कनकाई अनलाईन
झापाको शिवसताक्षी दुधे रंगशालामा जारी प्रथम झापा महिला गोल्डकपको उपाधिका लागि दुबै विभागिय टिमहरु एपिएफ र नेपाल पुलिस आमने सामने हुने भएका छन । शनिवार भएको अन्तिम सेमिफाइनलमा एपिएफ फुटबल क्लबले त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ ले पराजित गर्दै एपिएफले फाइनलमा नेपाल पुलिस क्लबसँगको विभागीय भिडन्त निश्चित गरेको हो ।
खेल अवधिभर दुबै टिमको १–१ गोल भएपछि खेलको निर्णय टाईब्रेकरबाट गरिएको हो । खेलको दुबै गोल दोस्रो हाफमा भएको हो ।
गोलमा अग्रता भने आर्मीले बनाएको हो । खेलको ६३ औँ मिनेटमा आर्मीकी डिफेन्डर निशा थोकर र गोलकिपर अञ्जना रानाबीचको तालमेल बिग्रँदा चन्द्रा भण्डारीले सहज गोल गर्दै आर्मीलाई १–० को अग्रता बनाउनुभयो । तर खेलको इन्जुरी समयमा एपिएफले बराबरी गोल फर्कायो । इन्ज्युरी समयमा आर्मीकी विमला चौधरीले ह्यान्डबल गरेपछि एपिएफले करिब २५ यार्ड दूरीबाट फ्रिकिक पाएको थियो । कप्तान अनिता बस्नेतको उत्कृष्ट फ्रिकिक गोल हुँदै खेल १–१ बराबरीमा पुगेको हो ।
निर्धारित समय बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट भएको हो । टाइब्रेकरमा एपिएफका सबिता राना, अनिता बस्नेत, निशा थोकर र रश्मिकुमारी घिसिङले गोल गर्नुभयो । एपिएफकी रेनुका हमालको प्रहार आर्मीकी गोलकिपर कोपिला खड्काले रोक्नुभयो । यता आर्मीबाट बिमला बिक र अनिता लम्जेलले मात्रै गोल गर्नुभयो । आर्मीकी बिमला चौधरी र सुस्मिता चौधरीको प्रहार एपिएफकी गोल किपर अन्जना रानामगरले बचाउँनुभयो । अन्जना आजको खेलको प्लेयर अफ द म्याच हुदै नगद १५ हजार रुपैँया प्राप्त गर्नुभयो ।
प्रतियोगिताको विजेता टोलीले नगद १० लाख १० हजार रुपैयाँ, उपविजेताले पाँच लाख रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ र उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक, उदीयमान खेलाडी र उच्च गोलकर्तालाई २५ हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिताको फाइनल खेल कात्तिक २४ गते हुनेछ ।


