कनकाई अनलाईन
झापाको अर्जुनधारा नगरपालिका ६ महानन्द चौकमा मोटरसाईकल दुर्घटनामा परी घाईते अर्जुनधारा ६ निवासी ३० बर्षिय बुद्ध तामाङको उपचारका क्रममा शुक्रवार आज मृत्यु भएको छ ।
झापाको अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोक नजिक दास पुल छेउमा गत पुस ९ गते बुधवार राती साढे १० बजे शनिश्चरेबाट बिर्तामोडतर्फ आउँदै गरेको मे २ प २४६८ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई नालिमा पस्दा दुर्घटना भएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका–६ निवासी ३० वर्षका बुद्ध तामाङ र पछाडि सवार सोही नगरपालिका–४ निवासी अन्दाजी ४० वर्षका मोहनराज कार्की घाइते भएका थिए ।
घाइते दुवै जनालाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल भर्ना गरिएकोमा उपचारकै क्रममा शुक्रवार दिउँसो १ बजेको समयमा मोटरसाइकल चालक बुद्ध तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
घटनाको अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गर्न इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले आवश्यक प्रक्रिया पश्चात् मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक मेची अस्पताल भद्रपुर पठाएको जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।


