
कनकाई अनलाईन
झापाको बिर्तामोडमा जारी प्रथम अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि कनकाई नगरपालिकाले जितेको छ । सोमवार आज सम्पन्न फाईनल खेलमा कनकाईले अर्जुनधारा नगरपालिकालाई ३—० गोल अन्तरले हराउँदै कनकाई नगरपालिकाले उपाधि जितेको हो ।
उपाधिसगै कनकाई नगरपालिकाले नगद ३ लाख रुपैँया हात पार्दा उपबिजयी भएको अर्जुनधाराले नगद १ लाख ५० हजार रुपैँया प्राप्त गर्नुभयो । बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजनामा बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा सम्पन्न खेलमा कनकाईका लागि सिम्रन राई र पूर्णिमा राईले गोल गर्नुभयो । पहिलो हाफको ७ मिनेटमै कनकाईकी सिम्रन राईले गोल गर्दै कनकाईलाई अग्रता दिलाउनुभयो । बाकी दुई गोल दोस्रो हाफमा भएको थियो ।

खेलको ५३औँ मिनेटमा कनकाईकी पूर्णिमा राईले गोल गर्दै अग्रता दोब्बर बनाउनुभयो । यसैगरी पुन सिम्रन राईले खेलको ६०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल तथा टिमका लागि तेस्रो गोल गर्नुभयो । कनकाईकी पूर्णिमा राई प्लेयर अफ दी म्याच बन्दै नगद ५ हजार पाउन सफल भइन् । यस्तै, कनकाईकी सुशिला चौधरी बेस्ट किपर, कप्तान खुस्मा राई बेस्ट डिफेन्डर र बेस्ट मिडफिल्डर सिम्रन राई हुनुभयो । उहाँहरुले जनही ७÷७ हजार रुपैँया प्राप्त गर्नुभयो ।
यसैगरी, अर्जुनधाराकी जेनिफर रानामगर सर्वोत्कृष्ट खेलाडी बन्दै नगद १५ हजार पाउन सफल हुनुभयो । यससँगै खेलमा सर्वाधिक १० गोल गरेकी जेनिफरले थप ७ हजार र खेलप्रेमीबाट २ हजार ५ सय नगदसहित ट्रफी र एप्पल वाच पनि प्राप्त गर्नुभयो ।
यस्तै, अर्जुनधाराकी कुसुम खतिवडाले बेस्ट फरवार्डको उपाधिसहित नगद ७ हजार प्राप्त गर्नुभयो । ।
विजेता तथा उपविजेता टिमलाई बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाई, अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेव सिंह गोम्देन, कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्र पोख्रेल, बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी, बिर्तामोड नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीलगायतले पुरस्कार र ट्रफि प्रदान गर्नुभयो । गत माघ २६ गतेदेखि डोमालाल राजवंशी राजवंशी रङ्गशालामा आयोजित महिला फुटबल प्रतियोगितामा झापा जिल्लामा १० पालिकाहरुको सहभागिता रहेको थियो ।