Kanakai Online

लागु औषध नियन्त्रणमा सुरुङ्गा प्रहरी आक्रमक


मङ्गलवार, फागुन ६, २०८१ |

कनकाई अनलाईन
पछिल्लो समय झापाको मुख्य ट्रान्जिट पोइन्ट बनेको दक्षिणी कुमरखोदको लसुनगञ्ज नाकाबाट लागूऔषध भित्र्याएर कन्काई नगरपालिकालाई कारोबारीहरुले अखडा बनाएपछि प्रहरी आक्रामक भएर लागेको छ ।
केही समययता पूर्वी नाका काँकरभिट्टा र भद्रपुरभन्दा लसुनगञ्ज नाकालाई कारोबारीहरुले उपयुक्त ठानेपछि लागूऔषधको धन्दा मौलाएको हो । लसुनगञ्ज नाकाको सिधा कनेक्सन कनकाई नगरपालिकासंग जोडिएको छ । लसुनगञ्ज नाकाबाट अमरपथ हुँदै कन्काई नगरपालिकामा लागूऔषध भित्र्याएर कारोबारीहरुले सुरुङ्गामा अखडा नै बनाएका छन् । सुरुङ्गामा रहेका डिलरबाट दमक, इलाम , धरानलगायतका ठाउँमा लागूऔषध आपूर्ति हुने गरेको बताइन्छ । अमरपथको बाटो हुँदै लसुनगञ्ज र सुरुङ्गाको दूरी मात्र २४ किलोमिटर रहेको छ ।

यसरी कनकाई नगरपालिकामा लागूऔषधको कारोबार फस्टाउँदै गएपछि प्रहरीले पहिलोपटक गोली चलाएर दुईजना कारोबारीलाई पक्राउ गरेको छ । गत माघ २२ गते गोली हानेर लागूऔषधका दुई भारतीय कारोबारीलाई सुरुङ्गा प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय सुरुङ्गाको इन्चार्जको रुपमा प्रहरी वरिष्ठ नायव निरीक्षक राधाकृष्ण दाहाल आएपछि लागूऔषध नियन्त्रणका लागि प्रहरीले मिसन नै शुरु गरेको छ ।

भद्रपुर वडा प्रहरी कार्यालयबाट आएर सुरुङ्गा प्रहरीको कमाण्ड सम्हालेको दाहालले करिव तीन साता जति भएको छ । त्यस अवधिमा लागूऔषधका दुई भारतीय कारोबारीसहित तीनजना पक्राउ परिसकेका छन् । त्यस्तै अदालतबाट सजाय तोकिएर फरार रहेका तीनजनालाई उनले पक्राउ गरी अदालतसमक्ष पेस गरेका छन् । तालिम केन्द्र विराटनगरमा प्रशिक्षक रहेका दाहालको नेतृत्वमा सादा पोशाकमा प्रहरी टोली अपरेशनमा खटिने गरेको जनाइएको छ । लागूऔषध ठूलो समस्याको रुपमा देखिएपछि मिसनकै रुपमा खटिएको प्रहरी वरिष्ठ नायव निरीक्षक दाहालले बताए । उनले प्रहरी एक्सनसंगै सचेतनामूलक कार्यक्रमहरु पनि संचालन गर्न लागिएको जानकारी दिए ।

सुरुङ्गा प्रहरीले चालेको कदमप्रति स्थानीय जनप्रतिनिधिहरुले प्रशंसा गरेका छन् । लागूऔषधको समस्या भयावहरुपमा बढिरहेकाले प्रहरी प्रशासन अब निर्मम भएर लाग्नुपर्ने कन्काई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । अहिलेका प्रहरी इन्चार्जले देखाएको सक्रियता राम्रो रहेको भन्दै उनले त्यस अभियानमा स्थानीय सरकारको सहयोग रहने धारणा राखे । अपरिचित व्यक्तिहरुलाई कोही कसैले पनि बास दिन नहुने भनेर नगरपालिकाले अपिल गर्दै आएको उनले जानकारी दिए ।

त्यस्तै कन्काई ३ का वडाध्यक्ष युवराज चम्लागाँईले लागूऔषधको रेडजोनमा परेको सुरुङ्गालाई त्यस समस्याबाट न्यूनीकरण गर्न वडा कार्यालयका तर्फबाट प्रहरीलाई सक्दो सहयोग र समन्वय रहने बताए । उनले बालमैत्री नगरपालिका घोषणा हुन लागेको कन्काईमा देखिएको लागूऔषधको समस्या न्यूनीकरणका लागि बालक्लबहरुलाई पनि परिचालन गर्न आबश्यक रहेको जोड दिए ।

कन्काईमा लागूऔषध दुव्र्यसनी बढेसंगै पुनस्र्थापना केन्द्र पनि थपिदै गएका छन् । कनकाई ३ मा ३ वटा र वडा न ४ मा एउटा पुनस्र्थापना केन्द्र खोलिएका छन् । इलाका प्रहरी कार्यालय बिर्तामोडको मातहतमा रहेको इलाका प्रहरी कार्यालय सुरुङ्गाले कन्काई वडा नं १ देखि ७ सम्म हेर्ने गर्दछ । सोही कार्यालयअन्तर्गत अस्थायी प्रहरी पोस्ट दुर्गापुर रहेको छ । इलाका प्रहरी कार्यालय सुरुङ्गामा प्रहरी वरिष्ठ नायव निरीक्षकको कमाण्डमा १६ जना र अस्थायी प्रहरी पोस्ट दुर्गापुरमा ४ जना जनशक्ति रहेका छन् । करिव ५० हजार जनाको शान्ति सुरक्षाको जिम्मेवारी सुरुङ्गा प्रहरीको काँधमा रहेको छ ।

सम्बन्धित खबर