Kanakai Online

बिर्तामोडको स्वरोजगार भवानी सहकारीको किर्ते काण्ड


बुधवार, माघ २, २०८१ |

कनकाई अनलाईन
बिर्तामोड । बिर्तामोडमा मुख्य कार्यालय रहेको स्वरोजगार बचत तथा ऋण सहकारी संस्थाले दादागिरी शैलीमा डुबेको रकम उठाउने भन्दै किर्ते तमसुक बनाउने गरेको खुलेको छ ।

सो सहकारीको साधारणसभामा प्रदेश सांसदसमेत रहेकी कमला थापा मगरले आपत्ती जनाएपछि धेरै व्यक्तिहरुसँग सञ्चालक समितिले किर्ते तमसुक बनाएर रकम असुली गर्ने गरेको रहस्य खुलेको हो ।

सांसद थापा मगर सो सहकारीकी पूर्व उपाध्यक्षसमेत हुन् । उनका छोरा अशेष थापा मगरले शनिश्चरे शाखाका सहायक प्रमुखको हैसियतले ६७ लाख ८० हजार बढी रकम अपचलन गरेको भन्दै तमसुक गराएर असुली गरिरहेको पीडितले बताएका छन् ।

मगरले अपचलन गरेको भनिएकोमध्ये ६७ लाख ८० हजार रुपैयाँ वास्तबिक रुपमा अपचलन भएको भन्दै सञ्चालक समितिले तमसुक गरायो । ‘म भर्खरै सांसद भएको थिए, सांसद पद पनि जान सक्ला, मेरो छोराले रकम अपचलन गरेकै होला भनेर बिर्तामोड–६ को १८ दशमलब १० धुर जमिन ३७ लाख रुपैंयाँ मुल्य राखेर पास गरिदिए, थापा मगरले भनिन्–‘बाकी रकम मैले मासिक किस्ता गरेर तिर्न थालेको थिए, १२ लाख रुपैयाँ किस्ता रकम जम्मा गरेपछि अरुलाई समेत किर्ते तमसुक गराएर रकम असुल गरेको थाहा पाएपछि किस्ता तिर्न छोडेको हो ।’

थापालाई तपाईको छोराले अपचलन गरेको पुष्टी नभए जमिन फिर्ता गरिदिने शर्तमा जमिन पास गराएको उनले बताईन् । हाल सो जमिन धितोमा राखेर सहकारीकै पदाधिकारीले ऋण लिएको बुझिएको छ ।

सहकारीका अध्यक्ष केशब बस्नेत, सचिव मनोज भट्टराई लगायतका सञ्चालक समितिका पदाधिकारीको मिलेमतोमा कर्मचारीलाई दवाव दिएर तमसुक गर्दै रकम असुल गर्ने गरेको आरोप उनले लगाइन् । प्रदेश सहकारी रजिष्ट्रार कार्यालयले जमिन सहकारीको नाममा राख्न नमिल्ने हुँदा व्यक्तिको नाममा पास गराइएको संस्थाका अध्यक्ष केशब बस्नेतले जानकारी दिएका छन् ।

अध्यक्ष बस्नेतले शाखाको कारोबारका लागि खाली चेकमा सही गरेर चेक दिने गरेको बताएका छन् । त्यसकारण थापाको नाममा रकम अपचलन गरेको नदेखिएको उनले बताए । रकम अपलचन गरेको नदेखिएपनि शाखाको मुख्य जिम्मा लिएको व्यक्ति भएको हुनाले सबै रकमको जिम्मा थापा मगरले लिनुपर्ने उनको भनाई छ ।

यसैबिच सोमबार बिर्तामोडमा सहकारीले १७ औं साधारण सभा आयोजना गरेको थियो । सो साधारण सभामा आफ्ना कुरा राख्न जाँदा लछार पछार पारेर खेदाइएको थापाले बताइन् । उनले सहकारीको सबै सदस्यले नीति निर्माणमा भाग लिने माध्यम साधारणसभा भएको भन्दै आफुलाई बोल्न बञ्चित गरेर ठगी कर्मलाई सञ्चालकले निरन्तरता दिन सफल भएको उनको भनाई छ ।

स्वरोजगार भवानी सहकारीको कर्मचारीमाथी तमशुक गराएर रकम असुल गरिएकोे यो नै पहिलो घटना भने होइन । सहकारीमा काम गरिरहेको बिर्तामोडका आषिश दंगाललाई पनि १६ लाख ५० हजार रुपैंयाँ अपचलन गरेको भन्दै केही समय अघि जबरजस्ती तमसुक गराइयो । रातको समयमा दंगाललाई एक्लै पारेर दवावमा तमसुक गराइएको उनले बताए ।

सो रकम अपचलन गरेको पुष्टी नभएपछि जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, बिर्तामोड नगरपालिका–३ का अध्यक्ष मदन बुढाथोकी, ५ का अध्यक्ष रोहित प्रसाईँ लगायतको उपस्थितिमा सहकारीका सञ्चालकले गल्ती भएको भन्दै तमसुक च्यातेका थिए । पछि ८० हजार रुपैंयाँ हिसाब मिलान गरी दंगालको कारोबार मिलान गरिएको थियो ।

सहकारीकै इलामका अर्का कर्मचारीलाई पनि यसरी नै तमसुक गराएर रकम असुली गर्ने प्रयास गरिएको अध्यक्ष स्वयंमले बताएका छन् । उनले सहकारीका रकम संकलकले बेइमानी गर्ने गरेका कारण रकम अपचलन हुने गरेको बताएका छन् ।