
कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका स्थित कन्काई बहुमुखी क्याम्पसमा आज शुक्रबार देखि अन्तर क्याम्पस स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ ।
कन्काई बहुमुखी क्याम्पसको अतिरिक्त क्रियाकलाप विभाग र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) द्वारा आयोजित झापा जिल्ला अन्तर क्याम्पस स्तरीय फुटबल प्रतियोगिताको आज शुक्रबार कन्काई बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रेमप्रकाश चुडालले रेफ्रीलाई बल हस्तान्तरण गर्दै उदघाटन गर्नुभएको हो ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि चुडालले खेल जीवन जगतको अत्यन्त महत्वपूर्ण पाटो भएको र यो अनुशासन र स्वास्थ्यसँग निर्भर रहने बताउनुभयो । खेलले उत्कृष्टता हासिल गर्यो भने देश तथा विदेशमा ख्याति प्राप्त गर्न सकिने वताउदै चुडालले खेल जीवनको संसार बेग्लै रहेको र जसलाई पछ्याउने क्रममा हाम्रो मुलुक अनुसार , हाम्रो शिक्षा अनुसार , हाम्रो खेल ग्राउन्ड अनुसार हामी आफ्नै पाराले अगाडि बढिरहेको र राज्यले त्यसमा त्यति ठूलो सहयोग नदिएको बताउनुभएको छ । उहाँले यसपटक कन्काई क्याम्पसले पहिलोपटक यो प्रतियोगिता आयोजना गरेको र यस प्रतियोगितालाई आगामी वर्षमा पनि निरन्तरता दिँदै जाने बताउनुभएको छ ।
प्रतियोगिता सफलताको शुभकामना मन्तव्य राख्दै कन्काई प्याब्सनका नगर अध्यक्ष बिनोद उप्रेती साथै नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाका पूर्व अध्यक्ष श्याम पौडेलले विद्यार्थीहरूको प्रतिभा प्रस्फुटन गर्नको लागि यस्ता खाले अतिरिक्त क्रियाकलापले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
कार्यक्रममा सञ्चालक समितिका कोषाध्यक्ष नारायण प्रसाद पोखरेल , लेखा संयोजक भवानीप्रसाद लुइटेल , सञ्चालक सदस्य नवल किशोर दत्त , मान्ता काफ्ले खरेल , तुलसी कार्की , विद्यालयका प्राध्यापकहरू कर्मचारी, विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
।
कन्काई बहुमुखी क्याम्पसका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख तथा कार्यक्रमका अध्यक्ष डिल्ली भट्टराईले औचित्यमाथि प्रकाश पार्नुभएको कार्यक्रममा उपस्थित सबैलाई स्वागत कन्काई बहुमुखी क्याम्पसका स्ववियु सभापति बासुदेव निरौलाले गर्नुभएको थियो। औपचारिक कार्यक्रम सञ्चालन क्याम्पसका प्राध्यापक दिनेश कुमार तिम्सिनाले गर्नुभएको थियो ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक क्याम्पस कन्काई बहुमुखी क्याम्पसको बि टिम र काङ्करभिटा बहुमुखी क्याम्पस बीच रहेकोमा काँकडभिट्टाका खेलाडीहरु नआएपछि कन्काई बहुमुखी क्याम्पसको बी टिम नेटबल हान्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्यसैगरी आजै भएको सीताराम बहुमुखी क्याम्पस र इन्द्रचन्द्र क्याम्पस बीचको दोस्रो खेलमा सीताराम बहुमुखी क्याम्पसलाई १ – ४ गोल अन्तरले पराजित गर्दै इन्द्रचन्द्र क्याम्पस सेमीफाइनलमा प्रवेश गरेको छ।
प्रतियोगितामा कन्काई बहुमुखी क्याम्पस , इन्द्रचन्द्र क्याम्पस , सीताराम बहुमुखी क्याम्पस , शनिशरे बहुमुखी क्याम्पस , कनकाई आदर्श बहुमुखी क्याम्पस , काँकरभिट्टा बहुमुखी क्याम्पस र दमक बहुमुखी क्याम्पस गरी जिल्ला भरबाट सातवटा क्याम्पसको सहभागिता रहेको कनकाई बहुमुखी क्याम्पसका स्ववियु सभापति वासुदेव घिमिरेले जानकारी दिनुभएको छ ।
प्रतियोगिताको विजेता टिमले नगद २५ हजार सहित मेडल ट्रफी र प्रमाणपत्र हासिल गर्नेछन् भने उपविजेता टिमले नगद १५ सहित मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन । प्रतियोगिताको हरेक खेलका उत्कृष्ट खेलाडीलाई ट्रफीको व्यवस्था गरिएको पनि क्याम्पसका प्राध्यापक दिनेश कुमार तिम्सिनाले जानकारी गराउनुभएको छ।
प्रतियोगिता अवधिभर प्राथमिक उपचारको लागि सुरुङ्गा मेडिसिन सेन्टर एण्ड क्लिनिकले सौजन्य गरेको छ।
प्रतियोगितामा भोलि शनिबारको पहिलो खेल दमक बहुमुखी क्याम्पस र कन्काई आदर्श क्याम्पस बीच बिहान ७ः३० बाट हुनेछ हुनेछ भने दोस्रो खेल कन्काई बहुमुखी क्याम्पस कनकाई र शनिशरे बहुमुखी क्याम्पस बीच हुनेछ । प्रतियोगिताको फाइनल खेल मङ्सिर १ गते हुने प्रतियोगिता आयोजक क्याम्पसका अतिरिक्त क्रियाकलाप विभाग प्रमुख डिल्ली भट्टराईले जानकारी दिनुभएको छ ।




