Kanakai Online

साहित्य सिर्जना र संवादको ७० औ श्रृखला विराटनगरमा


शुक्रवार, असोज १०, २०८२ |

कनकाई अनलाईन
राष्ट्रसेवक ऋण तथा बचत सहकारी संस्था विराटनगरद्वारा मासिक रूपमा आयोजना गरिने ’साहित्य सिर्जना र संवाद ’को ७० औँ शृङ्खला आज शुक्रबार सम्पन्न भएको छ।
संस्थाको सभाहलमा साहित्यकार शिवनारायण सिंघलको सभापतित्व, कवि तथा साहित्यिक पत्रकार अच्युत घिमिरेको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको सञ्चालन साहित्यकार गोपाल निर्भीकले गरेका थिए । उक्त कार्यक्रममा भवानीप्रसाद पोखरेल,गोविन्द ढुङ्गाना,बाबुराम पोखरेल,शैलेन घिमिरे,शम्भुप्रसाद भट्टराई,डोमी कामत,विकल्प कौशिक,रिज्मा रेग्मी, निर्मला नेपाल,रेवतीरमण रेग्मी, एकनाथ ढकाल,सरिता तुलाधर,गोविन्द भगत,प्रिन्स प्रमोद ढकाल,भरत बर्बरिक,गोपाल निर्भीकले आ – आफ्ना कविता वाचन गरेका थिए। प्रमुख अतिथि अच्युत घिमिरेले मन्तव्यको क्रममा सांस्कृतिक र भाषिक विविधतायुक्त हाम्रो देशमा बोलिने सबै भाषालाई सिर्जनाका माध्यमबाट समान महत्त्व दिँदै अघि बढ्नुपर्ने र कोसी प्रदेशको केन्द्र विराटनगर नेपाली साहित्यको लागि उर्वर भूमि भएको र यहाँका स्रष्टाहरू निरन्तर सिर्जनाकर्ममा लागिरहनुभएको कुरा बताउनुभयो । सभापतिले मतव्यसहित कविता वाचन गरेका थिए । नगेन्द्रमणि न्यौपाने र विद्या न्यौपानेले प्रत्येक महिना गोलाप्रथाबाट एक जनालाई दिइने गरी राखिदिनुभएको रुपैयाँ ११००÷– को सहभागी प्रोत्साहन पुरस्कार यसपटक सरिता तुलाधरलाई प्रदान गरिएको थियो।

सम्बन्धित खबर