कनकाई अनलाईन
झापाका पत्रकार उद्धव पुरीलाई डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कार–२०८२ प्रदान गरिएको छ । जनपक्षिय पत्रकार कौडिन्यको नामबाट स्थापित यस पुरस्कारबाट आज पुरी पुरस्कृत भएका हुन् ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाले जनपक्षीय पत्रकार देवकुमार आचार्य ९डि कौडिन्य० को नामबाट स्थापना गरेको डि कौडिन्य स्मृति पत्रकारिता पुरस्कारबाट यस वर्ष पत्रकार पुरी पुरस्कृत भएका हुन् । पुरस्कारको राशि ४२ हजार रुपैयाँ रहेको छ । युवा नेता तथा माओवादी केन्द्रका केन्द्रिय सदस्य रन्जित तामाङ्ग, डिकौडिन्यकी धर्मपत्नी यमुना आचार्य लगायातले आज बिर्तामोडमा पत्रकार पुरीलाई उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।
बिर्तामोडबाट प्रकाशित शब्दपत्र डटकमका सञ्चालक सम्पादक पुरी दुई दशकदेखि सक्रिउ पत्रकारिता गर्दै आएका छन् । उनी यसअघि ब्लाष्ट टाइम्स दैनिकमा आबद्ध थिए ।
२०५९ साल साउन ७ गते आचार्यसहित शंकर घिमिरे र खगेन्द्र दंगाल तत्कालीन शाही नेपाली सेनाले गरेको कारबाहीमा मारिएका थिए । जनपक्षीय पत्रकार आचार्यको स्मृतिमा यो पुरस्कार स्थापना भएको हो ।
उक्त पुरस्कारको राशी यसैबर्षबाट २१ हजारबाट दोब्बर बनाइएको हो । यसअघि यस पुरस्कारबाट पत्रकारहरु चन्द्र भण्डारी, लीला बराल, गञ्जबहादुर दाहाल, बिमल लामिछाने, केशव भट्टराई, जीएन शर्मा, लीलाराज झापाली, झुलन रेग्मी, दिपक अधिकारी लगायात सम्मानित तथा पुरस्कृत बनिसकेका छन ।
यता प्रेस सेन्टरका प्रदेश सदस्य आईपी भट्टराईले डि कौडिन्य पत्रकारिता पुरस्कारको कोष अभिवृद्धिका लागि ५५ हजार ५ सय ५५ रुपैँया प्रदान गर्नुभएको थियो । भट्टराई सहित अन्य दाताहरुलाई समेत सम्मान गरिएको थियो । कार्यक्रम प्रेस सेन्टर झापाका अध्यक्ष पुष्प खडकाको सञ्चालन तथा सचिव प्रकाश उप्रेती र सहसचिव राजन साम्पाङ्गको सञ्चालनमा सम्पन्न भएको थियो ।


