
कनकाई अनलाईन
झापाको बिर्तामोडमा जारी प्रथम अन्तर पालिकास्तरीय महिला फुटबल प्रतियोगितामा कनकाई नगरपालिकाको टिम फाइनलमा प्रवेश गरेको छ । जारी प्रतियोगितामा कनकाईले आज मेचीनगरको महिला टिमलाई सडन डेथमा पराजित गर्दै फाईनलको यात्रा तय गरेको हो । इलामको लारुम्बामा जारी अर्को महिलाहरुको फुटबल खेलको फाईनलमा कनकाई नगरपालिका पुगेसगै कनकाईले बिर्तामोडको खेलमा भने दोस्रो रोजाईका खेलाडीहरुलाई मैदानमा उतार्नुपरेको खेलका टिम कोच लिलु गिरीले कनकाई अनलाईनलाई बताउँनुभयो । तर महिला टिमले राम्रो खेले र फाईनलमा प्रवेश पाए अब हाम्रो टिमले फाईनलमा सतप्रतिशत दिएर खेल्ने छ गिरीले भन्नुभयो । आज सम्पन्न पहिलो सेमिफाईनल खेलमा खेल अवधिभर कनकाईले मेचीनगरलाई पुरै दबावमा राखेर एकपक्षिय खेल पस्किएपनि स्कोर गर्न नसक्दा खेल पेलान्तीमा गएको हो । तर पेलान्टी सुटआउट समेत ३—३ को बराबरी भएपछि खेल सडन डेथमा थकेलिएको हो । जसमा कनकाई भाग्यमानी सावित भयो ।

कनकाइका लागि एलेक्स चौधरी, वर्षा मगर, शुशिला चौधरी र छत्रिका चौधरीको प्रहार गोलमा परिणत भएको थियो भने पूर्णिमा राई र सुक्रिया मियाको प्रहार खेर गएको थियो । यसैगरी, मेचीनगरका लागि सेमिहाङमा लिम्बू, रोजिना राई, भावना परियारको प्रहार गोलमा परिणत हुँदा वर्षा ओली, करूणा बुढाथोकी र बबिता कार्कीको प्रहार खेर गएको थियो ।

खेलको प्लेयर अफ दी म्याच कनकाइकी गोल किपर शुशिला चौधरी घोषितहुँदै नगद ५ हजार पाउन सफल भइन् । भोलि (शनिबार) अन्तिम सेमिफाइनल खेल अर्जुनधारा नगरपालिका र भद्रपुर नगरपालिकाबीच हुनेछ ।
फागुन ५ गते हुने फाइनल खेलको विजेताले नगद ३ लाखसहित आकर्षक ट्रफी पाउने छ । यस्तै, उपविजेताले नगद १ लाख ५० हजार प्राप्त गर्नेछ । प्रतियोगिता बिर्तामोड नगर खेलकुद विकास समितिले आयोजना गरेको हो ।
कनकाई नगरपालिका आयोजक बिर्तामोड नगरपालिकालाई हराउँदै क्वाटरफाईनलमा प्रवेश पाएको थियो भने मेचीनगरले भने कमलको चुनौती पार लगाउँदै यस चरणमा प्रवेश पाएको हो ।
आजको प्रमुख अतिथि प्रदेश सरकारका उर्जा तथा सिचाई मन्त्री एकराज कार्की कनकाई नगरपालिका ४ का वडाअध्यक्ष रोषन सुवेदी लगायातले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

