कनकाई अनलाईन
नेकपा एमालेमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पुनरागमन घोषणासँगै शुरु भएको कित्ताबन्दीको राजनीतिले पूर्वमाओवादीसहित नवप्रवेशीहरू ‘साँढेको जुधाई बाच्छाको मिचाइ’ मा पर्ने देखिएको छ । अध्यक्ष केपी शर्मा ओलीसँगको निकटता र विशेष सम्बन्धका कारण विभिन्न पार्टी छोडेर एमालेमा मिसिएकाहरू यसै पनि अस्तित्व रक्षाको संकटमा छन् । प्रतिष्पर्धामा उत्रिएर पार्टीमा बलियो उपस्थिति जनाउने हैसियतमा नरहेका तर अध्यक्षको सहानुभूतिले अहिलेसम्म जसोतसो टिकिरहेका उनीहरू ओलीको नेतृत्वमाथि नै चुनौती तेर्सिन थालेपछि स्वतः अप्ठेरोमा परेका हुन् ।
नेकपा एमालेमा माओवादीबाट प्रवेश गरेकाहरूको एउटा ठूलै समूह छ । तत्कालीन नेकपा विभाजनपछि आफैँले रगत, पसिना बगाएर बनाएको पार्टी चटक्क छोडेर एमालेमा लागेका उनीहरूलाई उचित जिम्मेवारी नदिइएको गुनासो सुनिन्छ । जिम्मेवारी नपाएर बेरोजगार बनेका माओवादी र मसाल पृष्ठभूमिका नेताहरूको लामै सूची छ । नेकपा विभाजनबाट कमजोर बनेका ओलीले आफ्नो शक्ति सञ्चय गर्न मन्त्री अफर गरेपछि रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी, दावा लामालगायतले एमाले रोजेका थिए तर यतिबेला उनीहरू सबैजसो एमाले राजनीतिबाट बाहिर छन् ।
जनयुद्धका बेला सैन्य रणनीतिकारका रूपमा चर्चा गरिएका बादल एमालेमा मिसिने माओवादी नेताहरूमध्ये सबैभन्दा माथिल्लो तहका नेता हुन् । तर, उनी औपचारिक बैठकमा बाहेक अन्यत्र देखिन छोडेको धेरै समय भइसक्यो । तत्कालीन नेकपाको ९ सदस्यीय सचिवालयमा समेत रहेका बादल गृहमन्त्री पनि थिए । त्यसबेला पार्टीभित्र चर्केको अन्तरविरोधमा तटस्थ बसेका उनी अन्तिम घडीमा गृहमन्त्रीमा निरन्तरता सुनिश्चित गराएर ओलीतिर खुले । आफू पक्षधर झण्डै पाँच दर्जन केन्द्रीय सदस्यलाई माओवादीमै छाडेर एमालेमा मिसिएका उनी अहिले सेनाबिनाको कमाण्डर बनेर बसेका छन् । उनीसँगै च्यासल पसेका २३ जना केन्द्रीय सदस्यमध्ये कतिपय पुरानै घर फिर्ता हुँदा केही राजनीतिबाटै किनाराकृत भएका छन् ।
पार्टी फुटका बखत बालुवाटार बोलाएर ओलीले उनलाई आफूपछिको वरीयतामा उपाध्यक्ष दिने कबोल गरेपछि त्यता लागेको भनिएको थियो । तर, अहिले आधा दर्जन उपाध्यक्षको हुलमा उनी अन्तिमतिर छन् । एमालेका एक जना नेताले बताएअनुसार बादल बैठकमा जान्छन्, मुख हेरी बस्छन् अनि खुरुक्क निस्किन्छन् । बैठकमा पनि केही बोल्दैनन् । अनौपचारिक भेटमा कसैसँग कुरा गर्दैनन् । अध्यक्ष ओलीले लाए–अह्राएको गर्ने उनी केही महिनाअघि मोरङ जिल्ला कमिटीको अधिवेशन उद्घाटन गर्न पुगेका थिए । तर, अध्यक्षको चाहनाअनुसार कमिटी निर्वाचित गराउन सकेनन् ।
जनयुद्धको विरासत छाडेर एमाले बनेका अर्का नेता लेखराज सचिव छन् । तर, नाम मात्रको पदको भारी बोकाइएका उनी खासै सक्रिय देखिएका छैनन् । अर्का नेता टोपबहादुर रायमाझीको त राजनीति नै लगभग समाप्त भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल परेका उनको पार्टी सचिव र सांसद पद निलम्बित छ । गत चुनावमा पार्टीमा विद्रोह गरी स्वतन्त्र उठेर सांसद जितेका प्रभु साह आफ्नै नेतृत्वमा आमजनता पार्टी गठन गरेर देशव्यापी संगठन निर्माणमा लागेका छन् । ओलीलाई साथ दिएबापत गैरसांसद हुँदा पनि मन्त्री बनेका मणि थापा राजनीतिबाट पलायन भए । ६ महिना खानेपानी तथा सरसफाइमन्त्री भएका बखत ‘श्री ५ को सरकार यो काम गर्न प्रतिबद्ध छ’ भन्ने भाइरल भाषण गरेका उनी गत वर्षदेखि सार्वजनिक कार्यक्रममा कतै देखिएका छैनन् ।
