Kanakai Online

झापामा २ बर्षमा गरे १७० ले नागरिकता परित्याग


आइतवार, साउन १२, २०८२ |

कनकाई अनलाईन

झापामा पछिल्लो दुई वर्षमा १ सय ७० जनाले नेपालीले नागरिकता परित्याग गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय झापामार्फत गत आर्थिक वर्ष २०८०÷०८१ मा १ सय ८ र आर्थिक वर्ष २०८१÷८२ मा ६२ जना गरी १ सय ७० ले नेपालीले नागरिकता परित्याग गरी गैरआवासीय नागरिकता लिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ ।
गत असोज ३० गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले बालुवाटारमा आयोजित कार्यक्रममा दुई गैरआवासीय नेपालीलाई नागरिकताको प्रमाणपत्र प्रदान गरेका थिए । त्यसयता, गैरआवासीय नेपालीहरुलाई नागरिकता वितरण शुरु भएको हो ।
२०७२ मा जारी भएको संविधानमा गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने व्यवस्था गरिएको छ । संशोधित नागरिकता ऐन, २०७९ मा भनिएको छ, ‘त्यस्ता व्यक्तिले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको उपभोग गर्न पाउने गरी गैर आवासीय नेपाली नागरिकता प्राप्त गर्न सक्नेछ ।’ तर, संविधान जारी भएको ८ वर्षसम्म नागरिकता ऐन संशोधन भएका कारण उनीहरुले नागरिकता पाएका थिएनन् ।

गैरआवासी नागरिकता लिने प्रक्रिया
गैरआवासीय नेपाली नागरिकता लिनका लागि विदेशी मुलुकको नागरिकता पाएर सार्क मुलुकबाहेक अन्यत्र बसोबास गरेको हुनुपर्नेछ । नेपालको संविधानको धारा ८७ (क) मा भएको व्यवस्था अनुसार सार्क मुलुकमा बसोबास गर्ने नेपालीले यो सुविधा पाउँदैनन् ।
त्यसरी विदेशको नागरिकता पाएको व्यक्तिको आफ्नो बाउ वा आमा, बाजे वा बज्यै नेपाली नागरिक भएको पुष्टि हुने प्रमाण दिनुपर्नेछ । आफूले नेपाली नागरिकता लिएको भए त्यागेको प्रमाण दिनुपर्छ । अनि विदेशी मुलुकको नागरिकता भएको र आफू सार्क मुलुक बाहेकको देशमा बसोबास गरेको प्रमाण पनि पेश गर्नुपर्छ ।
नेपाली नागरिकता लिएर प्रमाणपत्र फिर्ता नबुझाएको व्यक्तिले गैरआवासीय नेपाली नागरिकता लिँदा पुरानो प्रमाणपत्र फिर्ता गर्नुपर्छ । नागरिकता पाउने भएमा तोकिए अनुसार शपथ समेत लिनुपर्नेछ । उसले झुटो विवरण बुझाएको पुष्टि भएमा अनि नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता तथा राष्ट्र हित विपरीत काम गरेको ठहरेमा प्रमाणपत्र नष्ट हुने व्यवस्था छ ।गत आव २०८१÷०८२ मा कार्यालयले वंशज २२ हजार ४० र वैवाहिक अंगीकृत ६ सय ७५ गरी २२ हजार ७ सय १५ वटा नागरिकता वितरण गरेको जिल्ला प्रशासन कार्यालय झापाका सूचना अधिकारी सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले जानकारी दिनुभयो ।
त्यस्तै, कार्यालयबाट २२ हजार चार सय ५५ जनाले नागरिकताको प्रतिलिपि लिएका छन् । सोही अवधिमा २२ हजार ४ सय ३२ वटा राहदानी वितरण गरिएको कार्यालयले जनाएको छ । ७ सय ८९ वटा नाबालक परिचयपत्र प्रदान गरिएको सूचना अधिकारी प्रसाईंले बताउनुभयो ।
कार्यालय सोही अवधिमा पारिवारिक पेन्सन, शपथ–पत्र र हलपहल सम्बन्धी सिफारिस दुई सय ६२ वटा, संस्था दर्ता ७८, संस्था नवीकरण ७ सय २१, जातीय प्रमाणित ५ सय २९ र राष्ट्रिय परिचयपत्रका लागि एक लाख सात हजार ७२ जनाको लागि विवरण संकलन गरेको छ । कार्यालयले हालसम्म तीन लाख ५५ हजार पाँच वटा राष्ट्रिय परिचयन पत्र वितरण गरेको सहायक प्रमुख जिल्ला अधिकारी प्रसाईंले बताउनुभयो । कार्यालयले प्रकोप पीडित १९ जना (पाँच जना मृतकसहित) लाई १ करोड १९ लाख ९० हजार रुपैयाँ राहत वितरण गरेको छ भने १ सय ९ वटा हतियार नवीकरण गरेको छ । अभद्र व्यवहार सम्बन्धी २७ वटा, सवारी ज्यान क्षतिपूर्तिसम्बन्धी १८ वटा र झुटा अफवाह सम्बन्धी एक वटा मुद्दा फस्र्यौट गरिएको कार्यालयले जनाएको छ । कार्यालयले सोही अवधिमा रू ११ करोड २१ लाख २८ हजार दुई सय २६ राजश्व संकलन गरेको छ ।

सम्बन्धित खबर