विनोद सापकोटा
झापा । जंगली हात्तीको उपद्रोबाट झापाको शिवसताक्षी नगरपालिकाको उत्तरीक्षेत्र दशकौंदेखि आतंकित छ ।
यसअघि जिल्लाको साविक बाहुण्डाँगी हालको मेचीनगर सबैभन्दा बढी आतंकित थियो । रतुवामाई बृक्षरोपण आयोजनाको जंगललाई आफ्नो बासस्थान बनाएको हात्ती यतिबेला यहाँको रैथाने हात्तीजस्तै बनेको छ । दिनभरि गाउँ बस्ने र साँझ परेपछि गाउँ पस्ने र मानिसको ज्यानलाई निशाना बनाउने गरेको छ ।
साँझ परेपछि जंगलबाट मानव बस्ती पस्ने हात्तीले राति स्थानीयबासीले लगाएको अन्नबालीमा क्षति पु¥याउने गरेका कारण उनीहरु चिन्तित छन् । वर्षभरि पसिना बगाएर उत्पादन गरेको बालीनाली हात्तीले एकै रातमा नष्ट गरेका कारण आर्थिक क्षति त व्यहोर्नु परेकै छ, त्यसमाथि कुन बेला हात्तीले ज्यान लिने हो भन्ने चिन्ताले स्थानीयबासीहरु वर्षौदेखि आतंकित छन् ।
जंगलबाट आहाराको खोजीमा हिडेका हात्तीले हैरानी दिन थालेपछि शिवसताक्षी नगरपालिकाका उत्तरी बस्तीका स्थानीयहरुले बिगत लामो समय सरकारलाई गुहार माग्दै आएका थिए । हात्तीबाट बालीनाली जोगाउन र मानवीय क्षति रोक्न स्थानीयहरुले बिभिन्न जुक्ति निकाल्दै आएपनि हात्तीको आतंक दिनहँु बढ्दै गएको शिवसताक्षी नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष सन्तकुमार फेउदिनले बताए ।
दिनभरि जंगलमा बस्ने र साँझ परेपछि मानव बस्ती पस्ने हात्तीकै पीरले कतिपय स्थानीय बसाईँ सरि जान थालेका छन् । यतिबेला त छोरीको विवाह गर्न पनि शिवसताक्षी नगरको हात्ती लाग्ने ठाउँ हो कि होइन भनेर केटीका बुवा आमाले सोधखोज गर्न थालेको वडा अध्यक्ष फेउदिनले बताए ।
शिवसताक्षी नगरको हात्ती लाग्ने १, ८, ९, १० र ११ का वडाबासीको एउटै चिन्ता छ– हात्तीबाट ज्यान कसरी जोगाउने रु आहाराको खोजीमा दैनिक मानव बस्तीमा पस्ने हात्तीको ठुलो हुलले यतिबेला पाक्न लागेको तोरी माडिदिने, तरकारीका लागि लगाइएको टमाटर, कोभीलगायतका बाली खाने गरेको स्थानीय राजेन्द्र लिङ्देनले बताए ।
साँझ गाउँ पसेको हात्ती किसानले लगाएको अन्नबाली र उनीहरुले निर्माण गरेका स्थायी संरचनाको ठुलो क्षति गरेर फेरि बिहान जंगलमा फर्कन्छ । रातको समयमा जुनैबेला पनि जंगली हात्ती निर्वाधरुपमा बस्तीमा प्रवेश गर्ने गरेको स्थानीयले बताए ।
धरमपुरको कमलखोला, फूलबारी चोक, डुडामारी, बुद्धचोक, झिलझिले, उपवन, दुधे, याङया चोक, यलम्बर, मिलन, संगम चोकलगायतका नाकाबाट हात्ती गाउँ पस्ने गरेको छ । हात्तीबाट हुने क्षति न्यूनीकरणका लागि वडा नम्बर ८ ले एउटा समिति नै गठन गरेर रात्री गस्ती सुरु गर्यो । उक्त गस्तीमा रहेका टोलीले हात्ती गाउँ पसेको सूचना दिने र स्थानीय गाउँलेलाई ज्यान जोगाउन ‘हाई अलर्ट’ मा रहन जानकारी दिने काम गरिरहेको छ । यसैका कारण पनि पछिल्ला दिनमा हातीको आक्रमणबाट मानवीय क्षति भने भएको छैन ।
