Kanakai Online

ग्रीनकार्ड लिएको जनाउँदै धुर्मुसले भने हामी भागेर अमेरिका आएको होइन


शनिवार, मंसिर २८, २०८२ |

कनकाई अनलाईन
काठमाडौं । हाँस्य कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले आफूहरू भागेर अमेरिका नआएको बताएका छन् । शुक्रबार बिहान फेसबुकमा लामो ‘बकपत्र’ शीर्षकको स्टाटस लेख्दै उनले अमेरिका भागेको भन्ने कतिपय मिडिया विवरणको खण्डन प्रयास गरेका छन् ।

दुई वर्षअघि नै आफूले एक्स्ट्रा अर्डिनरी ग्रीनकार्ड लिएको जनाउँदै धुर्मुसले यतिबेला भने छोरीको खुट्टाको उपचारका लागि अमेरिका आएको दाबी गरेका छन् ।

लेख्छन्, ‘नेपालमा कलाकारिता पनि गर्न नसक्दा र बाँच्न सक्ने कुनै आधार नभेटेपछि ‘मरता क्या नहीँ करता’ भन्ने स्थितिमा हामीले तीन वर्षअघि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड’ का लागि आवेदन गरेका थियौं नेपालबाटै । यो विभिन्न विधाका असाधारण क्षमता भएकाहरुका लागि दिइने स्थायी बसोबास अनुमतीपत्र हो ।’

‘यो कार्ड आएपछि कम आम्दानी भएका बाबुआमाका बच्चाका लागि निशुल्क उपचार सुविधा हुने रहेछ इन्सुरेन्सरमेडिकेडमार्फत’ उनी भन्छन्, ‘यसअघि कुन्जनाको कोखमा रहेको हाम्रो दोस्रो बच्चा ‘स्ट्रेस’ कै कारण खेर गएको थियो । भएकी एक मात्र सन्तानको हकमा हामीले कुनै जोखिम लिन चाहेनौं । उनको स्वास्थ्य र सुरक्षित भविष्यका लागि अमेरिकाको ‘एक्स्ट्रा अर्डिनरीमा’ एप्लाइ गर्ने निर्णय लिएका थियौं ।’

‘आवेदन गरेको दुई वर्षपछि पोहोर साल हामीले भिसा पायौं । तर, भिसा हातमा परेको दिन हामी खुशी हुन सकेनौं, बरु भक्कानिएर रोयौं । कारण यो हाम्रो रहरको निर्णय थिएन । हामी परिस्थितिको दास बनेका थियौं । गत वर्ष हामी अमेरिका आयौं । अमेरिका आउने जाने खर्चको जोहो गर्न कुन्जनाले आफूसँग भएका सबै गरगहना बेचिन् ।’

‘छोरीको ज्यान जोखिममा नपरोस भनेर समस्यालाई थाँती राखी अहिले अमेरिका आउन वाध्य बन्यौं । यो वाध्यतालाई सबैले बुझिदिनुहुनेछ भन्ने आशा गर्छु’ उनले लेखेका छन्, ‘हामी भागेको होइन । छोरीको उपचार सम्पन्न भएपश्चात नेपाल फर्किनेमा कुनै सन्देह छैन । छोरीको उपचारपश्चात हामी नेपाल फर्किएर अब कलाकारितामै रम्न चाहन्छौं ।’

‘रंगशालाको उल्झनबाट मुक्ति नपाउँदासम्म हामीले नेपालमा न काम गरेर खान सक्ने, न चैनसित निदाउन सक्ने अवस्था रह्यो । हाम्रो यति चाहना छ, कि रंगशालाको समस्या समाधान भएर हामीले नेपालमै कलाकारिता गरेर बाँच्न सक्ने अवस्था बनोस’ उनले लेखेका छन् ।

अमेरिका आफूहरुले कुनै व्यवसाय सुरु नगरेको र लगानी पनि नगरेको दाबी उनको छ । उनले रंगशालाको समस्याबाट मुक्ति दिलाएर कलाकारितामा फर्किने वातावरण राज्यले सिर्जना गर्नुपर्ने बताएका छन् ।

उनले विमानस्थलमा खिचिएका पत्नी तथा अभिनेत्री कुञ्जना घिमिरे सुन्तली र छोरीसहितको फोटो पनि सेयर गरेका छन् । निरन्तरको सरकारी झमेला र १८ करोड रुपैयाँभन्दा बढीको आर्थिक दायित्वबाट मुक्ति नपाएपछि अन्ततः छोरीको उपचारका लागि अमेरिका जान बाध्य भएको उनको भनाइ छ ।

जनताको आग्रह र तत्कालीन प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीसहित सबै नेताहरूको प्रोत्साहनमा रंगशाला निर्माणमा जुटेको बताउँदै उनले भरतपुर महानगरपालिकाले अगुवाइ लिन अनुरोध गरी जग्गासमेत उपलब्ध गराएको र महानगरसँग भएको सहमतिपत्रमा स्रोत जुट्न नसके दायित्व दुवै पक्षको रहने बताएका छन् ।

उनले राज्यले सम्पत्ति सकार्न मिल्ने तर दायित्व सकार्न नमिल्ने अवस्थालाई ’विडम्बना’ भनेका छन् । रंगशालाको काममा अख्तियारसम्मबाट ’क्लिन चिट’ पाएर पनि आफूलाई ’ठग’ को संज्ञा दिइएकोमा उनले दुःख व्यक्त गरेका छन् ।

उनले महानगरलाई स्वामित्व हस्तान्तरण गर्दा दायित्व एक महिनाभित्र फरफारक गर्ने प्रतिबद्धता जनाइएको भए पनि त्यो पूरा नभएको बताएका छन् । केन्द्र सरकारबाट पटकपटक मन्त्रिपरिषद्ले निर्णय गरेर उपलब्ध गराउने भनिएको अनुदान र बजेटमा राखिएको रकम समेत प्रक्रियागत त्रुटि र सरकारी निकायको टालटुले नीतिका कारण पटकपटक फ्रिज भएर फिर्ता गएको उनले उल्लेख गरेका छन् ।

स्रोतका अनुसार, धुर्मुस र सुन्तली अहिले अमेरिकाको नर्थ क्यारोलिना राज्यमा बसोबास गर्दै आएका उनका भाइ नाता पर्नेको घरमा छन् । कामको कुरा गर्दा, यसैवर्ष उनी अभिनित फिल्म ‘लाज शरणम्’ प्रदर्शनमा आएको थियो । उनी फिल्म ‘पाँच पाण्डव’ को तयारीमा छन् ।