Kanakai Online

कनकाईमा क्रिकेट मैदान बनाउन क्यान टोली सुरुङ्गामा


आइतवार, माघ ६, २०८१ |

जनक न्यौपाने

झापाको कनकाई नगरपालिका ४ कनकाई बहुमुखी क्याम्पसको पछाडिको खाली खेल मैदानमा क्रिकेट स्टेडियम बनाउनका लागि क्यानको टोलीले यस क्षेत्रको स्थलगत अनुगमन थालेको छ ।
कनकाई माविको मैदान र इलुवारी क्षेत्रमा रहेको खाली मैदानमा हालै नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह रोयल र सम्पूर्ण सदस्यहरूको विशेष भ्रमण सम्पन्न भएको कनकाई नगरपालिका ४ का वडाअध्यक्ष रोषन सुवेदीले कनकाई अनलाईनलाई जानकारी दिनुभयो । यस भ्रमणले स्थानीय युवा खेलाडीहरूमा खेलप्रतिको समर्पण र ऊर्जा थप्न महत्वपूर्ण भूमिका खेलेको सुवेदीले बताउँनुभयो ।

यस अवसरमा, क्रिकेट संघ नेपालका सदस्यहरूसँगको भेटघाटले खेलाडीहरूको क्षमता र उत्साहलाई नयाँ उचाइमा पु¥याएको वडाध्यक्ष सुवेदीको भनाई छ । यस क्षेत्रमा खेल मैदान बन्न सके क्रिकेट खेलको मात्रै विकास नभएर यस क्षेत्रको समेत विकास हुन नेपाली कांग्रेसका युवा नेता तथा तरुण दलका केन्द्रिय सदस्य राजेन्द्र उप्रेतीले बताउँनुभयो । क्यानको टोलीले कनकाईको यस खेल मैदान र शिवसताक्षी नगरपालिका ११ झिलझिलेमा रहेको खाली जमिन मध्ये एक स्थानमा क्रिकेट एकाडेमी र स्टेडियम बन्ने लगभग पक्का भएको कांग्रेसका युवा नेता उप्रेतीले बताउँनुभयो । सुरुङ्गाको खेल मैदान पानी पर्नसाथ चाडै सुक्ने र पार्किङ्गका लागि समेत चौबाटो र पर्याप्त अन्य अधिकरण गर्न सक्ने कनकाई सामुदायिक वन क्षेत्रको जमिन समेत रहेकोले क्यानले सुरुङ्गाको जमिन बढी मनपराएको अनुगमनमा आवद्ध सदस्यले बताएका छन । कोशी प्रदेशमा एउटा समेत क्रिकेट स्टेडियम नहुनु र प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, उपसभामुख इन्दिरा रानामगर, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहाल, प्रदेशका मुख्य मन्त्री हिक्मत कार्की सबै झापामै खेल मैदान बनोस भन्ने चाहना रहेकोले समेत यस क्षेत्रमा क्रिकेट स्टेडियम बन्ने लगभग पक्का जस्तै भएको बताइएको छ । पछिल्लो समय ज्यादै लोकप्रिय बनेको क्रिकेट खेलको स्टेडियम बनेमा समग्र खेल क्षेत्रकै विकास हुन जाने खेलप्रेमीको विश्वास रहेको छ ।