कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका सुरुङ्गामा आयोजित कनकाई कप भलिबल प्रतियोगिताको उपाधि बेलवारी नगरपालिकाले जितेको छ ।
मंगलवार सम्पन्न फाईनल खेलमा भारतको पाहुना टोली टिभिए सिक्किमलाई हराउँदै बेलवारीले उपाधि सहित नगद १ लाख ११ हजार १११ रुपैँया प्राप्त गरेको छ ।
उपबिजयी बनेको पाहुना टोली सिक्किमले भने नगद ६१ हजार १११ मा चित्त बुझायो । प्रतिस्पर्धात्मक बनेको फाईनल खेलमा पहिलो २÷२ सेट दुबै टिमले जितेपछि खेल बेस्ट अफ ५ मा धकेलिएको थियो । पाहुना टोली सिक्किमले पहिलो सेट २५–२० र तेस्रो सेट २५–२२ ले जितेको थियो भने दोस्रो र चौथो सेट बेलवारीले २५–२० र २५–१५ ले आफ्नो पक्षमा पारेको थियो ।
अन्तिम सेट पनि बेलवारीले १५–१३ ले जितेको हो ।
सुरुङ्गा जेसिजको आयोजनामा ३ दिनसम्म स्थानीय कनकाई माविको खेल मैदानमा आयोजित प्रतियोगिताको बिजयी तथा उपबिजयी हुने टिमलाई झापा क्षेत्र नम्बर ४ का सांसद एलपीसाँबा लिम्बु, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले नगद र ट्रफि प्रदान गर्नुभयो । प्रतियोगितामा बिधागत पुरस्कारतर्फ बेष्ट डिफेन्सर टिभिएका अनुप राई, बेष्ट स्पाकर बेलबारीका दिेपेश क्षेत्री, बेष्ट ब्लकर बेलबारीका ऋषि घिमिरे, बेष्ट सर्वर टिभिएका पर्शुराम शर्मा र बेष्ट सेटर बेलवारीकै रिदेन बिष्टलाई नगद ५ हजार १ सय सहित पुरस्कृत गरिएको थियो । यसैविच सर्वोकृष्ट खेलाडी बेलवारीकै प्रकाश राउतलाई ३२ इन्चको टिभी प्रदान गरिएको थियो ।
सोही कार्यक्रमकाबिच झापाका पाँच जना पूर्व राष्ट्रिय भलिवल खेलाडीहरु दिपेश पाठक, सुरेन्द्र खतिवडा, गजेन्द्र ताम्लिङ, श्रीकृष्ण खड्का र संजय अधिकारीलाई सम्मान गरिएको थियो ।