कनकाई अनलाईन
विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ सिंहदेवी टोलमा बुहारीले खानामा विष मिसाएर खुवाएपछि ७७ वर्षीया इन्द्रमाया राईको मृत्यु भएको छ । विषसहितको खाना खाएका ७० वर्षीय भक्तबहादुर राईको अवस्था गम्भीर छ ।
स्थानीयले भक्तबहादुर राईलाई घर नजिकै खोल्सामा शनिबार दिउँसो बेहोस अवस्थामा फेला पारेपछि उद्धार गरेर घर ल्याएका थिए । घरमा उनकी श्रीमती इन्द्रमाया राईसमेत बेहोस भेटिएकी थिइन् । बेहोस अवस्थामा रहेका दम्पतीलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा लगिएको थियो । उपचारका क्रममा शनिबार राति इन्द्रमायाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले जानकारी दिए । उपचारमा रहेका भक्तबहादुरको अवस्था गम्भीर छ ।
प्रारम्भिक अनुसन्धानले खानामा विष मिसाइएको खुलेको छ । घटनास्थलमा रहेको खोरमा तीन वटा कुखुरासमेत मृत अवस्थामा फेला परेपछि स्थानीयले विष सेवन भएको आशंका गरेका थिए।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा भतिजी बुहारी ३२ वर्षीया सुनीता कार्कीलाई पक्राउ गरेको छ । पक्राउ परेसँगै सुनीताले खानामा विष मिसाएको र त्यसपछि विषको बट्टा अँगेनामा जलाएको बयान दिएको प्रहरीले जनाएको छ । बट्टा जलेको अवस्थामा बरामद गरिएको छ ।
घटनामा प्रयोग गरिएको विष र कारणबारे पोस्टमार्टम रिपोर्ट, फरेन्सिक परीक्षण र प्रयोगशाला रिपोर्टपछि मात्र निश्चित जानकारी आउने प्रहरीले जनाएको छ । प्रहरीले सुनीताविरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरी म्याद थप गरी थप अनुसन्धान अगाडि बढाएको छ ।
वृद्ध दम्पतीसँगै बस्ने भतिजो प्रशान राई घरबाहिर हुँदा घटनाको योजना बनेको थियो । घटनाको कारणबारे प्रहरीले पारिवारिक कलह हुनसक्ने अनुमान गरेको छ । घटनापछि स्थानीय तहमा सनसनी फैलिएपछि स्थानीयवासीले निष्पक्ष र व्यापक अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन् । प्रहरी इन्स्पेक्टर राजीव गिरीको नेतृत्वले थप तथ्यांक संकलन गरी घटनास्थल र सम्बन्धित वस्तु–सामग्री परीक्षण गरिरहेको छ ।


