कनकाई अनलाईन
नेपाली कांग्रेस कोशी प्रदेशको आयोजनामा मुख्य ४ एजेण्डासहित कचनकबल–सगरमाथा जागरण अभियान बुधवारबाट नेपालकै होचो भूभाग केचनास्तम्भबाट शुरु भएको छ ।
सात महिमा सम्पन्न गर्ने अभियानको देशकै होचो भुभाग केचनास्तम्भ परिसरमा शान्तिको प्रतीक परेवा र १४ जिल्लाको नाम अंकित बेलुन उडाएर कांग्रस नेता कृष्णप्रसाद सिटौला र महामन्त्री विश्वप्रकाश शर्माले अभियानको प्रारम्भ गर्नुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि एवं पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले अभियानले विचार, संगठन र कार्यगत एकताको सन्देश दिएको बताउनुभयो ।
विकासका दृष्टिकोणले झापाको दक्षिणी क्षेत्र पछाडि परेको बताउँदै नेता सिटौलाले १० बर्षअघि बहुबर्षे योजनामा परेको कचनकबल रिङरोड र जमूना खोलाको पूल अझै नबनेको बताउँदै त्यसका लागि बजेट विनियोजन गरेर निर्माण सम्पन्न गर्न आग्रह गर्नुभयो । जनताको आर्थिक समृद्धि र जीवनस्तर सुधारका लागि अब राजनीतिक दलबाटै क्रान्ति शुरु गर्नुपर्ने बताउँदै देशको भौगोलिक, जातीय, सांस्कृतिक विविधता र सबै जातजातिको संरक्षणबाट मात्रै राष्ट्रिय स्वाधिनताको संरक्षण हुने र त्यो कांग्रेस पार्टीकै नेतृत्वबाट सम्भव हुने नेता सिटौलाको भनाई थियो ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ०८४ को निर्वाचन अघि नै संविधान संसोधनको विकल्प नरहेको बताउँदै राजनीतिक स्थायित्वका लागि सबै दललाई विश्वासमा लिएर संविधान संसोधन गर्नुपर्नेमा जोड दिनुभयो ।
महामन्त्री शर्माले राणा शासनपछि कुनै पनि प्रधानमन्त्री ५ बर्ष टिकेका छैनन’–उहाँले भन्नुभयो–‘प्रत्यक्षमा प्राप्त सिटसंख्या र समानुपातिकमा प्राप्त मतका आधारमा पहिलो दलले सरकार चलाउने ब्यवस्था संविधानतः सुरक्षित गर्नुपर्ने बताउँनुभयो । उहाँले
समानुपातिक कोटामा विषयविज्ञलाई लैजानुपर्ने बताउँनुहुदै शर्माले २०४६ सालपछि बाटो, विजुली, सूचना प्रविधि, शिक्षा, स्वास्थ्यका क्षेत्रमा भएको विकास र समृद्धिलाई जनतासमक्ष पु¥याएर गर्न बाँकी काम पनि हाम्रै पालामा सम्भव छ भन्ने सन्देशसहित जनतामा आशा र विश्वास जगाउनुपर्ने वेला आएको बताउँनुभयो ।
पार्टीका सहमहामन्त्री भिष्मराज आङदेम्बेले सबै भ्रष्टाचार काण्डका फायल खोल्न ढिलाई गर्नुनहुने बताउँदै अख्तियारले भ्रष्टाचार मुद्धाका फायल खोल्न नसके उच्चस्तरीय संसदीय समिति बनाएर छानविन गरी दोषीमाथि कारबाही गर्नुपर्ने बताउँनुभयो । नेपाली कांग्रेस कोशी प्रदेशका सभापति उद्वव थापाले संगठन सुदृढीकरणमार्फत पार्टीभित्रको गुट–उपगुट अन्त्य गरी समग्र एकता कायम गर्ने, प्रजातन्त्र प्राप्तिका लागि पार्टीका अग्रज नेतृत्वहरुले गरेको इतिहासको खोजी र अभिलेखीकरण गर्ने, जनताको आर्थिक समृद्धि र विकासका आधारको अध्ययन र जलबायु परिवर्तनका पहिचान मुख्य चार एजेण्डा लिएर अभियान प्रारम्भ गरिएको बताउँनुभयो ।
कार्यक्रममा बन तथा वातावरण मन्त्री ऐनबहादुर शाही, पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टीका केन्द्रीय सदस्यहरु डा. डिला संग्रौला, लक्ष्मी परियार, हसन अन्सारी, कोशी प्रदेशका १४ जिल्लाका सभापतिहरु, नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका सचेतक गोपाल तामाङ, कोशी प्रदेश उपसभापति रमेशजंग रायमाझी, झापा क्षेत्र नंम्बर ३ का सभापति गणेश पोखरेल, कचनकबल गाउँपालिकाका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीलगायतले लगायातले अभियानले कांग्रेस र देश दुबैलाई फाईला पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा पञ्चेबाजा, साकेला, च्याब्रुङ, लाखेनाच, तामाङसेलो, गुरुङ, मुस्लिम, राजवंशी, गन्दर्भ, राजवंशी, सन्थाल, थारु लगायतका जातजातिको संस्कृति झल्कने झाँकी प्रस्तुत गरिएको थियो ।