य पर्यटन, स्थानीय अर्थतन्त्र (होटल, होमस्टे, भोजन सेवा) लाई सहयोग पु¥याउन, सीमा क्षेत्र, धार्मिकस्थल, सिमसार क्षेत्र तथा ग्रामीण भूभागलाई जोड्दै झापालाई एक साइकलमैत्री गन्तव्यको रूपमा चिनाउन कार्यक्रम गरिएको क्लबले जनाएको छ ।
साइकल यात्राको आज कोशी प्रदेश सभा सदस्य गोपाल तामाङले उदघाटन गर्नुभयो । तीन महिला सहित भारत तथा नेपालका ५० जना साइकलयात्री तथा २० जना गाइड, मेकानिक र स्वयम्सेवकहरु अभियानमा आवद्ध रहनुभएको छ ।