त्यसो त, एमालेको १० औँ महाधिवेशनमा अध्यक्ष ओलीले सर्वसम्मत नेतृत्व चयनको पहल गरेकै कारण बादल, लेखराज र मणिहरूले पद पाएका हुन् । चुनाव भएको अवस्थामा उनीहरूलाई पदाधिकारी जित्न सजिलो थिएन । अर्कोतिर, एमालेभित्र पूर्वमाओवादी समूह आफैँमा एकताबद्ध छैन ।
‘एमाले नोकरशाही प्रकृतिको पार्टी भयो, अन्तबाट आएकाहरूलाई यहाँ टिक्न निकै गाह्रो छ’, एक जना पूर्वमाओवादी नेता भन्छन्, ‘योगदान र क्षमताले भन्दा पनि हाट्टहुट्ट गर्न सक्ने र पैसा भएकाहरूले मात्र अवसर पाउने स्थिति छ । आर्थिक रूपमा अलि सम्पन्न भएको हिसाबले लेखराज भट्टचाहिँ टिकेका छन्, अरूले सक्दैनन् अब ।’
नेतृत्वमा रहेका बादल, लेखराजहरूले नै ‘सौतेनी व्यवहार’ खेपिरहँदा तल्लो तहमा पनि उस्तै उकुसमुकुसको स्थिति देखिन्छ । थुप्रै नेता–कार्यकर्ता पुरानै घर फर्किसके भने विभिन्न बाध्यताले एमालेमै रहेकाहरू खुशी छैनन् । एमाले प्रवेशसँगै महोत्तरीको इञ्चार्ज बनेका टेकबहादुर बलाम्पाकीसहितको एक समूह धेरै पहिले माओवादी केन्द्रमा फर्किएको थियो । अर्का केन्द्रीय सदस्य बालकृष्ण काउचाहरू पनि पुरानै घर फर्किसके । अहिलेसम्म जेनतेन अडिएका बाग्लुङका लिलबहादुर थापाहरूले कतिबेला विद्रोह गर्ने हो थाहा छैन ।
पार्टीले जिम्मेवारी बाँडफाँडमा पूर्वमाओवादी र मसाल समूहलाई हेलाँहोचोको भावना राखेको गुनासो उनीहरूको सुनिन्छ । ०५४ सालमै जिल्ला नेतृत्वमा पुगेका लीलाबहादुरलाई निर्वाचन क्षेत्र नम्बर २ को इञ्चार्ज बनाएर उनीभन्दा निकै जुनियर मना केसीलाई जिल्ला इञ्चार्ज बनाइएको भन्दै पूर्वमाओवादीहरूले चित्त दुखाएका छन् ।
‘एमालेमा अन्य पार्टीबाट आउनेहरूको स्थिति हेर्ने हो भने बाग्लुङमा धेरै छन् । माओवादी र मसालको समेत रामै जनाधार भएको बाग्लुङमा गत चुनावमा एमालेले पहिलो समानुपातिक मत पनि ल्यायो’, अर्का नेताले जनआस्थासँगको कुराकानीमा गुनासो पोखे, ‘तर, लीला थापाहरूलाई मात्र होइन मञ्जु चालिसे, नवराज शर्माजस्ता कांग्रेसबाट आएकाहरूलाई पनि जिम्मेवारी दिइएको छैन । रोएर हिँडेका छन् ।’
पूर्वमाओवादीको तल्लो तहका नेताहरू यसरी अपमान सहेर बस्न हुँदैन, अलग्गै भेला–बैठक गरेर आफ्नो बिरासत जोगाउनुपर्छ भन्नेमा छन् । छुट्टै अस्तित्व देखाएर पार्टीका जिम्मेवारीमा सम्मानजनक हैसियत खोज्नुपर्ने माग उनीहरूको छ । तर, नेतृत्व गर्ने मान्छेको अभावले गर्दा भनेजस्तो हुन सकिरहेको छैन । ‘हिजो मालेका कार्यकर्ताले माक्र्सवादीहरूलाई हेपेजस्तै अहिले माओवादीबाट आएका हामी सौतेलो व्यवहार भोगिरहेका छौँ’, एमालेका पूर्वमाओवादी नेता भन्छन्, ‘हाम्रो आफ्नै यत्रो विरासत छ, त्यो जोगाउनको लागि भए पनि बलियो हुनुप¥यो भन्दा कसैले सुन्दैन । बादल त झन् ढुंगो बोल्ला, बोल्दैनन् ।’
एमालेबाट निर्वाचित संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि पनि माओवादी पृष्ठभूमिका निकै कम छन् । संघमा प्रत्यक्ष चुनाव जित्ने टोपबहादुर एक मात्र सांसद थिए तर त्यो पद खेर गएको छ । बादलपत्नी नैनकला थापा समानुपातिक सांसद छिन् । प्रदेशमा माओवादीबाट गएकाहरूले पाएको भनेको गण्डकीमा एक सिट मात्रै हो । त्यहाँ लीलाबहादुर थापा समानुपातिक सांसद छन् । ‘२३ जना केन्द्रीय सदस्य थिए बादलसँग । उनले राम्रोसँग लिड गरेको भए कम्तीमा २० वटा पालिका, १० प्रदेश सभा सदस्य र केन्द्रमा ५–७ जना सांसद पाउने सम्भावना थियो विरासतको हिसाबले पनि । तर, त्यो ढुंगालाई भन्नु र नभन्नुको के अर्थ ?