यतिबेला जंगलबाट बस्ती भित्रिने रैथाने हात्तीले रात परेपछि गाउँ पसेर घरहरु भत्काउने र भण्डारण गरिएको अन्न खाएर नष्ट गरिरहेको छ् । बुधबार वडा नम्बर ८ मा ६ वटा घर हात्तीले भत्काएर भण्डारण गरेका अन्न खाएको छ । किसानहरुकोे पाक्ने बेलाको अन्नपात खाने, कुल्चने र माड्ने हात्तीको सबैभन्दा ठुलो उपद्रो हो ।
बालीनाली सत्यनास बनाएसंगै पछिल्लो समय बस्तीमा जंगली हात्तीले भौतिक क्षति पु¥याउन थालेको छ । हात्ती आएको थाहा पाएपछि गाउँलेले कराउने, चिच्याउने, भाडा वर्तन ठट्टाउने, हात्तीलाई गुलेली, तीर, ढुँगा, मुढा प्रहार गर्ने घटना दिनहुँ बढ्दो छ । स्थानीय जंगबहादुर लिम्बू भन्छन्,‘ हातीलाई मान्छेले अनावश्यक चलाएका कारण उसले पनि मानिस चलाउन थाल्यो ।’
शिवसताक्षी नगरमा विगत एक वर्षमा कम्तिमा १ सय स्थानीयका घर हात्तीले भत्काएको नगरपालिकाको सूचना शाखाले जनाएको छ । नगरका सहायक सूचना अधिकारी डिल्ली नेपालका अनुसार चालु आर्थिक वर्षको यो अवधिमा १० वटा घर हात्तीले भत्काएर आर्थिक सहयोगको निवेदन नगरमा दर्ता भएको छ । कतिपय पीडितले निवेदन नगर्ने गरेको पनि उनले बताए ।
उनले भने,‘ हात्तीले ज्यान तलमाथि पारे नगरपालिकाले २५ हजार रुपैयाँ दिने निर्णय गरेको छ । तर, यो आ।व।मा यो रकम भुक्तानी भएको छैन । यसको अर्थ हात्तीले मानवीय क्षति पुर्याएको छैन ।’ भौतिक क्षतिका लागि घटना र क्षतिको विवरण हेरेर पालिकाले आर्थिक सहायता दिने गरेको उनले बताए ।
शिवसताक्षीबासीले सरकारलाई हात्तीको समस्या हल गरिदिन पटक पटक माग राख्दै आए । तर, अझै पनि त्यस क्षेत्रका बासिन्दा रातभर त्रासमा बस्न बाध्य छन् । हात्तीको आतंकबाट हैरानी व्यहोरिरहेका शिवसताक्षी नगरपालिकाका हात्ती प्रभावित क्षेत्रका टोलबासीले पटक–पटक गरेको अनुरोधलाई सरकारले गम्भीरतापूर्वक नलिएको वडा अध्यक्ष फेउदिनले आरोप लगाए ।
नेपाल सरकारले हात्तीको क्षति न्यूनीकरणका लागि बस्तीमा थामथुमे काम समेत गरेको छैन । स्थानीय हात्ती पीडित भन्छन्, ‘हात्तीको क्षति पछिको राहत वा सहयोग होइन । हात्ती आतंकको स्थायी समाधान गरियोस् ।’ जंगलमा हात्तीको आहाराका लागि वृक्षरोपण गर्न पीडितले सरकारसंग माग गरेका छन् । हात्तीलाई चाहिने अर्थात उसको आहाराका बोट बिरुवा रोपेर जंगलमै हात्तीलाई अल्मल्याउन सकिने विकल्प पनि स्थानीयले सरकारलाई देखाएका छन् । तर तीन तहकै सरकारले पीडितको मागप्रति ध्यान नदिएको पीडितको आरोप छ ।
हात्तीको आक्रमणबाट झापामा एक वर्षमा ७ जनाले ज्यान गुमाएका छन् । शिवसताक्षी, हल्दिबारी, कमल, दमक, भद्रपुर, कचनकवलमा हात्तीले मानिसको ज्यान लिएको हो । यो संख्या डिभिजन वन कार्यालय भद्रपुरले दिएको हो ।
तीन पटक प्रधानमन्त्री भएका केपी ओली, उपप्रधान तथा गृहमन्त्री भएका कृष्णप्रसाद सिटौला, उपप्रधान तथा ऊर्जा मन्त्री भएका राजेन्द्र लिङ्देन र सभामुख देवराज घिमिरेको जिल्ला झापा हो । तर हात्तीको क्षति न्यूनीकरणका लागि जिल्लामा दीर्घकालीन कार्यक्रम नल्याएको पीडितले आक्रोश छ । पीडित भन्छन्, सरकार के अब हामी हात्तीकै आक्रमणबाट मर्नुपर्ने हो र ?