कनकाई अनलाईन
नेपाली कांग्रेसका वरिष्ठ नेता डा। शेखर कोइरालाले नेपालमा राजा फर्काउने कुरा पेरिसको चिया पसलको गफजस्तै भएको टिप्पणी गरेका छन् ।
राजावादीहरुले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन गर्न लागेको आन्दोलनलाई उनले फ्रान्सको पेरिसमा रहेको एउटा चिया पसलमा सयौ वर्षदेखि चलिरहेको चिया गफको संज्ञा दिएका हुन् ।
नेपाल प्रेस युनियन झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘राजाको कन्टेन्टमा हेर्ने हो भने यो हरेक देशमा यो चलिरहेको हुन्छ आज पनि तपाई फ्रान्स जानु भयो भने त्या एउटा चिया पसल छ ।चिया पसलमा गफ के हुन्छ भने राजा फर्काउनु पर्छ भन्ने हुन्छ । राजा गएको सयौं बर्ष भयो र पनि यसले के देखाउँछ भने द्वन्द्व चलिरहेको हुन्छ ।’ उनले खाली राजाको गफ मात्र गरेर हँुदैन राजनीतिक दलहरुले जनतालाई कतिको खुशी पार्न सकेका छन् । गणतन्त्र ल्याएर गणतन्त्रले जनतालाई भरोसा दिलाउन सकेको छ कि छैन भन्ने कुरा महत्वपूर्ण भएको बताए ।
उनले राजा फर्किने कुरामा विश्वास गर्न नसकिने बताए ।‘मलाई लाग्दैन माई खोलामा धेरै पानी बगिसक्यो राजा फर्किने मलाई विश्वास छैन ’ उनले भने,‘ तर कोसिस मान्छेले गरिराख्या हुन्छ कोसिसलाई चेक गर्ने हो , हामीले राम्रो काम गरेर चेक गर्ने यो राजाको कन्टेन्टमा ।’ उनले दुर्गा प्रसाईको बारेमा खासै टिप्पणी गर्न चाहेनन् । ‘दुर्गा प्रसाई व्यक्तिको बारेमा यसमा धेरै नबोलुम् । व्यक्तिमा स्वतन्त्रता छ ’ उनले भने ।
राजनीतिक पार्टीहरु कमजोर भयौ कि मनस्थिति कमजोर भएर काम गर्न सकेनौ कि भन्ने अहिलेको मुख्य सवाल भएको भन्दै कांग्रेसका वरिष्ठ नेता कोइरालाले मान्छे किन सडकमा उत्रिराख्या छ अस्तिसम्म त उत्रिदैन थियो । किन मोटरसाइकल र्याली भयो भनेर सोच्न जरुरी भएको बताए । उनले कांग्रेस सत्तामा भएपनि सरकारमा नरहेको भन्दै केपी ओली नेतृत्वको सरकारको कामकारवाहीप्रति असन्तुष्टि व्यक्त गरे । सत्तामा रहेका दुई दलले संघीय , प्रदेश र स्थानीय सरकार संचालनका लागि बनाएको संयन्त्रप्रति उनको आपत्ति थियो ।
कांग्रेसको आगामी महाधिवेशनका सम्बन्धमा उनले २०८२ चैत मसान्तभित्र सो महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखेका थिए । नेपाल प्रेस युनियन झापाका अध्यक्ष गिरीराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव अर्जुन राजवंशीले गरेका थिए ।