Kanakai Online

काउन्सिल अध्यक्षमा पहिले बालकृष्ण रोकिए,पछि बाला छेकिइन्


बुधवार, साउन २९, २०८२ |

कनकाई अनलाईन
प्रेस काउन्सिल नेपालको रिक्त अध्यक्षमा नियुक्तिका लागि गरिएको पटक पटकको प्रयासमा काँग्रेसले नै छिर्के हानेको एमाले नेताहरु बताउँछन् । पहिले बालकृष्ण बस्नेतको नाममा आपत्ति जनाउँदै बाला अधिकारीको नाम अघि सारेको नेपाली काँग्रेसले अस्ति रातिको क्याबिनेट बैठकमा उनै बालाको नाममा ताला लगाइदिएको एक जना मन्त्रीले बताए ।

काउन्सिलमा पहिलो महिला अध्यक्ष बनाउने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘कन्भिन्स’ गराएको काँग्रेस नेतृत्वले पछि अनेक खोचे थापेको उच्च स्रोतको दावी छ । काँग्रेससम्बध्द प्रेस युनियनकी नेत्री बाला अधिकारीलाई नियुक्त गर्ने तयारी अन्तिम चरणमा पुगेकोमा क्याबिनेट बैठकमा गृहमन्त्री रमेश लेखकले यसवारे कुरै टुङ्गिएको छैन भनेपछि सञ्चार मन्त्रालयको उक्त एजेण्डा एकाएक रोकिएको बताइन्छ ।

गत जेठदेखि नेतृत्वविहीन काउन्सिलमा अधिकारीलाई लैजाने सहमति नेपाली काँग्रेस र एमाले नेतृत्वबीच जुटेको थियो । तर अस्तिको क्याबिनेट बैठकमा काउन्सिल अध्यक्षको कुरा उठ्नेबित्तिक्कै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘पछि गरौंला’ भन्नुभयो ।

प्रेस काउन्सिलको नेतृत्व चयनमा काँग्रेसले लफडा गरेको एमाले नेतृत्वको बुझाइ छ । बालुवाटार निकट एमाले मन्त्रीले भने, ‘एउटै विषयलाई काँग्रेसले दुई महिना हल्लाइदियो । पहिले उनीहरुले मागेकाले प्रधानमन्त्रीले पनि ‘लौ हुन्छ,काँग्रेसलाई दिने’ भन्नुभयो । त्यसपछि उनीहरुले बाला अधिकारीलाई अगाडि सारे । अहिले उनैलाई हुँदैन भनेपछि प्रधानमन्त्रीले रोक्नुभयो ।’

काउन्सिलका निवर्तमान अध्यक्ष बस्नेतलाई पुनः नियुक्त गर्न अघि सरेको एमालेको एउटा तप्कालाई रोक्दै काँग्रेसले आफ्नो भागमा पारेपछि बालाले बायोडाटासमेत बुझाइसकेकी थिइन् । तर,काँग्रेसहरुले नै विरोध गरेपछि त्यो विषय अहिले पेण्डिङमा पुगेको छ ।

यसअघि बालुवाटार स्रोतले बालाको नियुक्तिमा देखिएको अवरोधबारे जनआस्थालाई भनेको थियो, ‘काँग्रेसबाटै के के कुरा आयो जस्तो छ । उनीसम्बन्धी पहिले प्रकाशित समाचारहरुको कटिङ्ग लगेर काँग्रेसबाटै झोसपोल लगाइएपछि प्रधानमन्त्रीले पछि गरौंला भनी टार्नुभएको बुझिन्छ । पहिले हुन्छ भनेर टिप्पणी उठ्यो तर पछि काँग्रेसले नै खुट्टा कमाएपछि आरजू म्याडम पनि पछि हटेको रुपमा बुझौं न यसलाई १’

एमाले निकट बालकृष्ण बस्नेतको ४ वर्षे कार्यकाल सकिएसँगै गत जेठदेखि काउन्सिलमा अध्यक्ष पद रिक्त छ । एमालेबाट निवर्तमान अध्यक्ष बस्नेतसहित गोपाल खनाल,अखण्ड भण्डारी,तीर्थ कोइराला,रघु मैनालीको नाम चर्चामा थियोे । तर भित्रभित्रै भएको सहमतिपछि कांग्रेसनिकट बालालाई नयाँ अध्यक्ष नियुक्त गर्न मन्त्रालयबाट प्रस्ताव क्याबिनेटमा लगिएको हो ।

सम्बन्धित खबर