कनकाई अनलाईन
झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज अर्जुनधारा र कनकाई नगरपालिकाबीच फाइनल खेल हुँदैछ ।
दुवै टीमले उपाधि जित्ने दावी गरेका छन् । डोमालाल राजवंशी रंगशालामा हिजो आयोजित प्रिम्याच कन्फ्रेन्समा दुबै टिमले उपाधि उचाल्ने दाबी गरेका हुन् ।
कनकाई नगरपालिकाका कोच सन्तबहादुर रायमाझीले आफ्नो टीमले उपाधि जित्ने गरी तयारी गरेको बताए । उनले कनकाई र अर्जुनधाराका दुवै टीमका खेलाडी उत्कृष्ट रहेको बताउँदै जुन टीमले जिते पनि झापाकै जित हुने बताए ।
यता अर्जुनधारा नगरपालिकाका कोच पुष्प मादेनले आफ्नो टीम उत्कृष्ट रहेको तर, कनकाईको टीम पनि कमजोर नभएको बताए । उनले पनि जितहार जे भएपनि प्रतियोगिता हुनु नै ठूलो कुरा भएको बताए । पत्रकार सम्मेलनमा अर्जुनधाराकी टीम क्याप्टेन जेनिफर मगर र कनकाईकी टीम क्याप्टेन खुश्मा राईले फाइनल खेलमा आआफ्ना टीमको तयारीबारे जानकारी दिएका थिए ।
बिर्तामोड नगर खेलकुद विकास समितिको आयोजनामा भइरहेको प्रतियोगिताको बिजेताले तीन लाख र उप–विजेताले नगद एक लाख ५० हजार प्राप्त गर्नेछ । गत माघ २६ देखि प्रतियोगिता संचालन भएको हो ।