Kanakai Online

भलिबल प्रशिक्षक राईलाई झापालीको एक लाख ७ हजारको सम्मान


शनिवार, मंसिर २१, २०८२ |

कनकाई अनलाईन
भलिबल खेलका प्रशिक्षक कुमार राई झापामा नगद १ लाख ७ हजार नगद सहित आज सम्मानित हुनुभएको छ ।
न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राईलाई झापाको अर्जुनधारामा जारी खुला महिला भलिबल प्रतियोगितामा नगद सहित सम्मानित गरिएको हो ।
बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले उनलाई एक लाख रुपैयाँभन्दा बढी धनराशिसहित शनिवार सम्मान गरिएको हो ।
राईलाई वीरबहादुर राई, नारायण राई, सन्तोष राई र कलाकार विल्सनविक्रम राईले एकमुष्ट ५१ हजार रुपैयाँ प्रदान गर्नुभयो । त्यस्तै, आदर्श स्कुल अफ मेनेजमेन्टले १७ हजार ५०० रुपैयाँ, झापा गोल्डकपका अध्यक्ष केदार गिरीले १५ हजार रुपैयाँ प्रदान गर्नुभयो ।
त्यस्तै, अर्जुनधारा नगर खेलकुद विकास समितिले ११ हजार रुपैयाँ, बिर्तामोड भलिबल प्रशिक्षण केन्द्रले ७ हजार ५०० र सेवारो क्याफेले पाँच हजार रुपैयाँ गरी राईलाई कुल एक लाख सात हजार रुपैयाँ नगद सहित सम्मानित गरिएको हो ।
प्रशिक्षक राईले विगत १९ वर्षदेखि चन्द्रागिरी नैकापमा रहेको न्यु डायमन्ड एकेडेमीलाई निरन्तर प्रशिक्षण दिइरहनुभएको छ । राईकै प्रशिक्षणमा डायमन्डले दुई दर्जनभन्दा बढी उपाधि जितिसकेको छ ।
महिला भलिबलमा एपिएफ फाइनलमा
झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सशस्त्र प्रहरीको एपिएफ क्लब फाइनलमा प्रवेश गरेको छ ।

आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो ।
एपिएफले २५–२२, २५–१६ र २५–१२ को सेटमा न्यु डायमन्डलाई स्तब्ध पारेको थियो । न्यु डायमन्डले तेस्रो सेटमा एपिएफलाई २५–२२ ले हराएको थियो । एपिएफले कम्तिमा एक लाख रुपैयाँ सुरक्षित गरेको छ ।
खेलको प्लेयर अफ द म्याच एपिएफकी जमुना सेन्च्युरी हुदै नगद ५ हजार पुरस्कार प्राप्त गर्नुभयो ।
यो जितसँगै एपिएफले आईतवार हुने फाइनल खेलमा नेपाल पुलिस क्लबसँगको भेट पक्का गरेको छ ।
प्रतियोगिताको विजेताले २ लाख, दोस्रोले १ लाख र तेस्रो हुने टोलीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छ ।

त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १५ हजार पाउँदा, प्रत्येक दिनको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै, बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट सर्भर, बेस्ट सेटर र बेस्ट लिबेरोले १० हजार रुपैयाँ प्राप्त गर्ने छ । प्रतियोगिता अर्जुनधारा खेलकुद विकास समितिको आयोजनामा भएको हो ।