Kanakai Online

बिर्तामोडमा अन्तराष्ट्रिय व्यापार महोत्सव सुरु


मङ्गलवार, माघ ८, २०८१ |

कनकाई अनलाईन
झापाको बिर्तामोडमा अन्तराष्ट्रिय औद्योगिक व्यापार महोत्सव मंगलवारबाट शुरु भएको छ ।
नेपाल र छिमेकी मुलुकहरु भारत, वंगलादेश, पाकिस्तान सहितका बस्तु र सेवाहरुको अवलोकन र बिक्री बितरणका लागि महोत्सव आयोजना गरिएको बिर्तामोड उद्योग वाणिज्य संघले जनाएको छ ।
महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नुभयो । महोत्सव उदघाटन गर्नुहुदै मुख्यमन्त्री कार्कीले प्रदेशको आर्थिक समृद्धिका लागि उद्योग र पर्यापर्यटनमा जोड दिनुपर्ने बताउनुभयो ।
कोशी प्रदेश सरकारको नीति र योजनापनि औद्योगिक र पर्यटन क्षेत्रको प्रर्वद्धन गर्नमा केन्द्रित रहेको भन्दै एशियन राजमार्गको निर्माणपछि नेपालको पर्यटन क्षेत्रले थप गति लिने विश्वास व्यक्त गर्नुभयो । कोशी प्रदेशको व्यापार प्रर्वद्धन र उद्यमशीलताका लागि प्रदेश सरकार सदैव साथमा रहेको कार्कीको भनाई थियो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले स्थानीय उद्यमीको विकासका लागि समेत प्र्रदेशमा लगानी सम्मेलन र चिया सम्मेलनको तयारी थालिसकिएको समेत बताउँनुभयो ।
कार्यक्रममा बोल्दै प्रदेश सरकाका खानेपानी सिँचाई तथा उर्जा मन्त्री एकराज कार्कीले महोत्सवले सुस्ताएको बजारलाई चलायमान बनाउन मद्धत पुग्ने बताउँनुभयो ।
महोत्सव उद्घाटनमा बोल्दै नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा सार्क चेम्वर एण्ड कमर्सका उपाध्यक्ष चण्डिराज ढकालले व्यवसाय प्रर्वद्धनका लागि सरकारका तीन वटै तह जिम्वेवार हुनु पर्ने बताउनुभयो । महोत्सव उद्घाटन सत्रमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा प्रसाई,नेपाल उद्योग वाणिज्य महासंघका कोशी प्रदेश अध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य उमेश डालमिया, दमक उद्योगा वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाई लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
माघ १९ गतेसम्म सञ्चालन हुने महोत्सवमा १७० वटा व्यवसायीक स्टल रहेका छन् । खेल सामग्री, फुडकोड,सेल्फीजोन समेत रहेको महोत्सव अवधिभर नेपालका प्रशिद्ध कलाकारहरुको साङ्गीतिक प्रस्तुति रहने बताइएको छ ।

सम्बन्धित खबर