
कनकाई अनलाईन
निजी तथा आवश्य विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) झापाले दोस्रो जिल्ला परिषद भेला २०८२ को पर्यटकिय स्थल जामुनखाडीमा सम्पन्न गरेको छ ।
झापाको कनकाई नगरपालिका १ र २ मा रहेको पर्यटकीय स्थल जमुनखाडी सिमसार क्षेत्रमा जिल्ला प्याब्सनको आयोजनामा मङ्गलबार प्याब्सन झापाको दोस्रो जिल्ला परिषद् भेला २०८२ भव्य रुपमा सम्पन्न भएको हो ।
प्याब्सन झापाका अध्यक्ष छत्रबहादुर कार्कीको अध्यक्षता तथा प्याब्सनका केन्द्रीय कार्यसमिति सल्लाहकार नारायण प्रसाद अधिकारीको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष कार्कीले प्याब्सन झापाको सांगठनिक तथा आर्थिक प्रतिवेदनमाथि छलफल , संघीय तथा स्थानीय शिक्षा नीति र ऐनका बिषयहरु माथि छलफल , जिल्ला कार्यसमितिबाट हालसम्म भएका कार्यहरूको समीक्षा तथा भावि कार्यक्रम लगायतमा छलफलका निमित्त परिषद भेला आयोजना गरिएको बताउनुभयो ।
भेलामा प्याब्सन जिल्ला समितिका सचिव लक्ष्मीप्रसाद उप्रेतीले संस्थाको सांगठनिक प्रतिवेदन पेश गर्दै संस्थाको भौतिक अवस्था , वर्तमान जिल्ला कार्यसमितिले सञ्चालन गरेका कार्यहरू , आगामी दिनमा लक्षित हुनुपर्ने कार्यक्रमका विषयहरू छलफलका लागि प्रस्तुत गर्नुभएको थियो भने जिल्ला समिति कोषाध्यक्ष अमृतकुमार तिम्सिनाले संस्थाको हालसम्मको आर्थिक गतिविधि समेटिएको आर्थिक प्रतिवेदन भेलामा पेश गर्नुभएको थियो । भेलाले उक्त दुवै प्रतिवेदन आवश्यक सल्लाह सुझावसहित पारित समेत गरेको छ ।
भेलामा कार्यक्रमका प्रमुख अतिथि प्याब्सनका केन्द्रीय कार्यसमिति सल्लाहकार नारायण प्रसाद घिमिरे , विशिष्ट अतिथिहरू प्याब्सनका केन्द्रीय निवर्तमान सल्लाहकार गोविन्द लम्साल , प्रदेशका वरिष्ठ सल्लाहकार तेजकुमार श्रेष्ठ , कोशी प्याब्सनका वरिष्ठ उपाध्यक्ष कोशराज प्याकुरेल , प्याब्सनका पूर्व केन्द्रीय सदस्य राम सिटौला लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
भेलामा जिल्लाबाट प्रदेश र केन्द्रसम्म प्रतिनिधित्व गर्नुहुने प्याप्सनका पदाधिकारीहरू , सल्लाहकार , सदस्य महाधिवेशन प्रतिनिधिहरू , पालिका प्रमुख सल्लाहकार , पालिका कार्यसमिति ,साथै प्याब्सनमा आबद्ध सम्पूर्ण विद्यालयका संस्थापक तथा प्रिन्सिपलहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै प्याप्सन जिल्ला समितिका वरिष्ठ उपाध्यक्ष एचके पाठकले कार्यक्रमको औचित्यमाथि प्रष्ट पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव लक्ष्मी उप्रेतीले गर्नुभएको थियो ।
हाल प्याप्सन झापाको सांगठनिक संरचनाभित्र १९७ माध्यमिक तह र १२१ आधारभूत तहका विद्यालयहरू गरी जम्मा ३१८ विद्यालय रहेका छन । त्यस्तै सदस्य विद्यालयहरूबाट ९ हजार ५ सय शिक्षक तथा कर्मचारी कार्यरत रहेका छन भने अप्रत्यक्ष रुपमा करिब ९ हजार ८ सय जना मानिसले रोजगारी प्राप्त गरिरहेका छन । करिब १ लाख ६८ हजार विद्यार्थीहरु यस शैक्षिक सत्रमा निजी तथा आवासीय विद्यालयमा अध्ययनरत रहेको तथ्यांक छ ।
प्याप्सन झापाको दोस्रो जिल्ला परिषद् भेलासँगै वनभोजको समेत आयोजना गरिएको थियो । सौहार्द पुर्ण बाताबरणमा भेला सम्पन्न भएसँगै भेलामा उपस्थित सबैजना वनबोजमा सरिक हुँदै मनोरञ्जन समेत लिनुभएको थियोे ।


