कनकाई अनलाईन
झापाको बिर्तामोडमा जारी सातौ झापा गोल्डकपमा विभागिय टोली सशस्त्र प्रहरीको टीम एपिएफ फुटबल क्लव पाहुना टोली रोयल थिम्पु कलेजलाई पराजित गर्दै सेमिफाईनलमा प्रवेश गरेको छ । बुधवार भएको खेलमा सशस्त्र प्रहरीको टिमका हरि खड्काको ह्याट्रिक मद्दतमा भुटानको रोयल थिम्पु कलेजलाई ४–१ गोल अन्तरले पराजित गरेको हो ।
एकपक्षीय खेलमा एपिएफले खेल अवधिभर भुटानलाई दबाबमा राखेको थियो । खेलको छैटौँ मिनेटमै एपिएफले गोलको खाता खोल्यो । एपिएफका स्ट्राइकर प्रदिप लामाले करिब ३० यार्डबाट गरेको लङ रेञ्जर सटले जाली चुमेको थियो । एपिएफको लागि अर्काे गोल कप्तान हरि कार्कीको नाममा रह्यो । उनले खेलको १८ औँ मिनेटमा दिपेश धिमालले डिबक्समा मिलाइदिएको पासलाई गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
एपिएफका लागि तेस्रो गोल पनि कप्तान कार्कीकै नाममा रह्यो । २२ औँ मिनेटमा समिराज थोकरले गरेको प्रहार भुटानका गोलरक्षक टासी नोर्बुबाट रिबाउन्स भएको बललाई सदुपयोग गर्दै कार्कीले टिमको जित निश्चित गरेका थिए ।
खेलको ८३ औँ मिनेटमा गोल गर्दै एपिएफका कप्तान कार्कीले ह्याट्रिक पूरा गरे । भुटानका गोलकिपरबाट रिबाउन्स भएको बललाई डिबक्समा अनमार्क रहेका कार्कीले गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए । योसँगै जारी प्रतियोगितामा हालसम्म ह्याट्रिक गर्ने कार्की एक्ला खेलाडी बनेका छन् ।
भुटानको लागि एक मात्र सान्त्वाना गोल पेनाल्टीबाट सम्भव भयो । खेलको ७९ औँ मिनेटमा किन्जाङ तेन्जिङ शेर्पालाई एपिएफका दिपेश धिमालले डिबक्समा फल गरेपछि भुटानले पेनाल्टी पाएको थियो । शेर्पाले नै पेनाल्टीमार्फत गोल गरेका थिए ।
खेलमा एपिएफले आक्रमक तथा भुटानले रक्षात्मक खेल प्रस्तुत गरेका थिए ।एपिएफका दिपेश धिमालले गरेको प्रहार भुटानका गोलकिपरले मुस्किलले जोगाएका थिए । १६ औँ मिनेटमा गोलकिपर बिट भइसकेको अवस्थामा समिराज थोकरले गरेको अर्काे प्रहार भुटानका डिफेन्डरले गोल लाइनबाट बचाए ।
सुरुको २२ मिनेटमै तीन गोल खाएको भुटानले खेलको २८ औँ मिनेटमा अग्रता कम गर्ने अवसर पाएको थियो । सोनाम यासेले गोलपोष्ट नजिकै पाएको बललाई सदुपयोग गर्न सकेनन् । त्यस्तै, ७८ औँ मिनेटमा जिग्मे सुल्ट्रिमको फ्रिकिक क्रस बारमा लागेर बाहिरिँदा भुटान स्कोर अन्तर घटाउन चुकेको थियो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम एपिएफका ह्याट्रिककर्ता हरि कार्की घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए । बिहीबारको अन्तिम क्वार्टर फाइनल खेल मछिन्द्र एफसी र एन पेनाङ मलेसियाबीच हुनेछ ।
फोटो ः प्रतिस्पर्धा गर्दै पाहुना टोली भुटान सेतो जर्सीमा र एपिएफ पहेलो जर्सीमा


