
कनकाई अनलाईन
अघिल्लो बर्षकाझै यसबर्षपनि यहाँस्थित बंगाली समाज समाज सेवा समितिले कनकाई ३ कालिस्थानमा तीन दिनसम्म भव्य रुपमा माँ मनसा देविको पुजा भदौ ११ गतेदेखि १३ गतेसम्म गर्ने भएको छ ।
विगत ५ बर्षदेखि यहाँको बंगाली समाजले कनकाई ३ सुरुङ्गाको कालिस्थानमा मनसादेविको पुजा आरधना गर्दै आइरहेको छ । अघिल्ला बर्षको भन्दा यस बर्षको पुजालाई थप व्यवस्थित गरिएको बंगाली समाजले जानकारी गराएको छ । पुजाको तयारीको बारेमा जानकारी दिने उद्धेश्यले आज सुरुङ्गामा पत्रकार सम्मेलनको आयोजना गरिएको छ । पत्रकार सम्मेलनमा बंगाली समाज सेवा समिति कनकाईका अध्यक्ष पंकज मण्डलले सुरुङ्गा कालिस्थानमा हुने तीन दिने धार्मिक अनुष्ठान माँ मनसा देवी पूजा हुनेमा देशभरका बंगाली समाज र अन्य समुदायका भक्तजनहरुको समेत ठुलो सङख्यामा भेला हुने जानकारी दिनुभएको छ । हामीले अघिल्लो बर्षमा भएको पुजामा जप धार्मिक गतिविधि सास्कृतिक कार्यक्रम धार्मिक झाँकी र ताण्डप नृत्य लगायातका सास्कृतिक कार्यक्रमको समेत आयोजना गरेका छौ । ताण्डव नृत्यमा माधव भेटवाल देखि राष्ट्रिय कलाकारमा रोषन अधिकारी लगायातको विशेष प्रस्तुति रहने छ पत्रकार सम्मेलनमा अध्यक्ष पंकज मण्डलले जानकारी दिनुभयो । भदौ ११ देखि १३ गतेसम्म हुने यस पूजालाई विशेष भव्य बनाउन आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका उपाध्यक्ष बिगम मण्डलले बताउँनुभयो । पुजालाई धार्मिक र सास्कृतिक बनाउनका लागि विभिन्न उपसमिति बनाइएको र अन्य क्षेत्रबाट समेत कलाकार र भक्तजन आउने र झाँकी सहितको सजिसजाउँ टोलीले सुरुङ्गा बजार परिक्रमा गरेर कालिस्थान मनसादेवि थानमा सामेल हुने उपाध्यक्ष मण्डलले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा समाजका सचिव रविन मण्डलले पुजा सम्पन्न गर्न करिव साढे ५ लाख रुपैँया खर्च हुने र यसको व्यावस्थापन बंगाली समाजका सदस्यहरु र अन्य संघ संस्था सामाजिक व्यक्तित्व र कनकाई नगरपालिका र वार्ड कार्यालयबाट संकलन गरिने लक्ष्य रहेको समेत सचिव रविन मण्डडले बताउँनुभयो । यस पुजा गर्नाले नाग देवताले दुख्ख नदिने जनविश्वास रहिआएको बंगाली समाज कनकाईकी सहसचिव मिना मण्डलले जानकारी गराउँनुभयो ।
पत्रकार सम्मेलनमा निर्मला मण्डल, श्रवण मण्डल, मनोज मण्डल, बंगाली समाज कनकाईका सल्लाहकार पवनकुमार मण्डल लगायातले बंगाली सेवा समाजले यस क्षेत्रमा विभिन्न सामाजिक गतिविधिहरु सञ्चालन गर्दै आइरहेको र समाजले मनसादेविको पुजालाई मुख्य कार्यक्रमको रुपमा हरेक बर्ष सञ्चालन गर्दै आइरहेको जानकारी दिनुभयो ।
३ दिनसम्म सञ्चालन भएपनि भदौ १२ गतेलाई विशेष दिनको रूपमा सास्कृति कार्यक्रम र झाँकी सहित कार्यक्रम गर्न लागिएको जनाइएको छ । जसमा सो दिन कनकाई माई नदीबाट जल लिएर धनुषकोटी धाम जाने बाटोमा रहेको ग्रामथानमा झाँकीसहित पदयात्रा निकालिने, रात्रीकालिन भजन, धार्मिक नाटक र विविध शिव ताण्डवलगायत झाँकी प्रदर्शन गरिने छ ।
पूजा आयोजना समितिको संयोजकमा अमित मण्डल रहनुभएको छ । कार्यक्रममा बंगाली समुदायको मौलिक सभ्यता, भेषभूषा, खानपान र सांस्कृतिक पहिचानलाई झल्काउने उद्देश्यसहित पूजाको आयोजना गरिएको संयोजक मण्डलले बताउँनुभयो ।
माँ मनसा देवीको महत्व
माँ मनसा देवीलाई हिन्दू धर्ममा सर्पदेवीको रूपमा पूजिन्छ । विशेषगरी बंगाली समुदायमा मनसा देवीको पूजा दीर्घायु, परिवारको सुख–शान्ति, धान्य–धान्यको वृद्धि तथा सर्पदंशबाट मुक्ति मिलोस् भन्ने श्रद्धासहित गरिन्छ । विश्वास गरिन्छ, भक्तिपूर्वक पूजा गर्दा देवी मनसाले भक्तजनका दुःख–कष्ट हटाई स्वास्थ्य, समृद्धि र सम्पन्नता दिन्छिन् ।
नेपालका साथै भारतको पश्चिम बंगाल, असम, त्रिपुरा जस्ता क्षेत्रमा यो पूजा अत्यन्त लोकप्रिय मानिन्छ ।


